समाज

माइतीघरमा सहकारी पीडित र प्रहरीबीच झडप

.

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

सहकारी पीडितहरूको प्रदर्शनका क्रममा बुधबार माइतीघर मण्डलमा झडप भएको छ। पीडितहरू बानेश्वरतर्फ जान लाग्दा प्रहरीले रोकेपछि झडपको स्थिति बनेको हो।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले बल प्रयोग गर्दा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको टाउकोमा गहिरो चोट लागेको छ। निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीले बल प्रयोग गरेको हो।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) को अगुवाइमा सहकारी पीडितहरूले राजधानीका विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए।

माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले सहकारी ठगीविरुद्धका नाराहरू लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए। उनीहरूले ‘हामी सहकारी बचतकर्ताको पौने ३ खर्ब रुपैयाँ लुटियो, गुहार!’ ‘सहकारी ठगको तीन पुस्ते सम्पत्ति जफत गर !’ जस्ता नारा लगाएका थिए।

गठ्ठाघर चोक, चाबाहिल चोक, पुल्चोक, कालीमाटी, र सोहखुट्टे चोकबाट सहकारी पीडितहरू प्रदर्शन गर्दै माइतीघरमा भेला भएका हुन्। उनीहरूले सहकारीमा डुबेको पैसा फिर्ता गराउन र महँगीविरुद्ध सरकारले चाँडो कदम चाल्नुपर्ने माग गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसअघि नै सहकारी पीडितहरूको आन्दोलनप्रति समर्थन रहेको भन्दै एक विज्ञप्ति जारी गरेको थियो। पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका बेला रास्वपाले उनको रिहाइको माग गर्दै आन्दोलन गरिरहेकै अवस्थामा सहकारी पीडितहरूको आन्दोलनलाई पनि साथ दिएको जनाएको छ।

प्रकाशित: ५ मंसिर २०८१ १५:५६ बुधबार