समाज

संसदमा अस्पताल विवादको विषय

दाङ – राप्ती उपक्षेत्रीय अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीचको ‘स्वामित्व विवाद’ को विषय पाँच नम्बर प्रदेशसभासम्म पुगेको छ । प्रदेश सांसद अर्जुन कुमार श्रेष्ठले अस्पतालको विवाद सल्ट्याएर निकास निकाल्नका लागि संसदको ध्यानाकर्षण गराएका हुन् ।

सोमबार प्रदेशसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्दै सांसद श्रेष्ठले भने ‘उपक्षेत्रीय अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीचको विवादलाई अन्त्य गरियोस् ।’ दाङ घोराहीमा रहेको राप्ती उपक्षेत्रीय अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच अहिले विवाद चलिरहेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ऐन अनुसार उपक्षेत्रीय अस्पतालको स्वामित्व खोजिरहेको छ भने उपक्षेत्रीय अस्पतालले दिन मानिरहेको छैन।  

राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हस्तान्तरण गर्ने प्रतिष्ठानको ऐन बमोजिम तत्काल कार्यान्वयन प्रकृयामा लैजानु पर्ने सांसद श्रेष्ठले बताए । ‘राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभेर ऐन अनुसार अघि बढ्नु पर्नेमा त्यसो हुन सकिरहेको छैन,’उनले भने ‘ऐन नियमानुसार चल्नु पर्नेमा स्वास्थ्य क्षेत्रलाई विवादको थलो बन्न दिनु हुँदैन ।’ विवादकै कारण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रहने वा नरहने भन्ने आशंका समेत चलिरहेक बेला सांसद श्रेष्ठले प्रतिष्ठान नरहने अवस्था आए जिल्लाको स्वास्थ्य क्षेत्र धराशायी बन्ने तर्फ संसदलाई सचेत समेत गराए । ‘चिकित्सक उत्पादन गर्ने थलो मात्रै नभएर भरपर्दो उपचार सेवा पनि स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रदान गर्ने हो,’उनले भने ‘यदि यसमा तलमाथि केही हुनासाथ दाङ लगायत पहाडी जिल्लाको स्वास्थ्य उपचार सेवा प्रभावित बन्छ ।’ उपक्षेत्रीय अस्पताल अहिले नाम मात्रैको अस्पताल जस्तै छ । यो अस्पतालबाट सामान्य बिरामी समेत बुटवल तथा नेपालगन्जमा रेफर गरिन्छन् । 

यता राप्ती स्वास्थ्य प्रतिष्ठानले भने ऐन अनुसार उपक्षेत्रीय अस्पतालको स्वामित्व हस्तान्तरण हुनु पर्ने बताउँछ । स्वास्थ्य मन्त्रालयबाटै उपक्षेत्रीय अस्पतालको स्वामित्व प्रदानका लागि निर्देशन नभएका कारण समस्या देखिएको भन्दै यो समस्या तत्काल समाधान हुने प्रतिष्ठानका उपकुलपति डा. संगिता भण्डारीले बताइन् । ‘स्वामित्व हस्तान्तरणको समस्याले केही उल्झन देखिएको हो,’उनले भनिन् ‘मन्त्रालयबाट भैरहेको ढिलाई कारण यो रोकिएको हो, तर तत्कालै यो समस्या हल हुनेमा म विश्वस्त छु ।’ प्रतिष्ठानले उपक्षेत्रीय अस्पतालको स्वामित्व नपाएपनि प्रशासनिक कार्यहरूलाई भने अघि बढाइरहेकै छ । ‘यो समस्याले प्रतिष्ठानको काम रोकिने भन्ने कुरा हुँदैन,’डा. भण्डारीले भनिन् ‘हामीहरूले प्रतिष्ठानका लागि कर्मचारी भर्ना लगायतका प्रशासनिक कामहरू गरिरहेका छौँ ।’

यता दुई स्वास्थ्य निकायबीचको विवादको फाइदा उठाएर स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्यत्रै स्नान्तरण गर्ने योजना समेन बन्न थालेको जनाइएको छ । तर प्रतिष्ठानका लागि तय भएको स्थान बाहेक अन्यत्र कहीँ नजाने दाबी उपकुलपति संगिताले गरिन् । ‘ विवादको मौका छोपेर हामी जमिन दिन्छौँ, हाम्रो ठाउँमा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइदिनुपर्यो भनेर भन्नेहरू पनि नभएका हैनन्,’डा. भण्डारीले भनिन् ‘तर जुन ठाउँमा बन्ने भनेर निर्णय भएको छ, प्रतिष्ठान त्यहीँ बन्छ, यसमा कोही पनि शशंकित नबन्दा हुन्छ।’

प्रकाशित: २८ चैत्र २०७४ ०५:०५ बुधबार

संसदमा अस्पताल विवादको