समाज

बुबाकै प्रेरणाका कारण सामाजिक कार्यमा अग्रसर छु: डा. ओम मूर्ति अनिल

मुटु रोग विशेषज्ञ डा.ओम मूर्ति अनिलले आफ्नो बुबाकै प्रेरणाका कारण आफूहरू सामाजिक कार्यमा संलग्न रहँदै आएको बताएका छन्। 

शनिबार उनका बुबा स्वर्गीय तेजनारायण सिंहको दोस्रो वार्षिक पुन्यतिथिको सन्दर्भ पारेर महोत्तरीको बलवा नगरपालिका–१० धमौरामा आयोजित पाँच दिने निःशुल्क मुटु शिविरलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

जन्मभूमिको सेवा गर्न बुबाले सधैँ आफूहरूलाई हौसला दिने गरेको स्मरण गर्दै उनले बुबाको कर्म र सम्झनालाई चीरस्थायी बनाइ राख्न आफूहरू प्रतिबद्ध रहेको जनाए।

"संसारको जुनसुकै ठाउँमा पुगे पनि, जस्तोसुकै पेसा व्यवसायमा संलग्न रहे पनि आफ्नो गाउँ, आफ्नो जन्मस्थान र आफ्नो पृष्ठभूमिलाई भुल्न नहुने कुरा बुबाले सिकाउनुभएको छ। जन्म ठाउँमा आएर बिरामीको सेवा गर्न पाएकोमा प्रफुल्लित भएका छाैं।" उनले भने।

उनले हरेक पटक गाउँ आउँदा गाउँको माटोको सुगन्ध, आफन्तहरूको माया, आशीर्वादले आफूहरूलाई सदैव ऊर्जा दिइरहने बताए। "बुबाले गाउँमा घर बनाउन सुझाव दिनुभएको थियो। तत्कालीन अवस्थामा मलाई त्यो रुचीकर थिएन। बुबाको इच्छा पूरा गरिदिएजस्तो लाग्थ्यो। तर, अहिले घरकै कारण गाउँसँग जोडिरहन पाउँदा आनन्द र सन्तुष्टि प्राप्त भइरहेको छ।" उनले सुनाए।

शिविरमा ६ सयभन्दा बढीको मुटुजाँच तथा स्वर्गीय सिंहले स्थापना गरेकझ श्री जनता राष्ट्रिय माविलाई ५ लाख ११ हजार १११ रुपैयाँ आर्थिक प्रदान गरिएको छ।

स्वर्गीय तेजनारायण सिंहका छोराहरू मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिल, अभय सिंह र अजित सिंहले संयुक्त रूपमा विद्यालयमा आयोजित स्मृति सभामा शनिबार विद्यालयका प्रधानाध्यापक योगेन्द्र यादवलाई उक्त रकम हस्तान्तरण गरे।

उक्त स्मृति सभामा शिक्षा तथा समाजसेवी स्वर्गीय तेजनारायण सिंहले गाउँको शिक्षा, कृषि र स्थानीयवासीको आयआर्जन बढाउनका निम्ति पुर्‍याएको योगदानको चर्चा उनका दौँतरी तथा सहयात्रीहरूले गरेका थिए।

त्यस क्रममा सो विद्यालयमा दुई दशकसम्म प्रधानाध्यापक रहेका सुशील कुमार यादवले स्वर्गीय सिंहले ग्रामीण क्षेत्रको शैक्षिक विकासका निम्ति पुर्‍याएको योगदानको स्मरण गर्दै स्वर्गीय सिंहकै प्रेरणा र सहयोगमा आफू शिक्षा सेवामा प्रवेश गरेको उल्लेख गरे।

तत्कालीन अवस्थामा शिक्षाको सहज पहुँच नभएको स्थितिमा गाउँमा विद्यालय स्थापना गर्ने मात्रै होइन त्यसको सञ्चालन र गुणस्तरीय शिक्षा प्रदान गर्न पनि स्वर्गीय सिंह प्रतिबद्ध रहेको उनले सुनाए।

स्वर्गीय सिंहका मित्र एवम् अवकाश प्राप्त कृषि अधिकारी कामेश्वर झाले स्वर्गीय सिंहले कृषिमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याएको बारे चर्चा गरे। उनले गाउँलेको आयआर्जन बढाउन नगदेबालीको खेती गर्न, उत्पादन बढाउन कृषिको यान्त्रिकीकरण गर्नेलगायत गाउँलेको जीवनस्तर बढाउन स्वर्गीय सिंह सधैँ सक्रिय रहेको चर्चा गरे।

