समाज

नेपाल संवत् नेपालको राष्ट्रिय र मौलिक संवत् हो: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत् नेपालको राष्ट्रिय र मौलिक संवत् भएको बताएका छन्।

मंगलाबार शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको रजत वर्षको अवसरमा आयोजित शंखधर दिवस कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले यस्तो कुरा बताएका हुन।

उनले ऐतिहासिक कालदेखि नेपाली जनताको धार्मिक सांस्कृतिक र सामाजिक जीवनसँग सामीप्य रहँदै आएको नेपाल संवत् नेपालको राष्ट्रिय र मौलिक संवत् भएको बताए।उनले आफ्नै नामबाट स्थापित विश्वको एउटै मात्र संवत् नेपाल संवत् भएकाले सम्पूर्ण नेपाली जनताको गौरवमय राष्ट्रिय सम्पदा भएको बताए।

राष्ट्रपति पौडेलले बहुभाषिक,बहु सांस्कृतिक र बुहजातिय मुलुक नेपालको संस्कृति विविधतालाई एकताको सूत्रमा बाँध्न नेपाल संवतको भुमिका महत्त्वपूर्ण रहेको धारणा राखे।उनले मुलुकको पहिचान र राष्ट्रिय जनजीवनसँग लामो समय सामीप्य रहँदै आएको नेपाल संवतको आरम्भ गर्ने शंखधर साख्वाः लोक कल्याण एवं परोपकारी भावनाका शिखर पुरुष भएको बताए।

उनले नेपाल संवतको ऐतिहासिक सम्बन्धित कर्म गाथा आफैँमा गरिमामय रहेको उल्लेख गरे । उनले लिञ्छविकालिन राजा बलदेवको समयमा ऋणमा डुबी आर्थिक संकटको सामना गरिरहेका तत्कालीन गरिब, किसान मजदुर जनतालाई शंखधर साख्वाःले आफ्नै सम्पत्तिबाट ऋणबाट ऋण मुक्त गरी नयाँ नेपाल स्थापना गरी नेपाल संवत् स्थापना गरेको उपलक्ष्यमा सम्वतको प्रारम्भ भएको बताए। 

उनले शंखधर साख्वाःले स्थापना गर्नुभएको लोक कल्याणकारी कार्य तत्कालीन समाजको लागि क्रान्तिकारी कदम भएको उल्लेख गरे। उनले शंखधरकोे यो कदम आजका दिन पनि सबैका लागि प्रेरणादायी रहेको बताए ।

प्रकाशित: ४ मंसिर २०८१ १७:०४ मंगलबार

#Nepal Sambat #President Ram Chandra Poudel #Shankhadhar Day