समाज

जुम्ला तातोपानीको गोप्थाडा गाउँ जहाँ छैन एसइई पास जनशक्ति

जुम्लाको तातोपानी गाउँपालिकाको गोप्थाडा गाउँमा एक जना पनि एसइई पास भएका व्यक्ति छैनन्। तातोपानी–२ स्थित गोप्थाडा गाउँमा २५ घरधुरी छन्। हालसम्म कोही पनि एसइई पास नभएको स्थानीय बताउँछन्। स्थानीय शेरबहादुर डाँगीका अनुसार अहिलेसम्म विभिन्न प्रयास भए पनि एसइर्ई कसैले पनि गर्न सकेका छैनन्।

स्थानीय डाँगीका अनुसार गाउँमा कक्षा ३ सम्म अध्ययन गर्ने आधारभूत विद्यालय छन्, त्यसपछि हाइस्कुल अध्ययन गर्न विद्यार्थीहरू तातोपानीको हिम शिखर मावि वा अन्य विद्यालयमा अध्ययन गर्न जान्छन्। विडम्बना ८ र ९ पढेर छोड्ने क्रम भएपछि अहिलेसम्म एक जना पनि व्यक्ति एसइई पास भएका छैनन्। गाउँमा एसइई गरेका मानिस नभएपछि गाउँका विद्यालयमा अध्यापन गराउने शिक्षक पनि अन्य गाउँका छन्।

उक्त गाउँमा स्थापना भएको कक्षा ३ सम्मको पैकेला आधारभूत विद्यालयका प्रधानाध्यापक बलबहादुर रावलले गाउँबाट अहिलेसम्म कसैले पनि एसइई पास नगरेको बताए। उनले भने, ‘तर पछिल्लो समय दुईजना विवाह गरेर अन्य गाउँबाट आएका बुहारी एसइई गरेर आएका छन्।

गोप्थाडा गाउँको विद्यालयका प्रधानाध्यापक एक जना तातोपानी–३ लाक्षु गाउँका बलबहादुर रावत हुनुहुन्छ, अर्का शिक्षक कमल रावत अनुदान शिक्षक, यसैगरी लिताकोटका निजीमा मुनबहादुर सार्की र इसिडी कक्षामा तातोपानीकी भगवती रावल हुनुहुन्छ।’

अहिलेसम्म एसइई नहुँदा स्कुलमै पनि रोजगार नपाएको डाँगीले बताए। गोप्थाडा गाउँबाट यो वर्ष भने ९ कक्षामा अध्ययन गर्ने दुई जना विद्यार्थी छन्। स्थानीयका अनुसार सो गाउँका एक विद्यार्थी महेश डाँगी तातोपानीको हिमशिखर माविमा र विष्णुमाया डाँगी जुम्ला सदरमुकामको चन्दननाथ माध्यमिक विद्यालयमा अध्ययन गरिरहेकी छन्। उक्त गाउँमा मुख्य बस्तीमा कठायत, रावल र बुढा रहेका छन्।

तातोपानी गाउँपालिका शिक्षा शाखाप्रमुख सुरतबहादुर शाहीले त्यो गाउँमा गाउँपालिकाबाट एक अभिमुखीकरण कार्यक्रम राखेर त्यहाँको अवस्था, समस्या र सुधानुपर्ने विषयमा जोड दिन सकिने बताए। उनले, ‘अभिभावक शिक्षासहितका कार्यक्रम आवश्यक छन्।’

यस्तै तातोपानी गाउँपालिका–२ का अध्यक्ष चन्द्रमान बुढाले गोप्थाबाडामा २५ घरधुरी रहेको बताए। उनले अहिले तातोपानीमा गाउँपालिकाले ट्युसन पढ्ने व्यवस्था गरिएको छ। गोप्थाबाडा गाउँमा अहिलेसम्म एसइई नगरेको स्वीकार गरे। त्यस गाउँका विद्यार्थीरू पढ्दै छोडेर भारतसमेत जाने गरेका छन्।

‘अब स्थानीय पालिकाले यस गाउँका विद्यार्थीको अवस्था बुझेर अगाडि बढ्ने छौं। अहिलेको समयमा पनि एक जना एसइई उत्तीर्ण नहुनु अचम्मको विषय छ,’ शाखाप्रमुख शाहीले बताए।

यस्तै शिक्षा विकास तथा समन्वय एकाइ जुम्लाका प्रमुख रमेश मल्लले यो अलिकति बेग्लै कुरा आएको बताए। २१औं शताब्दीमा राज्यलाई समेत चुनौती हो। अब त्यो गाउँमा अध्ययन गर्न सोच्न बाध्य भएका छौं। अब कसरी अगाडि बढ्ने सबै मिलेर अगाडि बढ्न आवश्यक। जुम्ला साक्षर घोषणाको अन्तिम तयारीको अवस्थामा यस्ता समस्याहरूलाई सामाधानको खोजीमा स्थानीय सरकार र जिल्ला लाग्नुपर्ने देखिन्छ। 

प्रकाशित: २ मंसिर २०८१ ०८:१७ आइतबार