समाज

समयमै काम सक्ने बानी राम्रो

यस्ताे पनि!

मानिसको काम गर्ने शैली र मनोविज्ञानबारे धेरै अध्ययनहरू भएका छन्। पछिल्लो एउटा अध्ययनले भन्छ, तपाईंले कुनै काम समयमा नै सक्नुहुन्छ भने तपाईंप्रति तपाईंका हाकिमको धारणा राम्रो छ। समयभन्दा पछि काम सक्ने र जतिसुकै राम्रो काम भए पनि हाकिमले खासै राम्रो नसोच्ने देखिएको छ।

धेरैजसो व्यक्तिमा लामो समय लगाउने, अन्तिम अवस्थामा प्याचअप कामहरू गर्नेहरूभन्दा समयमै काम सक्ने र प्याचअप काम नराख्ने कर्मचारीहरू हाकिमको नजरमा असल हुने गर्छन्। लामो समय लगाउने, समयमा काम नसक्ने बानीलाई धेरैजसो हाकिमले अक्षमताका रूपमा लिने गरेको अध्ययनले देखाएको छ।

‘शोधका काममा डेडलाइनको भूमिका के हुन्छ, डेलाइनमै काम सक्ने र नसक्नेबीचको फरक के र कस्तो हुन्छ भन्ने अध्ययन गर्दा हामीले के पायौँ भने जसले समयमा नै काम सक्छ, उसले अन्य कामदारप्रति पनि सकारात्मक प्रभाव पार्छ,’ युनिभर्सिटी अफ टोरन्टोमा मार्केटिङ एन्ड साइकोलजीका प्राध्यापक साम म्याग्लियोको निष्कर्ष छ।

अमेरिका र बेलायतका हजारौँ व्यवस्थापक, कार्यकारी, ह्युमन रिर्सोस म्यानेजर र अन्य कर्मचारीहरूसँगको सोधपुछपछि यो निष्कर्ष निकालिएको हो। यो निष्कर्षका लागि सहभागीहरूलाई एउटा विज्ञापन, कला, बिजनेस प्रोपोजल, प्रडक्ट पिच, तस्वीर र समाचारहरू पढ्न दिइएको थियो। त्यसपछि सहभागीहरूलाई भनियो, यो चिज जुन तपाईंलाई दिइँदैछ, त्यो तयार पार्ने व्यक्तिले समय अगावै बुझाएको थियो। अर्को यस्तै चिज दिएर समयमै बुझाइएको जानकारी दिइएको थियो भने तेस्रो समूहकाहरूलाई भने ढिला बुझाएको भनी जानकारी दिइएको थियो।

यही एउटै जानकारीलाई तीन वटा चरणमा बाँड्दा तिनै व्यक्तिहरूले बेग्लाबेग्लै क्षमता भएको बताएका थिए। समय बितिसकेपछि कुनै काम फत्ते गरी बुझाएको समूहमा पर्नेहरूमध्ये सबैभन्दा कम नम्बर पाएका थिए। त्यस्ता व्यक्ति समूहमा काम गर्न नसक्ने, अरूलाई दुःख दिने किसिमका हुने लगायतका रेटिङ दिइएको थियो। यस्तो रेटिङमा उनीहरू सबैभन्दा पछाडि परेका थिए। 

प्रकाशित: २७ कार्तिक २०८१ ०९:०९ मंगलबार