समाज

फेसबुकमा मृत्युको खबर पोस्ट भएपछि रसुवा बन्द

रसुवा– जिल्लाको बेत्रावतीस्थित मोर्डन ट्रिनिटी इङ्लिस बोर्डिङ स्कूलका सञ्चालक चित्रमान डंगोलको फेसबुकमा उनी मारिएको स्टाटस पोस्ट भएपछि आफन्तले रसुवा बन्द गरेका छन्। 

चैत १५ गतेदेखि बेपत्ता भएका डंगोलको फेसबुकमा हिजो राति १२ वर्षअघि भाइलाई छुरा हानेको बदला लिनका लागि मारिएको फेसबुक स्टाटस लेख्दै हत्या गरिएको एउटा फोटो पोष्ट भएको छ।

उनकै फेसबुकमा उनी मारिएको खबर प्रकाशित भएपछि उनको परिवार तथा आफन्त त्रसित भएका  हुन् । चैत १८ गते प्रहरीलाई उजुरी दिएको भएपनि प्रभावकारी रुपमा नखोजेको, हत्या भएको फोटो प्रकाशित हुँदा समेत प्रहरी प्रशासनले चासो नदिएको भन्दै रसुवा बन्द गरेका हुन्।

रसुवाको उत्तरगया गाउँपालिका–५ लहरे घर भई बेत्रावती ट्रिनिटी इङ्लिस बोर्डिङ स्कूलका सञ्चालक २९ वर्षीय डंगोल बेपत्ता भएका थिए। 

बन्दका कारण रसुवाबाट काठमाडौँ जाने र काठमाडौबाट रसुवा आउने सवारी साधन बेत्रावतीमा नै रोकिएका छन्। बेपत्ता भएका डंगोलको खोजी कार्य तिब्र बनाइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। 

खोजी कार्य जारी रहेको र बन्द खुलाउनका लागि पहल भइरहेको प्रहरी नायव उपरीक्षक सरतकुमार थापा क्षेत्रीले बताए। यही चैत १५ गते आफ्नो घर लहरेबाट स्याफ्रुबेँसीका लागि हिँडेका श्रेष्ठ सोही दिन राति १० बजे आफू स्याफ्रुबेँसी पुगेको जानकारी घरपरिवारमा गराएपछि सम्पर्कविहीन भएको उनका दाजु नेत्रमान डंगोलले बताए। 

प्रकाशित: २६ चैत्र २०७४ ०४:१९ सोमबार

फेसबुकमा मृत्युको खबर पोस्ट भएपछि रसुवा