समाज

महिला उद्यमी महासंघले अस्ट्रेलियामा एक्स्पो गर्ने

महिला उद्यमी महासंघ नेपाललले नेप्को इन्टरटेन्मेन्टसँगको सहकार्यमा अस्ट्रेलियाको मेलवर्नमा ‘मेड इन नेपाल एक्स्पो–२०२४’ को आयोजना गर्ने भएको छ। मेलवर्नमा हुने उक्त एक्स्पो डिसेम्बर १४ र १५ मा हुने महासंघ अध्यक्ष शोभा ज्ञवालीले बताइन्।

नेप्को इन्टरटेन्मेन्टसको आयोजनामा हुन लागेको सो मेलामा महिला उद्यमी महासंघ नेपालले  सह–आयोजकको रूपमा भूमिका निर्वाह गर्ने अध्यक्ष ज्ञवालीले बताइन्। ‘महिला उद्यमी महासंघ स्थापना भएको २१ वर्षको इतिहासमा पहिलो पटक सहआयोजक नै भएर अन्तर्राष्ट्रिय प्रदर्शनीमा भाग लिँदै छ,’ अध्यक्ष ज्ञवालीले भनिन्, ‘यो महासंघका लागि मात्र नभई समग्र राष्ट्रको गौरवको कुरा हो।’

अध्यक्ष ज्ञवालीले मेलामा कच्चा पदार्थहरूका साथै स्थानीय सिप तथा प्रविधिको प्रयोगबाट उत्पादन भएका वस्तु तथा सेवाहरू  प्रदर्शनीका लागि राखिने बताइन्।

स्थानीय समयअनुसार बिहान १० बजेबाट साँझ ५ बजेसम्म सञ्चालन हुने सो प्रदर्शनीमा नेपाली कच्चा पदार्थहरूका साथै स्थानीय सिप तथा प्रविधिको प्रयोगबाट उत्पादन भएका वस्तु तथा सेवालाई बिक्री तथा प्रदर्शनमा राखिनेछ। प्रदर्शनीमा महिला उद्यमी महासंघले नेपाली उद्यमीद्वारा उत्पादन गरिएका हस्तकला, कृषि, पर्यटन, खाद्य उत्पादनका साथै नेपाली सांस्कृतिक उत्पादनको प्रवर्धन, प्रदर्शन तथा बिक्रीवितरण गरिने सहआयोजक महासंघले जानकारी दिएको छ।

उक्त प्रदर्शनी नेपाली उद्यमीहरूको सहभागिताका लागि मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा नेपाली उत्पादनको बजारलाई समेत अध्ययन गर्न महत्त्वपूर्ण भूमिका हुने औंल्याउँदै अध्यक्ष ज्ञवालीले भनिन्, ‘महासंघको संलग्नता सहभागिताका लागि मात्र होइन। अन्तर्राष्ट्रिय स्तरमा नेपाली उत्पादनको बजार हिस्साबारे अध्ययन गर्न पनि हो। हाम्रो यो सहभागिताले भोलिका दिनमा नेपाली उद्यमशीलतालाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिने त छँदै छ, अन्तर्राष्ट्रिय स्तरमा नेपाली उत्पादनको बजारको निर्धारण गर्छ।’

मेलामा सहभागितामार्फत नेपाली उद्यमीहरूका उत्पादनहरूको अन्तर्राष्ट्रिय बजारमा पहुँच पुग्नुका साथै बिक्रीवितरणका लागि दीर्घकालीन अवसर प्राप्त हुने उनले बताइन्।

नेपाली उद्यमीहरूले लघु, घरेलु, साना तथा मझौता उद्योगहरूमार्फत वस्तु तथा सेवाको उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेको छ। आयोजकका अनुसार सो मेलामा सहभागिताबाट नेपाली उद्यमीलाई व्यवसायीदेखि व्यवसायी र व्यवसायीदेखि उपभोक्तासम्मको सम्पर्क तथा समन्वयका लागि उत्कृष्ट अवसरहरूको खोजीमा मद्दत पुग्नेछ।

 मेलाको आयोजनाको क्रममा शिक्षा क्षेत्रका व्यक्तित्वहरू, विद्यार्थीहरू, पर्यटक तथा पर्यटन व्यवसायीहरू पनि सहभागिताले नेपालको अन्तर्राष्ट्रिय पर्यटकको आगमनमा वृद्धि हुने महासंघको दाबी छ। साथै अन्तर्राष्ट्रिय स्तरका व्यवसायीहरू तथा लगानीकर्तालाई नेपाली उद्योगहरूमा लगानीका लागि अवसरहरू प्राप्त हुने र नेपालको सामाजिक तथा आर्थिक विकासका लागि यस मेलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमा महासंघ पूर्ण विश्वस्त रहेको जनाएको छ।

प्रकाशित: ८ मंसिर २०८१ ०६:२७ शनिबार

# Mahila Udhami Mahasangha #Expo in Australia #President Shobha Gyawali