समाज

विवाहपञ्चमीमा अयोध्याबाट ५ सय बढी जन्ती जनकपुरधाम आउने

.

विवाहपञ्चमी महोत्सवका लागि भारतको अयोध्याबाट पाँच सय बढी जन्ती जनकपुरधाम आउने भएका छन्।

आइतबार विवाह पञ्चमी महोत्सव तयारीका क्रममा जानकी मन्दिरमा सर्वपक्षिय बैठकमा सो जानकारी गराइएको हो।

विवाहपञ्चमी महोत्सवबारे जानकारी दिँदै जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव मनाउन लागिएको र जनकपुरमा १७ गते अयोध्याबाट जन्ती आउने र २२ गतेसम्म जनकपुरमा बस्ने बताए।

उनले जन्तीको स्वागतमा जनकपुरवासीले कुनै कमी नराख्ने उल्लेख गरे। अयोध्याबाट आउने जन्तीको भव्य र सभ्य स्वागत गर्ने उनको भनाइ थियो।

उनले भने, ‘यसपालि विवाहपञ्चमी महामहोत्सवमा विगतको पाँच वर्षपछि यस वर्ष पनि विवाहमहोत्सवमा विधिवत जन्ती आउने कार्यक्रमहरु छ। यो २०६१ सालदेखि सुरु भएको हो। जसमा पाँच सयको हाराहारिमा जन्ती विभिन्न ठाउँमा बास बस्दै आउनु हुनेछ। जनकपुरमा १७ गते प्रवेश गर्नुहुन्छ। १८,१९,२०,२१ र २२ गतेसम्म जनकपुरमा उहाँहरु बस्नुहुन्छ। र जनकपुरवासीहरु स्वागतमा सम्पूर्ण तयारी गरिरहेका छौं। सात दिवसीय कार्यक्रम रहेको छ। रामायणकालीन विवाह अवलोकन गराउँछौं। भव्य र सभ्य स्वागतमा हामी कुनै कमी गर्दैनौं।’

विवाहपञ्चमी महोत्सवका लागि जनकपुरधाममा तयारी तीब्र बनाइएको छ। विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री राजेन्द्र सिंह पंकज, रामजन्म भूमि तीर्थ क्षेत्र ट्रष्टका चम्पत राय लगायतका व्यक्ति जन्तीमा सहभागी भएर आउन लागेको महन्थ दासले जानकारी दिए।

अयोध्याबाट जन्तीको अगुवाइ राम मन्दिर ट्रष्टका सचिव चम्पत रायले गर्ने बताइएको छ। जन्तीमा मनिराम छाउनीका उत्तराधिकारी महन्त कमलनयन दास, ऋषिकेषका महन्त डा. रामेश्वर दास, दिगम्बर अखाडाका महन्त, सतुवा बाबाको आश्रमका मुख्यमहन्तलगायत पाँच सय बढीको सहभागिता रहने बताइएको छ।

—न्युज एजेन्सी नेपाल

प्रकाशित: २५ कार्तिक २०८१ १८:५० आइतबार