समाज

बाख्रा चोरीको विषयलाई लिएर कुटपिट गर्दा युवकको मृत्यु

बाख्रा चोरीको विषयलाई लिएर कुटपिट गर्दा कैलालीमा एक जनाको मृत्यु भएको छ।

जिल्लाको गौरीगङ्गा नगरपालिका-११ कान्तिपुर बस्ने ३० वर्षीय सुरेश भुलको कुटपिटबाट मृत्यु भएको हो। प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमबार बिहान पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६५ वर्षीय जंगे भुल, १८ वर्षीय किशोर, २३ वर्षीय विशाल विक र ३० वर्षीय धर्म विक रहेका छन्।

बाख्रा चोरी गरेको विषयमा उनीहरूले शनिबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका सुरेशको निसर्ग अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: २६ कार्तिक २०८१ १४:४४ सोमबार