समाज

सामाचकेवा पर्वले आदर्श समाज निर्माण गर्नेछ: मुख्यमन्त्री सिंह

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सामाचकेवा पर्वले आदर्श समाज निर्माण गर्ने बताएका छन्।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोषद्वारा जनकपुरधाममा आयोजित सामाचकेवा मूर्तिकला निर्माण कार्यशालाको आइतबार उद्घाटन गर्दै उनले यस्तो कुरा बताएका हुन।

मुख्यमन्त्री सिंहले मधेसका पर्व तिहारले सामाजिक सम्बन्धलाई सुदृढ बनाउन तथा नयाँ पुस्तामा आत्मानुशासन तथा समूहबद्ध भएर काम गर्ने संस्कार र चेतना दिनुका साथै असल जीवनशैलीको अभ्यासका लागि प्रेरित गर्ने गरेको बताए।

मुख्यमन्त्री सिंहले सामाचकेवा पर्वले भाइबहिनीबिचको स्नेहलाई प्रकट मात्र गर्ने नभएर टोल छिमेकसँगको कसिलो र सार्थक सम्बन्ध र त्यसबाट सकारात्मक परिणाम खोज्ने रीति रहेको भन्दै पर्वका क्रममा उधिन्ने विषयवस्तु, परिवेश र पात्रहरूले आदर्श समाज निर्माणको परिकल्पना गरेको स्पष्ट पारे।

सबै चाडपर्वका पछाडि आध्यात्मिक, वैज्ञानिक र भौतिक चेतनासँग जोडिएका मूल्य,मान्यता रहेको प्रस्ट पार्दै सांस्कृतिक तथा परम्परागत पर्व तिहारको प्रवद्र्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे। उनले सामाचकेवाका पात्रहरूको परिचय र महत्वसहितको आधिकारिक विवरण समेटिएको श्रव्य दृश्य निर्माण गर्न सञ्चारकर्मीहरूसँग आग्रह गरे।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीले अनुसन्धान, सिर्जना र सम्मान गर्ने उद्देश्यले सामाचकेवा सम्बन्धी कार्यशाला आयोजना गरिएको भन्दै मूर्तिकलामा निर्पूणताबाट जीविकोपार्जनको अवसर जुर्न सक्ने उनले बताए। उनले कार्यविधिबाट नभएर ऐनबाटै मधेसमा प्रज्ञा प्रतिष्ठान गठन गर्न सुझाव पनि दिए। 

प्रकाशित: २५ कार्तिक २०८१ १९:२१ आइतबार

#Chief Minister Satish Kumar Singh #Samachkewa festival