त्यस्तै शिक्षासेवी अमनउल्ला सेखले स्वर्गीय सिंहले आफ्नो गाउँमा मात्रै नभई छिमेकका कयौं गाउँमा पनि विद्यालय खोल्न सक्रिय रहेको उल्लेख गरे। उनका अनुसार स्वर्गीय सिंहले छिमेकका गाउँमा विद्यालय खोल्न, विद्यालयका निम्ति जग्गा दान दिन चिनजानका व्यक्तिहरूलाई प्रोत्साहित गर्ने र आफूले सम्पूर्ण कागजात मिलाइदिने गर्दथे। उनले स्वर्गीय सिंहको सहयोग र प्रेरणामा आफूले पनि केही विद्यालय स्थापना गरेको पनि सुनाए।

त्यसक्रममा विद्यालयमा प्रअ योगन्द्र यादव, शिक्षक मनोजकुमार यादवलगायतले स्वर्गीय सिंहको व्यक्तित्व र योगदानमाथि चर्चा गरेका थिए। कार्यक्रममा बलवा नगरपालिका मेयर विजय यादव, पूर्वमेयर विनोद यादव, वडा नम्बर १० का वडा अध्यक्ष राजकुमार यादव, स्थानीय समाजसेवीहरु नवलकिशोर यादव, रामचन्द्र यादव, रामईश्वर मण्डल, आमोद यादवलगायतले स्वर्गीय सिंहको तस्बिरमा माल्र्यापण गरी श्रद्धाञ्जली व्यक्त गरे।

शिक्षा तथा समाजसेवी स्वर्गीय तेजनारायण सिंहले वि.सं. २०२७ सालमा आफ्नै जग्गामा विद्यालय स्थापना गरी तीन दशकसम्म व्यवस्थापनको जिम्मेवारीसमेत निर्वाह गरेका थिए। विद्यालय सञ्चालनका लागि स्वर्गीय सिंहले १६ बिघा जग्गा पनि दान दिएका थिए।

सिंहले विद्यालय स्थापना मात्रै नगरी त्यसलाई दिगो बनाउन स्रोत साधन जुटाउने, कुशल शिक्षक खोज्ने, शिक्षकहरूको पारिश्रमिक सुनिश्चित गर्ने, विद्यालयको पठनपाठनलाई व्यवस्थित गर्ने, खेलकुद प्रतियोगिता र अन्य अतिरिक्त क्रियाकलाप गराउने लगायतका कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

हाल प्राविधिक तथा व्यावसायिक शिक्षासमेत अध्यापन गराइने उक्त विद्यालयमा वार्षिक २ हजार विद्यार्थीले पठनपाठन गर्दै आएका छन्। जसमध्ये न्यून आय भएका तथा सीमान्तकृत समुदायका बालबालिकाको संख्या उल्लेख्य रहेको छ।

तत्कालीन अवस्थामा त्यस क्षेत्रकै उच्च शिक्षा प्राप्त (स्नातक) स्वर्गीय सिंहले सहरमा बसेर अवसर नखोजी गाउँको शैक्षिक विकास, कृषिमा आधुनिकीकरण र साना किसानको आर्थिक स्तर वृद्धिमा सक्रिय रहँदै भएको थियो।

स्वर्गीय सिंहको पुन्यतिथीको सन्दर्भमा डा. ओम फाउन्डेसनले धमौरामा पाँच दिनसम्म निःशुल्क मुटु स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। त्यसक्रममा ६ सयभन्दा बढीको ईको, ईसीजी, सुगर प्रेसरलगायतका जाँच गरी एक महिनासम्मका लागि आवश्यक औषधिसमेत निःशुल्क प्रदान गरिएको थियो।  

मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलको नेतृत्वमा स्थापित उक्त फाउन्डेसनले स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका निम्ति कार्य गर्दै आएको छ। उनले बुबा स्वर्गीय तेज नारायण सिंहसँगको सामिप्यता, आमाबुबाप्रतिको समर्पण भाव, पारिवारिक सम्बन्धका बारेमा लेखेको पुस्तक जीवन्त सम्बन्ध ३० हजारभन्दा बढी प्रति बिक्री भएको छ।

सो पुस्तकको बिक्रीबाट प्राप्त रकम फाउन्डेसनमार्फत् स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका क्षेत्रमा खर्च गर्दै आएका छन्।

प्रकाशित: २५ कार्तिक २०८१ १९:३७ आइतबार