समाज

उखुको भुक्तानी नगर्ने चिनीमिल सञ्चालक पक्राउ

काठमाडौं – उखु किसानको भुक्तानी नगर्ने इस्टर्न सुगर मिलका सञ्चालक बृजमोहन गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। सरकारसँगको सहमतिअनुसार सूचना जारी गरेर पनि भुक्तानी नगरेको भन्दै सुनसरी प्रशासनले सोमबार गुप्तालाई पक्राउ गरेको हो।

इस्टर्न सुगर मिलले उखु किसानलाई ४४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। उद्योग मन्त्रालयमा भएको सहमतिपछि इस्टर्नले चैत २२ गतेपछि भुक्तानी गर्ने सूचना जारी गरेको थियो। सूचना जारी गरेर पनि भुक्तानी नगरेर किसानलाई ठग्न खोजेकाले पक्राउ गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवका स्वकीय सचिव सन्तोष बिष्टले बताए।

मन्त्री यादवले इस्टर्नसहित श्रीराम सुगर मिल, अन्नपूर्ण र इन्दिरा सुगर मिल सञ्चालकले किसानको भुक्तानी नदिएकाले पक्राउ गर्न गृह मन्त्रालयलाई परिपत्र गरेका थिए। भुक्तानी नगर्ने अन्य चिनी मिल सञ्चालकलाई पनि पक्राउ गर्न खोजी भइरहेको गृहले जनाएको छ। कतिपय चिनीमिल सञ्चालक केही समयदेखि सम्पर्कमै नभएकाले उनीहरूको पनि खोजी भइरहेको गृहको भनाइ छ। उद्योेग मन्त्रालयले समयमै किसानको भुक्तानी नगर्ने मिल सञ्चालकविरुद्ध ठगी मुद्दा अगाडि बढाएको छ। चिनी मिलहरूले किसानलाई साढे ९ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

प्रकाशित: २७ चैत्र २०७४ ०१:२९ मंगलबार

उखुको भुक्तानी नगर्ने चिनीमिल सञ्चालक पक्राउ