समाज

मधेस प्रदेशका जिल्लाबाट चिनियाँ लसुन भारत तस्करी

वीरगन्ज सीमा नाकाबाट लसुन भारत तस्करी हुँदै आएको खुलेको छ।

भारत तस्करीका लागि सीमा क्षेत्रमा भण्डारण गरिएको ठूलो परिमाणको लसुन मङ्गलबार पर्सा प्रहरीले बरामद गरेपछि लसुन तस्करी हुँदै आएको खुलेको हो।

पछिल्लो समय मधेस प्रदेशका जिल्लाको सीमा नाकाबाट चिनियाँ लसुन भारत तस्करी हुँदै आएको छ। चिनियाँ लसुन भारत तस्करीको मुख्य बाटोको रूपमा मधेस प्रदेशका जिल्ला फस्टाएको छ।

मंगलबार राति करिब साढे आठ बजेको समयमा पर्साको  बिन्दवासिनी गाउँपालिका–३ झौवास्थित कुखुरा फर्ममा अनाधिकृतरुपले भण्डारण गरी राखिएको एक सय दुई बोरा चिनियाँ लसुन पर्सा प्रहरीले बरामद गरेको छ।  तौल मापन गर्दा एक हजार सात सय ८० केजी लसुन भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक भारतीले जानकारी दिए।

भारततर्फ तस्करी  गर्नका लागि व्यापारीले उक्त लसुन सीमावर्ती गाउँमा भण्डारण गर्ने र अनुकूल समयमा पारी पुर्याउदै आएका छन्।

बरामद लसुनको बजार मूल्य चार लाख ८० हजार रहेको छ। बरामद  लसुन थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी भारतीले जनाए।

प्रकाशित: ५ मंसिर २०८१ १६:४५ बुधबार