मधेस आन्दोलनको क्रममा मारिएका सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संलग्न रहेको आरोपमा देवेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता भएपछि फरार रहेका चौधरीलाई प्रहरीले सोमबार जलेश्वर नगरपालिका-१ स्थित रामानन्द विश्वेश्वर महेन्द्र (राविम) क्याम्पस परिसरबाटै पक्राउ गरेको हो।
क्याम्पसको बैठकबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलालप्रसाद जयसवारले जानकारी दिए।
२०७२ सालको मधेस आन्दोलनको वेला झडपमा परी जलेश्वरमा घाइते भएका उनलाई उपचारका लागि जनकपुर लैजाने क्रममा बाटोमा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो। उनको हत्यामा चौधरीको पनि संलग्नता रहेको भन्दै अदालतमा मुद्दा परेको थियो। अदालतमा मुद्दा परेपछि चौधरी फरार रहेका थिए।
सोमबार पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि आज अदालतमा उपस्थित गराइएको प्रवक्ता डिएसपी जयसवारले बताए।
विक हत्यामा संलग्न रहेको भन्दै जिल्ला अदालत महोत्तरीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेशसभा एवं संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएको छ।
अदालतको फैसला आएसँगै लोसपाका नेता शर्मा फरार छन् भने एमालेबाट निर्वाचित संसद् लक्ष्मी महतो कोइरी र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरलाई अदालतले सफाइ दिएको थियो।
यसअघि यहीँ मुद्दामा पक्राउ परेका पूर्वसभासद कौशलकुमार यादवलाई जिल्ला अदालत महोत्तरीले पुर्पक्षको लागि जलेश्वर कारागारमा पठाइएको छ।
प्रकाशित: ४ मंसिर २०८१ १२:३२ मंगलबार