समाज

५५ जना भन्दा बढीको आँखाको शल्यक्रिया

ताप्लेजुङको फुङलिङमा जारी शल्यक्रिया सहितको तीन दिने निःशुल्क आँखा शिविरको दोस्रो दिन सम्ममा झण्डै ५ सय जनाले आँखाको परीक्षण गराएका छन्। ५५ जना भन्दा बढीको आँखाको शल्यक्रिया गरिएको छ।

नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङका अनुसार मङ्गलवार २ सय ५५ जनाले आँखाको परीक्षण तथा उपचार गराएका छन्। सोमबार पहिलो दिन २ सय २८ जनाको आँखाको परीक्षण तथा उपचार भएका थियो। दुई दिनको अवधिमा ४ सय ८३ जनाले आँखाको परीक्षण तथा उपचार गराएका छन्। 

पहिलो दिन मोतियाबिन्दुका २८ तथा साधारण ५ गरी ३३ जनाको आँखाको शल्यक्रिया गरिएको थियो। मंगलबार यो समाचार तयार पार्दा सम्म १३ जनाको आँखाको शल्यक्रिया गरिएको छ भने १२ भन्दा बढीको शल्यक्रियाको तयारी भइरहेको छ। मुख्य आयोजक नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले राति अबेर सम्म नै शल्यक्रिया सञ्चालन गरिने जानकारी दिए। उनका अनुसार शिविर बुधवार सम्म चल्ने छ।

मेची आँखा अस्पतालका नेत्र चिकित्सक डाक्टर समिर चापागाँई नेतृत्वको टोलीले शल्यक्रिया सहितको सेवा प्रदान गरिरहेको मेची आँखा अस्पतालका आउटरिर्च अफिसर कविता कार्कीले जानकारी दिइन्। मेची आँखा अस्पताल शिविरको प्राविधिक सहयोग गर्ने निकाय हो। फुङलिङको शिविर सकिएपछि मेची आँखा अस्पतालको टोली पाँचथरको याङवरकस्थित थर्पु बजारमा जाने छ। 

त्यहाँ कात्तिक ३० र मंसिर १ गते गरी दुई दिन शल्यक्रिया सहितको निःशुल्क आँखा शिविर आयोजना गरिएको छ। सेवा फाउन्डेसन काठमाडौंसंगको सहकार्यमा आँखा शिविर सञ्चालन भइरहेको हो। शिविरका लागि हेल्पिङ हेण्ड सहयोगी संस्थाको रुपमा रहेको छ। 

प्रकाशित: २७ कार्तिक २०८१ १७:०१ मंगलबार