समाज

सरकारी नम्बर प्लेटका दुई गाडीबाट ६९० किलो गाँजा बरामद

सुनसरी प्रहरीले सरकारी नम्बर प्लेट भएका दुई गाडीबाट ६ सय ९० किलो गाँजा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय धरानको टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेका बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरका गाडीमा उक्त परिमाणको गाँजा फेला पारेको हो।

धरान–१३ स्थित अमरहाटमा प्रहरीले चेकजाँच गर्न खोज्दा गाडी भगाउने प्रयास भएपछि चार राउण्ड गोलीसमेत चलाएर गाडी नियन्त्रणमा लिनुपरेको थियो।

घटनाबारे धरानस्थित इलाका प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै सरकारी नम्बर प्लेट भएका गाडीमा लागुऔषध ओसारपसार भएको विषयमा अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार, गाँजा बोक्न प्रयोग गरिएका दुवै गाडीका नम्बर प्लेट सरकारी निकायसँग मिलेको पाइएको छ।

बा १ झ ५१२७ नम्बरको प्लेट कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको गाडीको नम्बरसँग मेल खाएको छ भने बा १ झ ४६०५ नम्बर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गाडी नम्बरसँग मिलेको प्रहरीले जनाएको छ।

यद्यपि, ती गाडी सम्बन्धित निकायकै हुन् वा होइनन् भन्ने विषय थप अनुसन्धानपछि मात्रै खुल्ने सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले बताए।

तस्करले चेकिङ टार्न प्रहरीलाई ठक्कर दिने गरी गाडी भगाएपछि गोली चलाउनु परेको प्रहरी प्रमुख तिम्सिनाले जानकारी दिए। घटनामा संलग्न मोरङको सुन्दर हरैंचा–११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ भने फरार अर्का चालकको खोजी जारी रहेको बताइएको छ।

प्रकाशित: १९ मंसिर २०८१ १४:४० बुधबार