समाज

ओमानसँग श्रम सम्झौता अन्तिम चरणमा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युएई, साउदी अरेबिया र कतारसँगको श्रम सम्झौता नवीकरण र वैदेशिक रोजगारीको अवसर उपलब्ध गराउन ओमानसँगको पहिलोपटक नयाँ श्रम सम्झौता गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।

नेपाली श्रमिकको गन्तव्य खाडी मुलुकहरू युएई, साउदी अरेबिया र कतारसँगको श्रम सम्झौता पहिल्यै भए पनि २५ हजारको हाराहारीमा नेपाली श्रमिक कार्यरत रहेको ओमानसँग पहिलोपटक सरकारले श्रम सम्झौता गर्न लागेको हो। यसका लागि अन्तिम तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ।

ओमानसँग द्विपक्षीय श्रम सम्झौताका लागि नेपालमा उच्चस्तरीय छलफल भई प्रारम्भिक सहमति गरेर ओमान पठाएको मन्त्रालयका प्रवक्ता वसन्त बोहोराले बताए। ‘नेपालमा उच्चस्तरीय छलफल भएर त्यसको ड्राफ्ट ओमान पठाइएको छ’, बोहोराले भने, ‘ओमानको मन्त्रिपरिषद्ले स्वीकृतसँगै कानुनी प्रक्रिया सकेपछि उनीहरूले नेपाल पठाउने छन्। हाम्रो तर्फबाट पनि लिगल प्रोसेस अगाडि बढाउँदै छौं। साथै ओमानले समेत क्याबिनेटमा पठाउने तयारी गरिरहेको खबर पाइरहेका छौं।’

दुईपक्षीय रूपमा सम्बन्धित मन्त्रालयबिच टुंगो लागे पनि कानुनी रूपमा टुंगो लाग्न बाँकी रहेको बोहोरा बताउँछन्। नेपालले सबैभन्दा पहिला कतारसँग सन् २००८ मा द्विपक्षीय श्रम सम्झौता (बीएलए) गरेको थियो। त्यस्तै दक्षिण कोरियासँग सन् २००७ मा र मलेसियासँग सन् २०१८ मा श्रम समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेको थियो। तीबाहेक टर्की, लेबनान, स्पेन, ब्रुनाई लगायतका देशसँग समेत श्रम सम्झौताको गृहकार्य भइरहेको उनले बताए।

उनका अनुसार नेपालले कतारसँग श्रम सम्झौता नवीकरण प्रक्रिया अगाडि बढाएसँगै कतारको श्रम मन्त्रालयमा सम्झौताको ड्राफ्ट पुगेको छ। साथै सन् २००७ मा गरिएको कोरियासँगको श्रम सम्झौता नवीकरणको गृहकार्य अघि बढेको उनी बताउँछन्।

सन् २००७ मा श्रम सम्झौता भएसँगै नेपालबाट ईपिएसमार्फत नेपाली श्रमिक कोरिया जाने गरेका छन्। नेपालले २०८० असोज १९ गते रोमानियासँग श्रम समझदारी गरेको थियो। त्यसलगत्तै असोज २० गते श्रममन्त्री शरतसिंह भण्डारीले जर्मनीसँग दक्ष श्रम आप्रवासन र ज्ञान आदानप्रदानसम्बन्धी संयुक्त घोषणापत्र (जेडिओएल) मा हस्ताक्षर गरेका थिए।

ओमानसँग रोजगारदाताले श्रमिकको लाग्ने सबै लागत खर्च तिर्ने गरेर सम्झौता हुन लागेको उनी बताउँछन्। ‘ओमानसँग इम्प्लोई पेइङ मोडलमा सम्झौता हुन लागेको हो। सम्झौतामा श्रमिकको न्यूनतम तलबको विषय उल्लेख गरिएको छैन, तर पेमेन्टको मोडालिटीका विभिन्न विषय राखिएका छन्। बैंकिङ च्यानलमार्फत नै पैसा तिर्नुपर्ने विषय राखिएको छ’, बोहोराले भने।

