समाज

जुनार उत्पादन बढेपछि किसान हर्षित

रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ। यस वर्ष उपयुक्त हावापानी तथा किसानले नियमित प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिनको प्रयोग गर्न पाएपछि जिल्लामा जुनार उत्पादन बढेको हो।

रामेछाप नगरपालिका–६ ओख्रेनीका हिमाल तामाङले पन्ध्र रोपनीमा व्यावसायिक रुपमा जुनारखेती गरेका छन्। गत वर्षको तुलनामा ५० प्रतिशत बढी उत्पादन भएको उनले बताए। उनका अनुसार अघिल्लो वर्ष दुई लाख ५० हजारको जुनार बिक्री भएको थियो। यस वर्ष तीन लाख ५० हजारबराबरको जुनार बिक्री गर्ने योजना उनको छ।  

रामेछाप–६ का टेकबहादुर तामाङले पनि सात रोपनी जग्गामा जुनारखेती गरेका छन्। गत वर्षको तुलनामा ४० प्रतिशत उत्पादन बढेको उनको भनाई छ। उनले भने, “गत वर्ष मैले जुनार बिक्री गरेर ७० हजार रुपैयाँमात्र लिन सकेको थिएँ, यस वर्ष एक लाखसम्मको बिक्री हुने अनुमान छ।”

सुकाजोरका किसान रामकुमार कार्की, ओख्रेनीकै युगराज पाख्रिन, शेरबहादुर तामाङलगायत किसानले जुनार उत्पादन गरेपछि उनीहरूको आम्दानी पनि बढेको छ। रामेछाप नगरापलिकाको हिमगङ्गा, सुकाजोर, ओख्रेनी र मन्थली नगरपालिकाको वडा नं १३ र १४ फुलासीमा जुनार उत्पादन गत वर्षको तुलनामा बढेको किसानले बताएका छन्। जुनार जोन सञ्चालन समन्वय समितिका अध्यक्ष गुञ्जबहादुर कार्कीका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मन्थली र रामेछाप नगरपालिकामा जुनार जोनका रूपमा काम गरिरहेको छ।  

परियोजनाले विभिन्न अनुदान, प्राविधिक सहयोग, कीटनाशक औषधि र भिटामिन, यान्त्रिकीकरणजस्ता सामग्रीसमेत किसानलाई वितरण गरेको छ। परियोजना कार्यालयकी प्राविधिक भवानी बस्नेतले मन्थली र रामेछाप नगरपालिका क्षेत्रभित्र लागू भएको जुनार जोन क्षेत्रमा गत वर्ष पाँच सय २० हेक्टरमा सुन्तला जातका फलफूल उत्पादन भइरहेकामध्ये जुनार चार सय २२ दशमलव पाँच, सुन्तला ७८ र कागती २० दशमलव आठ हेक्टरमा जुनार खेती गरिएको थियो। यहाँ चार हजार तीन सय ८० मेट्रिक टन जुनार फलफूल उत्पादन भई १९ करोड ९३ लाख ९५ हजार रुपैयाँबराबरको बिक्री भएको प्राविधिक बस्नेतले जानकारी दिए। 

यस वर्ष चार सय ३७ हेक्टरमा जुनार, ८१ हेक्टरमा सुन्तला तथा २२ हेक्टरमा कागतीखेती गरिएकामा चार हजार चार सय एक मेट्रिक टन उत्पादन हुँदा २२ करोड ६८ हजार रुपैयाँबराबरको बिक्री हुने अपेक्षा गरिएको छ। जुनार उत्पादन बढेपछि यहाँका किसान हर्षित छन्। उनीहरूले बगैँचाबाट नै जुनारको दानाको साइजअनुसार प्रतिकिलो  ६० देखि रु ७५ रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन्। रासस

प्रकाशित: ९ मंसिर २०८१ ०७:१० आइतबार

#junar #NagarikNews