समाज

नागरिक समुदायको पहलमा निर्माण गरिँदै ‘वैकुण्ठधाम सिधनियाघाट’

बाँकेको डुडुवा गाउँपालिका–५ मा निर्माण गर्न लागिएको ‘बैकुण्ठधाम सिधनियाघाट’को नक्सा।

नागरिक समुदायको सक्रियतामा बाँकेमा ‘वैकुण्ठधाम सिधनियाघाट’ निर्माणको पहल थालिएको छ।

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५ स्थित सिधनियाघाटमा बैकुण्ठधाम निर्माण गर्न पहल थालिएको हो। यसका लागि नागरिक समाजका विभिन्न व्यक्ति सम्मिलित समिति बनाइएको छ।

राप्ती नदीको घाटमा आधुनिक सुविधा सम्पन्न दाहसंस्कार स्थलका रुपमा वैकुण्ठधाम निर्माण गर्न पहल थालिएको समितिका संयोजक डा. सुरेशकुमार कनोडियाले बताए। बैकुण्ठधाम सिधनियाघाट निर्माण सहयोगार्थ हालै नेपालगन्जमा आध्यात्मिक महोत्सव गरिएको छ। गत कात्तिक २२ गतेबाट सुरु भएको महोत्सव कात्तिक ३० गतेसम्म चलेको थियो।

उक्त महोत्सवबाट तीन करोड बढी संकलन भएको समितिले जनाएको छ। आध्यात्मिक महोत्सवमा वाचन शिरोमणि पण्डित दीनबन्धु पोखरेलले कथा वाचन गरेका थिए। धामलाई स्तर उन्नति गर्दै विद्युतीय दाहसंस्कार समेत निर्माण गर्ने योजना रहेको संयोजक डा. कानोडिया बताउँछन्। ‘सबैको चाहना व्यवस्थित र राम्रो बैकुण्ठधाम बनोस् भन्ने नै छ,’ उनी भन्छन् ‘हामीले बनाउने संरचना बिलकुलै फरक हुनेछन्।’

बैकुण्ठधाम निर्माणका लागि समितिले १४ कठ्ठा जमिनको ‘बयाना’ समेत गरिसकेको जानकारी दिए। कनोडियाले थपे, ‘हुन त यो जग्गा अपर्याप्त नै हो, वरिपरिको अरु जमिनलाई पनि बैकुण्ठधामको नाममा ल्याउने प्रयासमा छौँ।’ बैकुण्ठधाम निर्माण सम्पन्न हुन करिब १५ देखी २० करोड रुपैयाँ खर्च लाग्ने बताउँदै संयोजक डा. कनोडियाले भने, ‘सरकारले पनि यहाँ लगानी गर्न तयार छ, दुई करोड रुपैयाँ शहरी विकास कार्यालयमा थन्केर बसेको छ, हामीले महोत्सवबाट संकलन भएको पैसालाई पारदर्शी ढंगले नै उपयोग गर्नेछौँ।’

अपुग रहेको थप रकम संघ, प्रदेश र स्थानीय तह तथा विभिन्न दातालाई अनुरोध गरेर पुरा गर्ने समितिको योजना रहेको महासचिव श्रीराम सिग्देल बताउँछन्। ‘संकलन भएको रकमबाट हामीले कामको सुरुवात गर्छौ, त्यसपछि अपुग रकम खोज्न सबै तहका सरकार र दातालाई अनुरोध गर्नेछौँ,’ उनले भने।

सिधनियाघाटलाई बहु आयामिक केन्द्रका रुपमा विकास गर्न सकिने वाचन शिरोमणी पण्डित पोखरेलको बुझाई छ। ‘धर्म संस्कार र संस्कृतिलाई नजिकबाट नियाल्ने पवित्र उद्देश्यका साथ बाँकेमा यो काम हुदैछ, यहाँका सबै सरोकारवालाले यो अभियानलाई आफ्नो घरको योजना जस्तै सम्झिनु हुनेछ,’ उनले भने। बाँकेमा निर्माण हुने बैकुण्ठधाम सिधनियाघाट नेपालकै नमुनायोग्य घाट बन्न सक्ने आधार प्रशस्त देखिएको पोखरेल बताउँछन्। 

प्रकाशित: १० मंसिर २०८१ १६:५६ सोमबार