समाज

बयानका लागि रविलाई चितवन ल्याइयो

सहकारीको रकम हिनामिना गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि चितवन ल्याइएको छ। लामिछानेलाई बुद्ध एयरको पहिलो उडानमार्फत काठमाडौँबाट चितवन ल्याइएको हो। 

साहरा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मंसिर ५ गते पूरक निवेदन दर्ता भएपछि बयानको लागि काठमाडौँबाट लामिछानेलाई सिधै चितवन ल्याइएको हो। तत्कालीन गार्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशक रवि लामिछानेलाई सहकारी रकम हिनामिना गरेको आरोप छ। 

प्रहरीले उनीमाथि सम्पती शुद्धिकरण तथा संगठित अपराधमा पनि मुद्दा चलाउने तयारी स्वरुप बयान गरिरहेको छ। चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रहरीले जिल्ला प्रहरी कार्यालयमा बयानका लागि आवश्यक कागजात मिलाएपछि सरकारी वकिल कार्यालयमा लगिने जनाइएको छ।

चितवन लामिछानेको निर्वाचन क्षेत्र पनि हो। उनलाई चितवन ल्याइने भएपछि सुरक्षा चुनौती हुने देखेपछि प्रहरी प्रमुख एसपी मिश्रले कुन उडानमार्फत लामिछानेलाई चितवन ल्याइने भन्ने जानकारी सार्वजनिक गरेका थिएनन्।

साहरा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डिआइजी छविलाल जोशी र नेचर हव इन्टरनेशनल प्रालिमा आबद्ध रामबहादुर खनाललाई आइतबार र सोमबार बयान लिइएको छ।  उनीहरूलाई आइतबार चितवन ल्याएर हिजो बयान सकिएको थियो।

प्रकाशित: १८ मंसिर २०८१ ०९:५० मंगलबार

#Rabi Lamichhane