समाज

निःशुल्क उपचारका नाममा पीडा थपियो

धादिङ – निःशुल्क उपचार सुविधा पाउने आसमा जिल्ला अस्पताल धादिङबेसी पुगेका नीलकण्ठ नगरपालिका–९ काफलपानीका तुलबहादुर परियारलाई उपचार होइन पीडा थपिएको छ। हाइड्रोसिलको समस्या रहेका परियारलाई निःशुल्क शल्यक्रिया हुन्छ भन्ने थाहा पाउँदा खुसीको सीमै थिएन। यही चैत १ गते शिविर चलेकै बेला उनको हाइड्रोसिलको निःशुल्क शल्यक्रिया भयो। शल्यक्रियापछि समस्या समाधान होला भनेको त घाउ दुख्दै गएको परियारले बताए। ‘निःशुल्क भनेर अपरेसनका लागि आइयो’, परियारले भने, ‘निःशुल्क उपचारका नाममा झन् पीडा थपिएको छ।’ शल्यक्रिया गरेको ठाउँमा लगाइएको टाँका फाट्ने, घाउ पाक्ने र अत्यधिक दुखाइ हुने भएपछि उनी अस्पतालमै भर्ना भएका छन्।

हाइड्रोसिलको निःशुल्क शल्यक्रिया हुने भनेपछि जिल्लाका विभिन्न ठाउँबाट १ दर्जनभन्दा बढी व्यक्ति अस्पतालमा आएका थिए। अहिले परियारलगायत अन्य ८ जनाको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको छ। शल्यक्रिया गरेको घाउको उपचार तथा ड्रेसिङ गराउन १० जना दैनिक अस्पताल आउजाउ गरिरहेका छन्। शल्यक्रिया गरेको ठाउँमा पाक्न थालेपछि केही अस्पतालमै भर्ना भएर उपचार गराइरहेका छन् भने केही अस्पताल धाएर घाउ सफा गरिरहेका छन्। सामान्यतया हाइड्रोसिल शल्यक्रिया गरेको केही घन्टापछि घर जान सकिने भए तापनि स्वास्थ्यकर्मीको लापरबाहीले जिल्ला अस्पतालमा शल्यक्रिया गरेका बिरामीको घाउ पाकेको आरोप बिरामीहरुको छ।

‘काठको काम गर्दा ठक्कर लागेर हाइड्रोसिल भएको थियो। निःशुल्क भनेर अपरेसनका लागि आएँ। अस्पताल भर्ना भएको १२ दिन भइसक्यो। अहिलेसम्म दुखाइ कम भएको छैन।’

हाइड्रोसिलको निःशुल्क शल्यक्रिया हुने भनेपछि अस्पताल आएका नीलकण्ठ नगरपालिका २, साँखुका खड्कबहादुर थापा मगरको पनि उही समस्या छ। उनी अहिले जिल्ला अस्पतालको बेडमा छन्। शल्यक्रिया गरेको भोलिपल्टदेखि अर्को समस्या आइपरेपछि अस्पतालमै भर्ना हुनुपरेको उनले बताए। ‘काठको काम गर्दा ठक्कर लागेर हाइड्रोसिल भएको थियो। निःशुल्क भनेर अपरेसनका लागि आएँ,’ मगरले भने, ‘अस्पतालमा भर्ना भएको १२ दिन भइसक्यो तर अहिलेसम्म पनि दुखाइ कम भएको छैन।’ हाइड्रोसिल हुँदा खासै दुःख र पीडा नभए पनि शल्यक्रियापछि पीडा थपिएको परियारको भनाइ छ।

शल्यक्रिया गरेका उपकरण सफा नभएकाले धेरै जनाको घाउ पाकेको आरोप पीडितको छ। जिल्ला स्वास्थ्य कार्यालयले भने शल्यक्रिया र उपचारमा कुनै पनि लापरबाही नभएको दाबी गरेको छ। अपरेसनपछिको हेरचाहमा हेलचेक्र्याइँ भएकाले समस्या उत्पन्न भएको कार्यालयका कर्मचारी बताउँछन्।

शरीरको कुनै पनि थैलोमा असामान्य तरिकाले तरल पदार्थ भरिने अवस्था वा अण्डकोषको थैलीमा पानी भरिनुलाई हाइड्रोसिल भन्ने गरिन्छ। कसैकसैलाई यसले लामो समय पिरोल्छ। खास गरेर लुकाएर राख्दा वा उपचार पद्धतिबारे थाहा नहुँदा यस्तो रोगले सताउने गरेको जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेन्ट गौरभ महतोले बताए। ‘विशेषतः उमेर ढल्केका र गर्मी ठाउँमा काम गर्ने मानिसमा हाइड्रोसिलको समस्या बढी देखिन्छ,’ उनले भने, ‘भरतपुर सामदायिक अस्पतालका वरिष्ठ सर्जनहरुको उपस्थितिमा भएको हाइड्रोसिल अप्रेसनमा स्वास्थ्यकर्मीको लापरबाही भएको छैन।’ उनका अनुसार कहिलेकाहीं उमेर र बिरामीको स्वास्थ्यगत अवस्थाका कारण हाइड्रोसिलको शल्यक्रियापछि घाउ निको हुन समय लाग्न सक्छ।

जिल्ला स्वास्थ्य कार्यालयले प्रतिव्यक्ति उपचारबापतको पैसा तिर्ने गरी भरतपुरबाट चिकित्सक ल्याएको थियो। कार्यालयले यस वर्षको कार्यक्रमअनुसार धादिङ जिल्लाका तीन ठाउँमा हाइड्रोसिलको निःशुल्क उपचार शिविर राखेको थियो। जसमध्ये सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा पाँचजना, मैदी स्वास्थ्य चौकीमा २९ जना र जिल्ला अस्पताल धादिङमा ३४ जनाको सफल शल्यक्रिया गरिएको थियो। सल्यानटार र मैदीमा शल्यक्रियापछि बिरामीहरु खुसी भएर घर फर्किएका थिए भने जिल्ला अस्पताल धादिङबेसीमा शल्यक्रिया गरेका व्यक्तिमा  समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेश्वर श्रेष्ठले बताए।

प्रकाशित: २७ चैत्र २०७४ ०१:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App