समाज

जरुवा जोगाउन पाँचथरबासीमा छैन चासो

पाँचथरमा पिउनेपानीको चरम अभावले नयाँनयाँ समस्या निम्त्याइरहेको छ। सुक्खा क्षेत्र घोषणा गरिएको ठाउँमा मात्रै हैन समस्या नभएका भनिएका क्षेत्रमा पनि पछिल्लो समय पिउने पानीको संकट देखिन थालेको छ। ठुला आयोजना बन्न थालेपछि जरुवाको संरक्षण नहुँदा नजिकैको मुहान पनि हराउने र टाढाको पानी पनि नियमित नहुने हुँदा समस्या बल्झँदो छ।

फालेलुङ १ को हिटी धाराले ६ वर्ष पहिला आसपासका ५० परिवारलाई पानी पुगेको थियो। अहिले घरघरमा पानी आयो। हिटीलाई सबैले बिर्सिए। घरघरमा आएको पानी भरपर्दो छैन। हप्तौसम्म बिग्रन्छ। नजिकै रहेको हिटी जोगाएको भए पानीको यो संकट नहुने रहेछ भन्नेमा स्थानीय पुगेका छन्। संरक्षणका नाममा मुहानमा सिमेण्ट प्रयोग गरिएपछि भएको अलिअलि पानी नै हराएको स्थानीय शिवकुमार एकतेनले बताए।

हिलिहाङ ६ को खुट्टे धारा तीन पुस्तादेखि स्थानीयले पानी खाने धारा हो। तीन गाउँका सय परिवारलाई पुगेको पानी अहिले मुस्किलले एक दुई घरका लागि छ। हजुरबुवाले बनाएको धाराको त्यो बेलाको प्रयोग अहिले कथा जस्तो भएको स्थानीय श्रीप्रसाद रिजाल बताउँछन्।

 पहिला पुरै गाउँलाई पुग्ने मुहान के कारण हरायो कसैले खोजी गर्दैन। जस्लाई सोधे पनि जलवायु परिवर्तनको असर भन्छन्, त्यो के हो उति जानकारी पनि छैन, उनले भने।

सोही ठाउँको कुवापानी मुहान गाउँमै चर्चित मुहान हो। कुनै समय कुवापानीमा त्यतिका पानी आउँथ्यो भन्दा पत्याउने अवस्था छैन। कुवापानी मुहानको संरक्षण गरिदिन स्थानीयले माग गरिरहेका छन्। तर सोही गाउँमा ठुला आयोजनाबाट पानी ल्याउने भन्दै तम्सिएका जनप्रतिनिधिले सुन्छन् न त अरू कसैले।

एउटा गाउँमा कम्तीमा १० मुहान सुकिसकेका छन्। केहीमा तिरतिरे धारा अझै छ। ठुला आयोजनाको पानीमा स्थानीयलाई विश्वासै छैन। ठुला आयोजना भरपर्दो नहुँदा जरुवा संरक्षण गर्नुपर्ने अवस्था छ। सडक, भवनसहितका पुर्वाधार निर्माणपछि समस्यामा परेका जरुवा मुहानको संरक्षणमा स्थानीय तहको पनि चासो देखिँदैन।

स्थानीय तह जरुवा संरक्षणभन्दा पनि नयाँ आयोजना थप गर्नेमा केन्द्रित छन्। जरुवा मासिनुमा जलवायु परिवर्तनको असर मुख्य मानिन्छ तर अध्ययन भने छैन।

जिल्लामा कुम्मायक सहितका केही स्थानीय तहले गाडी नै गरिद गरेर स्थानीयलाई पानी बाँडे पनि त्यो योजना दीर्घकालीन बन्न सकेन।

ठुला आयोजना भित्र्याएर खानेपानी पुर्याउने चुनावी नारा लागिरहन्छ। त्यस्तै नारा हो भारपा सुभाङका लागि ल्याइने भनिएको बृहत खानेपानी आयोजना। करिब २० वर्षदेखि थन्किएको साँचेखोला खानेपानी आयोजनाको कथा झनै बिरक्तलाग्दो बन्दै गएको छ।  

प्रकाशित: २३ कार्तिक २०८१ १२:२० शुक्रबार