समाज

सुभेक्क्षाको पूरा भयो एमबिबिएस पढ्ने सपना

इटहरीका मेयर हेमकर्ण पौडेल सुभेक्क्षा खत्रीलाई सम्मानसँगै नगद रकम हस्तान्तरण गर्दै। तस्बिर: नागरिक

इटहरी उपमहानगरपालिका वडा नं. १० की सुभेक्क्षा खत्रीको परिवार ऐलानी जग्गामा बसोबास गर्छ। उनको परिवारलाई बिहान–बेलुकाको गर्जो टार्न पनि धौ–धौ हुने गर्छ। उनको परिवारले सात वर्षअघि आएको बाढीले पु¥याएको क्षति बिर्सिएकै छैन।

बर्खा लागेसँगै उनको परिवार त्राहीमाम हुने गरेको छ। किन कि ७४ सालमा आएको बाढी र ७८ कार्तिक बेमौसमी बाढीले उनी बसेको गाउँ तहसनहस पारेको थियो। बस्न र खानकै चिन्ताले पिरोल्ने सुभेक्क्षाले यस वर्ष छात्रवृत्ति कोटामा एमबिबिएस अध्ययनका लागि नाम निकालिन्।

तर, घरको आर्थिक अवस्थाले उनको सपना पुरा हुने अवस्था भएन्। स्थानीय राजनीतिक दलका नेताले उनलाई इटहरी उपमहानगरपालिकामा निवेदन दिन सुल्झाए। उनले निवेदन पेस गरिन्। अन्ततः उनले एमबिबिएस अध्ययन गर्ने सपना पूरा हुनेमा पूर्ण आसावादी छन्।

घरदैलोको सरकार मानिएको स्थानीय सरकारसँग उनको आसा पलाएको हो। उनलाई एमबिबिएस अध्ययन गर्न इटहरीका मेयर हेमकर्ण पौडेलले व्यक्तिगत रुपमा ५१ हजार सहयोग हस्तान्तरण गरी सकेका छन्। पौडेलले बिहीबार छठ पर्वको उद्घाटनका क्रममा सुभेक्क्षालाई रकम हस्तान्तरण गरेका हुन्। सो क्रममा छठ पूजा आयोजक समितिले सुभेक्क्षालाई सम्मान पनि गरियो।

मेयर पौडेलले अब कार्यपालिका बैठकबाट छात्रवृत्ति कोटामा एमबिबिएस अध्ययनका लागि आवश्यक पर्ने १५ लाख लाख रुपैयाँ पनि सुभेक्क्षालाई निर्णय गरेर प्रदान गर्ने घोषणा गरेका छन्। ‘एउटा भूमिहीन सुकुम्बासी परिवारको छोरीलाई एमबिबिएस अध्ययन गर्ने अवसरबाट स्थानीय सरकारले सुनिश्चित गर्छ,’ उनले भने, ‘कार्यपालिका बैठकबाट सुभेक्क्षाको पढाई खर्च वेर्होने निर्णय गर्छ।’

इटहरी उपमहानगरपालिकाले बिहीबार सम्पूर्ण पढाई खर्च वेर्होने घोषणा गरेसँगै शुक्रबार उनी काठमाडौं गएकी छन्। ‘मैले छात्रवृत्ति कोटामा नाम निकालेर पनि घरको अवस्थाले गर्दा नपढ्ने टुंगो लागि सकेको थियो। तर, इटहरी उपमहानगरपालिकाले जुन सहयोग गर्ने घोषणासँगै अब मेरो सपना पुरा हुने भएको छ।’ उनले अध्ययन पूरा गरेर आफूजस्तो गरिब र दुःखीको सेवामा समर्पित हुने बताइन्।

सुभेक्क्षा कक्षा ५ सम्म स्थानीय ज्ञानोदय आधारभूत विद्यालयमा अध्ययन गरेकी थिइन्। उनले सुरुवातमा कक्षा १ बाट कक्षा २ मा उत्तीर्ण हुँदा चौथो भएकी थिइन्। त्यसपछि उनले त्यो विद्यालयमा पढ्दा र थप अध्ययनका लागि सरस्वती सतन माध्यमिक विद्यालयमा हुँदा सधैैभरी प्रथम भइन्। कक्षा ११ र १२ मा सुष्मा गोदावरी कलेजमा छात्रवृत्ति कोटामै विज्ञान समूहबाट अध्ययन पूरा गरिन्। उनी १२ उत्तीर्ण हुँदा कलेजभरिबाट उत्कृष्ट तेस्रोमा परेकी थिइन्।

सुभेक्क्षाका बाबु सुरेन्द्र खत्री स्थानीय फर्निचर उद्योगमा काम गरेर परिवारको गर्जो टार्छन्। आमा भने घरायसी कामसँगै केही बाख्रा पालेर परिवारको गर्जो टार्नमा श्रीमान्लाई सहयोग गर्ने गर्छिन्। सुभेक्क्षा र उनको भाइ पढाइमा सानैदेखि तेजिला हुन्। भाइ साजीलाल माध्यमिक विद्यालयमा तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ अध्ययन गर्छन्।

प्रकाशित: २३ कार्तिक २०८१ १७:२१ शुक्रबार