समाज

वर्षदिने अभियान बनाएर हिंसा अन्त्य गरौं

विराटनगरमा सोमबार लैंगिक हिंसाविरुद्धको सोह्रदिने अभियानको सुरुआत भएको छ। विराटनगर महानगरपालिकाले आयोजना गरेको अभियानको पहिलो दिन सोमबार सचेतनामूलक प्लेकार्डसहित र्‍याली गर्दै कोणसभा समेत भएको थियो। महानगरपालिकाको कार्यालयबाट महिलाले पञ्चेबाजा बजाउँदै सुरु भएको र्‍याली नगरको शनिहाट, जिल्ला प्रशासन कार्यालय, अस्पताल चोक, ट्राफिक चोक हुँदै महेन्द्र चोक पुगेर कार्यक्रममा परिणत भयो।

‘सबैको प्रतिबद्धता लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता, महिलाको कामको पहिचान र सम्मान गरौं, महिलामाथि हुने सबै प्रकारका भेदभाव र हिंसा बन्दा गराैं, लैंगिक न्यायसहितको समाज आजको आवश्यकता, हिंसा प्रभावितको सामाजिक न्याय सुनिश्चितताको वातावरण तयार गरौं, मौनता तोडौं लैंगिक हिंसाविरुद्ध बोलौं’ भन्ने सन्देशसहित प्लेकार्ड बोकेर र्‍यालीमा सहभागी भएका थिए।

र्‍यालीपछि आयोजित कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सोह्रदिने अभियानलाई तीन सय ६५ दिनकै अभियान बनाएर हिंसा अन्त्य गर्नुपर्ने बताए। उनले हिंसा समाज विकासको बाधक भएको भन्दै सबै मिलेर लैंगिक न्यायसहितको समाज निर्माण गर्नुपर्नेमा जोड दिए।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले हिंसालाई शून्यमा पुर्‍याएर समृद्ध समाज निर्माणमा सबै एकजुट हुनुपर्ने बताए। उनले सरकार, राजनीतिक दल, नागरिक समाजलगायतको सामूहिक प्रयासले मात्रै लैंगिक हिंसा रोक्न सकिने स्पष्ट पारे।

कार्यक्रमको अध्यक्षता गरेकी विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरला कार्कीले महिला मात्रै नभएर पुरुष पनि हिंसामा पर्ने गरेको बताइन्। उनले कोही पनि पुरुष हिंसामा परेको भए न्यायिक समितिमा उजुरी दर्ता गरे नाम गोप्य राखिने बताइन्।

प्रकाशित: ११ मंसिर २०८१ ०९:२३ मंगलबार

# Chief District Officer Prem Prasad Bhattarai