साथै दुवै देशको संयुक्त बैठक (ज्वाइन्ट कमिटी) आवश्यकताअनुसार राख्ने र श्रमिकको हकहितका विषयमा छलफल गर्ने विषय सम्झौतामा राखिएको उनले बताए। त्यस्तै नेपालले ओमानमा मृत्यु भएका नेपालीको शव जतिसक्दो चाँडो नेपाल पठाउने विषयसमेत राखेको छ। दक्षिण कोरिया (इपिएस) र मलेसियासँगका द्विपक्षीय श्रम सम्झौताको नवीकरण र ओमानसँग द्विपक्षीय श्रम सम्झौताको प्रक्रिया अगाडि बढाएको मन्त्री भण्डारीले आफ्नो सयदिने प्रगति विवरणमा राखेका थिए।

नेपालले सन् २०१८ मा श्रम सम्झौता गरेको मलेसियासँग नवीकरणको तयारी गरेको छ। श्रम सम्झौताका अवधि यही कात्तिक १२ देखि सकिएको थियो। त्यसयता नेपालले श्रम सम्झौताका लागि मलेसियासँग बारम्बार ताकेता गर्दै आए पनि मलेसियाले हालसम्म पनि सम्झौताका लागि तत्परता नदेखाएको मन्त्रालयको जानकारी छ।

‘हामीले श्रम सम्झौताको ड्राफ्ट मलेसिया सरकारलाई पठाएका छौं। परराष्ट्र मन्त्रालयमार्फत मलेसियास्थित नेपाली दूतावासले मलेसियाको विदेश मन्त्रालयमा ड्राफ्ट पेस गरेको थियो। उक्त ड्राफ्ट मलेसियाको श्रम मन्त्रालयमा पुगेको छ’, उनले भने।

नेपालको तर्फबाट मलेसियासँगको श्रम सम्झौतालाई अन्तिम रूप दिई परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारसमक्ष पठाइएको र जवाफ प्राप्त हुन बाँकी रहेको उनी सुनाउँछन्।

मलेसिया नेपालबाट घरेलु कामदार लैजान इच्छुक छ। त्यसका लागि पटकपटक मलेसियाले आग्रह गर्दै आएको थियो, तर नेपालले घरेलु कामदार पठाउन प्रतिबन्ध लगाइएकाले तत्काल पठाउन नसकिने जवाफ दिँदै मन्त्रालयका अधिकारीहरू बताउँछन्।

मलेसियाको श्रम मन्त्रालयबाट हालसम्म औपचारिक जवाफ आइसकेको छैन। मलेसियाको श्रम मन्त्रालयले नेपालबाट पठाइएको कागजातलाई नै सदर गर्छ वा त्यसमा केही थपघट गर्छ, त्यो आएपछि मात्रै मन्त्रालयल अघि बढ्ने बोहोराले बताए।

मलेसियाले सन् २०२५ को फेब्रुअरीदेखि लागु हुने गरी श्रमिकको न्यूनतम तलब १७ सय मलेसियन रिंगेट पुर्‍याएको छ। मासिक १५ सय रहेको न्यूनतम तलब बढाउने घोषणा मलेसिया सरकारले गरेको हो। आप्रवासी कामदारको पारिश्रमिक बढाएको मलेसियामा नेपाली कामदार कहिलेदेखि जान पाउँछन् भन्ने अझै प्रस्ट भइसकेको छैन। अहिले नेपालको प्रमुख श्रम गन्तव्य मलेसियामा कामदार जान पाएका छैनन्।

आन्तरिक व्यवस्थापन गर्न भन्दै गत २०८१ जेठ १८ देखि मलेसियाले नेपालसहित सबै मुलुकबाट कामदार लैजान रोकेको थियो। यसले गर्दा हाल मलेसिया जाने श्रमिकको संख्या निकै घटेको छ। अब मलेसियाले कामदार भिœयाउन कहिले खुला गर्छ भनेर नेपाललगायतका मुलुकको चासो बढेको छ।

प्रकाशित: ६ मंसिर २०८१ ०७:१५ बिहीबार

#Ministry of Labour Employment and Social Security #The last step