ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ सिकैचाको वडाध्यक्षका लागि हुने उपनिर्वाचनमा कुनै अवाञ्छित गतिविधि हुन नदिन ‘तीन घेरे’ सुरक्षानीति अवलम्बन गरिने भएको छ। जिल्ला सुरक्षा समितिले निर्वाचनका दिन र सोभन्दा अघि पनि आवश्यक परे नेपाली सेना परिचालन गर्ने निर्णय लिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।
केही दिनअघि मात्र राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर १६ गते हुने उपनिर्वाचनमा सेना परिचालन गर्न सक्ने गरी स्वीकृति दिएका थिए। ‘निर्वाचनमा कुनै किसिमको सुरक्षा कठिनाइ नहुने गरी व्यवस्था गरेका छौं,’ प्रजिअ शर्माले भने।
उनका अनुसार सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालित हुनेछन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट डिएसपीको मुख्य कमाण्डमा सुरक्षा टोली खटिने भएको छ। मतदान केन्द्रमा इन्स्पेक्टरको कमाण्डमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित हुनेछन्। तेस्रो घेरा नेपाली सेनाले सम्हाल्ने छ।
मतदानस्थलवरपर रहेका मुख्य तीन नाकाको सुरक्षार्थ तीनै सुरक्षा निकायका जनशक्ति खटिने छन्। जिल्ला प्रहरी प्रमुख रवि रावलका अनुसार निर्वाचका दिन आठ जना इन्स्पेक्टरले विभिन्न क्षेत्रको कमान्ड लिनेछन्।
सिकैचाको कुञ्जारी र ओसे दुवै मतदान स्थलमा प्रहरीका इन्सपेक्टरको कमान्डमा सुरक्षा टोली परिचालित हुने भएको छ। मतदान स्थलको सुरक्षार्थ मात्र ३० जना प्रहरी परिचालित हुने भएका छन्।
प्रकाशित: ११ मंसिर २०८१ १०:५५ मंगलबार