समाज

नगरकोटलाई ‘रि-ब्रान्डिङ’ गरिंदै

फाइल तस्वीर

बिहानको सूर्याेदय हेर्न पर्यटक भक्तपुरको नगरकोट पुग्छन्। यहाँबाट सूर्याेदयको दृष्य पनि मनमोहक र रमणीय देखिन्छ। यसका लागि प्रख्यात छ नगरकोट। सूर्याेदय र सूर्यास्त हेर्न नाम कमाएको भक्तपुरको नगरकोट अब त्यस्तो रहेन।

अहिले नगरकोटबाट न सूर्याेदय राम्रोसँग देखिन्छ न त सूर्यास्त नै। यही कारण नगरकोटलाई रि–ब्रान्डिङमा (पुनः अर्काे नामले परिचित गराउने) योजनामा रहेको बताउँछन् चाँगुनारायण नगरपालिका वडा नम्बर ६ नगरकोटका वडाध्यक्ष धनबहादुर लामा।

वडाध्यक्ष लामाका अनुसार विविध कारणले अहिले नगरकोटबाट न सूर्याेदय देखिन्छ न सूर्यास्त नै। धुवाँधुलोका कारण वातावरण प्रदूषण, जलवायु परिवर्तनलगायत कारण अहिले नगरकोटबाट सूर्योदय र सूर्यास्त देखिन्छ भन्ने चिनारी इतिहास जस्तै भएको वडाध्यक्ष लामा सुनाउँछन्।

यही कारण यसलाई अरूअरू नामहरूबाट चिनाउने र पर्यटक आगमनलाई निरन्तरता दिन लगाइरहने योजना थालेको वडाध्यक्ष लामाले सुनाए। अहिलेलाई हामीले नगरकोटका अरू ६ पर्यटकीय गन्तव्यलाई चिनाई नगरकोटलाई अर्काे नाम राखी रि–ब्रान्डिङ’ गराउने योजना सुरु गरेको उनले जनाए। उनका अनुसार नगरकोटको महादेव कुण्ड, महामञ्जुश्रीलगायत ठाउँको नयाँ परिचयबाट नगरकोटलाई चिनाउने योजना रहेको छ।

महादेव कुण्ड नगरकोटको एउटा विशेष पोखरी हो। यहाँ प्रत्येक वर्ष रक्षा बन्धनको दिनमा ठूलो मेला लाग्ने गर्दछ। यहाँ काठमाडौं, भक्तपुर, साँखु र बनेपादेखिका भक्तजनहरूको भीड लाग्ने गर्दछ। यो नगरकोट र काभ्रेको टुकुचा गाविसको दोसाधमा रहेको छ। महामञ्जुश्रीस्थान चाँगुनारायण नगरपालिकाकै एउटा प्रख्यात ठाउँ हो।

 यसअघि स्थानीय निकायको पुनर्संरचना गरी जिल्लाको उत्तरी यो क्षेत्रका तत्कालीन गाउँ विकास समिति मिलाएर नगरपालिका घोषणा गर्ने बेला यो क्षेत्रलाई चाँगुनारायण र महामञ्जुश्री गरी दुई नगरपालिका बनाउने गरी नामकरण गरिएको थियो। तर पछि यी दुवैलाई नगरपालिका बनाउने योजना रद्द गरी दुवै मिलाएर एउटै मात्रै नगरपालिका (चाँगुनारायण नगरपालिका हालको नाम) राखिएको थियो।

चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री अहिले पनि पर्यटकहरूलाई नगरकोटबाट सूर्याेदय र सूर्यास्त हेर्न आउन भनेर झुक्याउन दिने पक्षमा नगरपालिका नरहेको बताउँछन्। ‘पर्यटकहरूलाई झुक्याएर लानुभन्दा नलानु नै ठिक लागेर अहिले हामी नगरकोटलाई अर्काे नामबाट चिनाउने योजनामा रहेका हौं,’ उनले भने।

२०७२ सालको महाभूकम्प, कोभिडपछि नेपालमा विदेशी पर्यटक आउने क्रम घटेको र त्यसको प्रत्यक्ष असर मात्रै होइन, नगरकोटबाट सूर्याेदय र सूर्यास्त नदेखिने गरेको पर्यटकहरूले जानकारी पाएपछि नगरकोट आउने पर्यटकहरूको संख्यामा कमी आएको उनले सुनाए। यही कारण नगरकोट आउने विदेशी पर्यटकहरूसँग यसअघि नगरपालिकाले लिएको प्रवेश शुल्क अहिले रद्द गरेको उनले जनाए।

