पूर्वसभामुख दमननाथ ढुंगानाको सोमबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। ढुंगानाका छोराहरू निमेष र निशेषले दिवंगत पितालाई दागबत्ती दिए।
अन्त्येष्टिका क्रममा नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन प्रस्तुत गरेको थियो। ८३ वर्षीय ढुंगानाको कलेजोसम्बन्धी समस्याको उपचारका क्रममा आइतबार पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको थियो।
उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सानो गौचरणमा राखिएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले ढुंगानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए। पूर्वराष्ट्रपति डा. रामवरण यादव, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका विशिष्ट व्यक्तिहरूले पनि श्रद्धाञ्जली अर्पण गरेका थिए।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानाको सम्मानमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। वरिष्ठ अधिवक्ता समेत रहेका ढुंगाना २०४८ देखि २०५१ सालसम्म सभामुखको जिम्मेवारीमा थिए।
यो पनि पढ्नुहोस्
तस्बिरमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
प्रकाशित: ३ मंसिर २०८१ १५:४२ सोमबार