समाज

सामाजिक लाञ्छना र भेदभावबाट त्रसित छन् एचआईभी / एड्स संक्रमित

म्याग्दीमा गत आर्थिक वर्ष २०८०/८१ मा दुई हजार दुई सय जनाको परीक्षण गर्दा पाँचजना एचआइभी संक्रमित पहिचान भएका छन्।

गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयको आयोजना र स्वास्थ्य कार्यालय म्याग्दीको समन्वयमा आयोजित अभिमुखीकरणमा हालसम्म एक सय २४ जनामा एचआइभी संक्रमण पुष्टि भएकोमा तीमध्ये ८८ जनाले नियमित रूपमा औषधी प्रयोग गरिरहेका छन् भने कोही जिल्ला बाहिर र कतिपयको मृत्यु हुन सक्ने अनुमान गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताए।

‘जिल्ला बाहिर जाने संक्रमितमा मुख्यतयाः सामाजिक लाञ्छना र भेदभाव प्रमुख कारण रहेको छ, सचेतनामूलक अभियान र समुदायको समेत सोच फेरिनुपर्छ’, प्रमुख ठकुराठीले भने। उनले लामखुट्टेबाट एचआईभी/एड्स संक्रमण हुन्छ भन्दै एक व्यक्तिलाई लामो समयसम्म घरभित्रै राखिएको घटनासमेत म्याग्दीमा भएको भन्दै अनावश्यक हल्लाले समेत संक्रमित भएकाहरू नै समाजमा त्रसित हुनुपर्ने अवस्था रहेको बताए।

संक्रमितलाई समाजमा गरिने अपमान, भेदभाव र दुव्र्यवहारको विश्लेषण गर्न, दुव्र्यवहार र मानव अधिकारको सम्बन्ध तथा स्थानीय स्तरमा हुने गरेका सम्भावित  दुर्व्यवहारको पहिचान गर्न आवश्यक रहेको बताए।

गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत कमल रानाभाट र सुजता पोख्रेलले एचआईभी एड्ससम्बन्धी लाञ्छना तथा भेदभाव र नीतिगत व्यवस्थाका बारेमा सहजीकरण गरेका थिए। एचआईभी/एड्स कसरी सर्छ र यसको रोकथामबारेमा समुदायलाई बुझाउनुपर्ने आवश्यकतासमेत औंल्याइएको थियो।

एचआईभी/एड्स मुख्यगरी असुरक्षित यौनसम्पर्क, निर्मलीकरण नगरेको सुई र संक्रमित महिलाले बच्चा जन्माउँदा सर्ने जोखिम उच्च भए पनि म्याग्दीमा संक्रमतिबाट जन्मिएका पाँच सन्तानमा नेगेटिभ आएको बताउँदै समाजमा संक्रमितलाई सम्मानको आवश्यकता र सचेतनामूलक अभियानमा सक्रिय बनाउनुपर्ने बताइएको थियो।

बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले एचआइभी/एड्स प्राणघातक रोगबाट संक्रामकजन्य रोगमा झरेको बताए। एचआईभी संक्रमित पुष्टि भएकाहरूलाई समाजले लगाउने लाञ्छना र गर्ने दुर्व्यवहारको विरुद्धमा सरोकारवाला निकाय सबैले आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए। 

प्रकाशित: १४ मंसिर २०८१ १०:०२ शुक्रबार