समाज

भूकम्पबाट प्रभावित विद्यालयलाई कोरियाली सहयोग

फलेवास- विसं २०७२ मा गएको भूकम्पबाट प्रभावित बनेको पर्वतको कुस्मा नगरपालिका–११ पकुवाको वीरेन्द्र माध्यमिक विद्यालयलाई कोरियाली नागरिकले सहयोग गरेका छन्।

कोरियाको ख्वांङ्जु महानगरका सहयोगी नागरिकले उक्त विद्यालयको पुनःनिर्माणमा सहयोग गरेका हुन् । ख्वाँङ्जु महानगरका मेयर युङ जङ् याङ्को नेतृत्वमा आएको टोलीले विद्यालयको निरीक्षण गरी सहयोग गरेका हुन्।

पहिलो चरणअन्तर्गत पकुवामा निरीक्षण गर्न आएको टोलीले विद्यालयको मर्मतका लागि रु दुई लाख हस्तान्तरण गरेको छ भने आगामी दिनमा विद्यालयको पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।विद्यालयमा आयोजित कार्यक्रममा मेयर याङ्ले नेपालमा गएको महाभूकम्प र त्यसले पारेको क्षतिबाट आफूसमेत दुखी भएको बताउँदै पुनःनिर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले कोरियाली सहयोगको प्रशंसा गर्दै आगामी दिनमा कुस्मा नगरपालिकाका सबै क्षेत्रमा सहयोग गर्न आग्रह गरे।जिल्लाको मोदी गाउँपालिका डिमुवामा स्वास्थ्य सेवा दिने उद्देश्यले ख्वाँजु क्लिनिक सञ्चालनमा ल्याएर सेवा दिँदै आएको उक्त टोलीलाई समाजसेवी रुद्र शर्मा र पकुवाका वडाध्यक्ष शिव पौडेलले कुस्मा नगरपालिकाको पकुवामा भित्र्याएका हुन्।

यसैबीच पर्वतको कुस्मा नगरपालिका र कोरियाको ख्वाङ्जु महानगरपालिकाका प्रमुखबीच दुर्इ नगरबीच भगिनी सम्बन्ध स्थापित गराउने विषयमा प्रतिबद्धता जाहेर भएको छ ।भगिनी सम्बन्ध स्थापित भएमा कुस्माको विकास निर्माण, कला, संस्कृति, शिक्षा तथा स्वास्थ्यको क्षेत्रमासमेत ख्वाङ्जुको सहयोग हुने विश्वास लिइएको छ।रासस

 

प्रकाशित: २७ चैत्र २०७४ ०४:०८ मंगलबार

भूकम्पबाट प्रभावित विद्यालयलाई कोरियाली