रोजगारीका लागि भारतमा काम गर्दै आएका दैलेखस्थित बिर्खबहादुर शाही असोज अन्तिम साता दसैंतिहार मनाउन घर फर्किए। हर्षोल्लासका साथ घरपरिवारसँग उनले दसैंतिहार पनि मनाए। तर, घर व्यवहार चलाउन लागेको ऋण तिर्न र परिवारको पालनपोषणका लागि मुम्बई पुगेका उनी दसैंतिहार मनाएर एक महिना नहुँदै पुनः रोजगारीका लागि सोही ठाउँ फर्किएका छन्।
गाउँमा प्रशस्त रोजगारीको अवस्था सिर्जना नहुँदा र पुर्खौली सम्पत्तिबाट मात्रै परिवार हुर्काउन समस्या भएपछि उनी बुधबार नेपाल–भारत सीमा क्षेत्र नेपालगन्ज–१५, जमुनाहबाट परदेश (भारत) गए। नेपालीको मुख्य चाडपर्व दसैँ र तिहार सकिए लगत्तै रोजगारीका लागि भारतका विभिन्न सहर र ठाउँमा पुगेर घर फर्किएकाहरू पुनः परदेश फर्किन थालेका छन्।
मुलुकमा संघीय संरचना अनुसार गाउँ गाउँमा सिंहदरबार पुगेपछि घर व्यवहार चलाउनसम्म रोजगारी पाइन्छ भन्ने आशामा रहेका पश्चिमका मजदुर वर्गहरूको पहिलाकै नियति दोहोरिएको छ। अर्थात्, उनीहरुका लागि अहिले पनि गाउँमा रोजगारीका अवसर सिर्जना भएका छैनन् र घर व्यवहार चलाउनकै लागि परिवारबाट बिछोडिएर परदेशमा पसिना बगाउनु पर्ने बाध्यता कायमै छ।
‘गाउँमा रोजगारी सिर्जना भएको भए अर्काको देशमा श्रम गर्नुपर्ने रहर थिएन,’ बुधबार रोजगारीका लागि भारत जान लागेका उत्तरकुमार बिकले भने, ‘गाउँमा काम पाइँदैन। ऋण निकालेर मात्र कति दिनसम्म घर खर्च चलाउने।’ गाउँमा बस्दा उल्टै ऋण मात्र लाग्ने हुँदा रोजगारी खोज्न भारतीय सहर जानुपर्ने बाध्यता रहेको उनी बताउँछन्।
आइते कामी पनि भारतको नयाँ दिल्लीमा मजदुरी गर्छन्। दसैँ तिहारका लागि नयाँ कपडा, केही पैसा लिएर असोज २० गते घर फर्किएका उनी पनि कामको खोजीमा भारत पसिसकेका छन्। सानै उमेरदेखि भारतका विभिन्न ठाउँमा जान थालेका उनी अहिले ४५ वर्षको उमेर हुँदासम्म भारत जानुपर्ने नियति उनले भोगिरहनु परेको छ। पहिला जाने गरे पनि यसपालि कस्तो काम पाइन्छ भन्ने कुराले भने उनलाई मनभरि पिरोलेको छ।
‘घरपरिवारसँग लामो समयसम्म बस्न पाएन,’ उनी भन्छन्, ‘अर्को कुरा, भारत जाँदा पहिलाकै काम पाइने कुरामा म विश्वस्त छैन । काम पाइन्छ, पाइँदैन । पाए पनि कस्तो काम पाइने हो, चिन्तामा छु।’ यसभन्दा अघिका काम सकेर फर्किएका उनी यसपालि नयाँ ठाउँमा कामको खोजी पर्ने बाध्यता छ।
‘महिनामा मुस्किलले एक हप्ता जति काम पाइन्छ,’ अर्घाखाँचीका जीवन भुषालले भने, ‘सात दिन काम गरेको पैसाले के खाने र बिरामी हुँदा औषधि उपचार कसरी गर्ने।’ गाउँमा रोजगारीका अवसर नहुँदा पनि परदेशी पर्ने बाध्यता आएको उनी बताउँछन्।
दसैंतिहार जस्ता ठूला पर्व मनाउन आएका परदेशीको उपस्थितिले बढेको गाउँको चहलपहलमा सामान्य कमी आउन थालेको छ। कामका लागि भारतीय भूमिमा फर्किनेको संख्या केही दिनयाबाट सुरु भएको छ। यो सुरुवाती चरणसँगै अब दैनिक रुपमा यो संख्या बढ्दै जाने छ। दसैँ तिहार मनाउन आएका केही परदेशी घरमा बाली ढलाएर र बाली लगाउँदासम्म पनि बस्ने गर्छन्। बाली भित्र्याएपछि उनीहरूको रोजगारीको गन्तव्य नै त्यही परदेश हो।
पश्चिमका रुकुम पश्चिम, जुम्ला, कालिकोट, जाजरकोट, सल्यान, रोल्पा, रुकुम पूर्व, गुल्मी, प्युठानलगायतका जिल्लाका अधिकांश मजदुर रोजगारीका लागि भारत जान्छन्। उनीहरुले कमाएर ल्याएको रकमले देशको अर्थतन्त्रलाई समेत सघाउन पु¥याउँदै आएको छ।
प्रकाशित: २२ कार्तिक २०८१ १७:१२ बिहीबार