नगरकोटलाई पुनः अर्काे नामबाट परिचित गराई विदेशी पर्यटकहरूको ओइरो नगरकोटमा लाग्न थालेपछि मात्रै पुनः शुल्क लिने योजना अघि सार्ने योजना नगरपालिकाको रहेको उनले सुनाए।

तथ्यांक अनुसार नेपाल आउने सालाखाला २५ प्रतिशत पर्यटक भक्तपुर नगरको भ्रमणमा आउने गर्दछन्। भक्तपुर नगर आउने पर्यटकहरूमा पनि १० प्रतिशत पनि पर्यटक नगरकोट नआउने गरेको तथ्यांक छ।

सूर्यादय सूर्यास्तसँगै नगरकोटमा महांकाल मन्दिर प्रख्यात छ। यो मन्दिर तान्त्रिक साधकहरूको लागि महŒवपूर्ण रहेको मानिन्छ। काठमाडौंको महांकाल मन्दिर यिनै देवलाई स्थानान्तरण गरी निर्माण गरिएको जनविश्वास छ।

यो मन्दिर नगरकोट र काभ्रेको बालुवापाटी देउपुर गाविसको दोसाधमा रहेको छ भने काठमाडौंको सुनटोल गाविसको सीमा यहाँबाट ५ मिनेटको दुरीमा रहेको छ। यसबाहेक नगरकोटमा कालीदेवी मन्दिर छ। यो मन्दिरलाई ग्रामदेवीको रूपमा मानिँदै आएको छ। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाको दिन यहाँ मेला लाग्ने गर्दछ। यसै मन्दिरमा नगरकोट हत्याकाण्ड घटेको थियो। यसबाहेक यहाँं जालपादेवी मन्दिर पनि छ।

नगरकोटको तेलकोटमा अवस्थित जालपादेवी मन्दिर एक महत्त्वपूर्ण ठाउँ हो। गीता मन्दिर पनि यहाँंको प्रख्यात ठाउँ हो। यो मन्दिर नगरकोटको फेदी–१ नयाँबस्ती गीतानगरमा अवस्थित छ।

यो ठाउँ चाँगुनारायण नगरपालिकाको नगरकोट, छालिङ र वागेश्वरीको बिचमा पर्दछ। यहाँ गीतामाता, सप्तऋषि, नागराज, बुढानिलकण्ठ, गणेश, कुमार तथा शिवको मन्दिर रहेको छ। यहाँ विशेष गरी हरितालिका तिज, दसैं, तिहारजस्ता पर्वहरूमा मेला लाग्ने गर्दछ। यो मन्दिर भक्तपुर सहरबाट ५ किलोमिटरको दुरीमा अवस्थित छ।

नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य हेर्न सकिन्थ्यो। यहाँबाट देखिने अन्य हिमाल चुचुराहरूमा धौलागिरी हिमशृंखलादेखि कञ्चनजङ्घा हिमशृंखलासम्मको मनास्लु, गणेश, लाङटाङ, गौरीशंकर, चोयु, ल्होत्से, मकालु हिमाल इत्यादि रहका थिए। नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृश्यावलोकनका लागि पनि प्रसिद्ध छ।

नगरकोट नेपालको एक प्रसिद्ध पर्यटकीय स्थल हो। विदेशीसहित नगरकोट हेर्न धेरै स्वदेशी पर्यटक पनि आउने गर्दछन्। विशेष गरेर काठमाडौं उपत्यकावासी आफ्नो व्यस्त तथा कोलाहलपूर्ण जीवनलाई थाती राख्दै केही समय प्रकृतिसँग भलाकुसारी गर्न नगरकोट आउने गर्दछन्।

नगरकोट काठमाडौं उपत्यकाको एक रमणीय स्थल हो। यो स्थान राजधानी काठमाडौंबाट ३२ किलोमिटर उत्तर–पूर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर पूर्वमा अवस्थित छ। यो समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ। गर्मी मौसममा पनि यहाँ चिसो वातावरण हुने गर्दछ।

स्वदेशी तथा विदेशी पर्यटकसमेत नगरकोट आउने भएकाले खानपिन तथा बसोबासका लागि सामान्यदेखि स्तरीय होटल तथा रिसोर्टहरू उपलब्ध छन्। नगरकोट भक्तपुर जिल्लाको पूर्व नगरपालिका तथा देशमा सङ्घीयता लागु भएसँगै नयाँ स्थानीय तहको संरचना अनुसार चाँगुनारायण नगरपालिकाको एक मुख्य पर्यटकीय स्थल हो। नगरकोट काभ्रे जिल्ला र भक्तपुर जिल्लाको दोसाँधमा रहेको छ।

प्रकाशित: २० मंसिर २०८१ ०८:१० बिहीबार

# Nagarkot #Sunrise view: mesmerizing and picturesque