समाज

‘गृहिणीमा सीमित नबस्नुस्, उद्यमशीलतामा अघि बढ्नुस्’

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह। तस्बिर: नागरिक

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेसको समग्र विकासका लागि महिलाहरूको उद्यमशीलता अपरिहार्य रहेको बताएका छन्।

महिला उद्यमी महासंघले बिहीबार धनुषाको लालगढमा आयोजना गरेको प्रदेशस्तरीय परामर्श कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले महिलाहरूलाई उद्यममा सहभागी गराउन प्रदेश सरकार नीतिगत र आर्थिक दुवै सहयोगका लागि तत्पर रहेको बताएका हुन्।

‘मधेसका महिलाहरू गृहिणी मात्र बन्ने होइन, आत्मनिर्भर बन्न जरुरी छ। महिला उद्यमी महासंघसँगको सहकार्यमा उद्यम गर्न चाहने महिलाहरूलाई आवश्यक सहयोग गर्ने प्रदेश सरकार प्रतिबद्धता छ।’ उनले भने।

उनले घरेलु, साना तथा मझौला उद्योगहरूले देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको र ती उद्योगहरूको दिगोपनाका लागि प्रदेश सरकारले नीतिगत सुधारमा सहकार्य गरिरहेको पनि जानकारी दिए। ‘सिप सिकेर उद्यममा लगानी गर्नुहोस्, सरकार सधैँ तपाईंहरूसँग छ,’ उनले थपे।

महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवालीले महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन उद्यमशीलता आवश्यक रहेको बताइन्। उनले भनिन्, महिलाहरूले साना, घरेलु र मझौला उद्योगमा सहज र सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्छ। नीति र नियम महिलामैत्री हुनुपर्छ।’

उनले भारतमा महात्मा गान्धीले स्वदेशी उत्पादनलाई प्राथमिकता दिएर उदाहरण प्रस्तुत गरेझैँ नेपालमा पनि स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याइन्। स्वदेशी उत्पादनले मात्र देशको आर्थिक अवस्था बलियो बनाउन सकिन्छ,’ उनले भनिन्।

महासंघले विगत २१ वर्षदेखि महिला सशक्तीकरणका लागि काम गर्दै आएको जानकारी दिँदै ज्ञवालीले महासंघसँग ५ हजार ५ सय सदस्य र अप्रत्यक्ष रूपमा एक लाखभन्दा बढी महिलाहरू जोडिएका सुनाइन्। ‘महिला सशक्तीकरणका लागि उद्यमशीलता, स्वदेशी उत्पादन र शिक्षा आधारशिला हुन्,’ उनले भनिन्।

कार्यक्रममा मधेस प्रदेशसभा सदस्य शारदा थापा, जनकपुरधाम उपमहानगरका मेयर मनोज कुमार साह, र उद्योग सचिव सुशिल कुमार साहले महिला उद्यमशीलताका नीतिहरूलाई सुधार गर्न आवश्यक रहेको धारणा राखे। उनीहरूले उद्यमशीलता प्रवर्द्धन गर्न सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए।

कार्यशालामा सहभागीहरूले महिलाको समस्या पहिचान गरी तीनै तहका सरकारहरूले महिला उद्यमीमैत्री नीति निर्माण गर्नुपर्ने सुझाव दिए।

महासंघले मधेस प्रदेशमा आयोजित कार्यशालाबाट संकलित सुझावलाई सम्बन्धित निकायमा पुर्‍याउने र आगामी दिनमा महिला उद्यमीलाई थप आत्मनिर्भर बनाउने योजना बनाएको छ।

कार्यक्रममा महिला उद्यमीका समस्या समाधान, नीति निर्माण, र महिलाको आर्थिक सशक्तीकरणमा जोड दिइएको थियो।

महिला उद्यमशीलता प्रवर्द्धनका लागि यूएसएआईडी ट्रेड एन्ड कम्पिटिटिभनेस (टिएसी) र महिला उद्यमी महासंघको संयोजकत्वमा प्रदेशस्तरीय परामर्श कार्यशाला सम्पन्न भएको हो।

यसअघि महासङ्घले सङ्घीय सरकारसँग पनि छलफल गरिसकेको छ। यसैगरी, बागमती प्रदेशको हेटौँडा, नुवाकोट, भक्तपुर, चितवनलगायतका स्थानहरूमा उद्यमी महिलाहरूसँग छलफल सम्पन्न भइसेकेको छ।

त्यसैगरी, कर्णाली प्रदेशका अधिकांश जिल्लामा पनि कार्यक्रम सम्पन्न भइसकेका छन्। यसै क्रममा मधेस प्रदेशका बारा, रौतहट, सप्तरीलगायतका जिल्लाका उद्यमी महिलाहरूसँग कार्यक्रम सञ्चालन भइरहेको हो।

कार्यशालाको मुख्य उद्देश्य तीनै तहका सरकारहरूले महिलाहरूका लागि ल्याएका नीति नियमहरूको समीक्षा गर्दै उनीहरूको आवश्यकता पहिचान गरी प्राप्त सुझाव र दस्ताबेजलाई अघि सार्ने रहेको महासंघले जनाएको छ।

महासङ्घले घरेलु, साना तथा मझौला उद्योगहरूलाई प्रवर्द्धन गर्न बजेट र नीतिसँग सम्बन्धित विषयहरू पहिचान गर्दै सातै प्रदेशमा यस्ता कार्यक्रमहरू विस्तार गरिरहेको छ।

प्रकाशित: २० मंसिर २०८१ २०:२७ बिहीबार