समाज

काठमाडौंका नदी तथा पोखरीकिनारमा छठको रौनक

छठ पर्व सुरु भएसँगै काठमाडौं, कालिमाटी टंकेश्वरस्थित विष्णुमति नदी, थापाथली, पशुपति क्षेत्र, गौरीघाँटलगायत बागमतीकिनार तथा विभिन्न स्थानमा रहेका पोखरीपरिसर सजिन थालेका छन्। साथै यी क्षेत्रमा सरसफाइ र सजावट गर्ने काम सुरु भएको छ ।

सूर्यको उपासनासँग सम्बन्धित छठ पर्व मंगलबारदेखि सुरु भएको छ। छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल चौथीका दिनदेखि सुरु हुन्छ। अत्यन्तै श्रद्धा र निष्ठाका साथ नेपालका तराई क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं, पोखरालगायत क्षेत्रमा समेत मनाउन थालिएको छ।  

हाल नेपाल र भारतका विभिन्न क्षेत्रमा मनाइने यो पर्व विश्वमै प्रख्यात भइरहेको छ।अमेरिका, क्यानाडा, अस्ट्रेलियालगायत देशमा बस्ने हिन्दु धर्मावलम्बीहरूले उल्लासका साथ मनाउने गर्दछन्। बुधबार खरना पूजा गरी ‘रसिआव’ रोटी प्रसाद खाएर छठ परमेश्वरीको पहिलो पूजा सुरु हुँदै छ ।

कात्तिक शुक्ल चौथीका दिन नहाय खाय (नुहाएर चोखो भई शुद्ध शाकाहारी भोजन गर्ने) गरिन्छ। पञ्चाङअनुसार मंगलबार नहाय खाय गरी सुरु भएको छठको बुधबार खरना पूजा हुँदै छ। यस दिन व्रतालुहरू स्नान गरेर दिनभरि उपवास बसी आत्मशुद्धि गर्छन्। पञ्चमीका दिन व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सक्खरको खिर पकाई प्रसादको रूपमा व्रतालुले खाने र परिवारका सदस्यहरूलाई प्रसाद दिने गर्छन्।  

पुत्र, पति र परिवारको दीर्घायु, सुख र समृद्धिको कामनाका लागि मनाइने छठ पर्व नदी, तलाउ, पोखरीकिनारमा परिवारका सबै सदस्य तथा समूहमा मनाइने भएकाले यसले सामाजिक सद्भावसमेत कायम राख्ने छठ व्रतालु बेबी गुप्ताले बताइन् ।

यो वर्ष बिहीबार अर्थात् कात्तिक षष्ठीका दिन साँझिया घाट अर्थात् अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन परेको छ। यस दिन व्रतालुहरू अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माईको पूजाआजा गरी मनाउँछन्। शुक्रबार सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पूजा सम्पन्न हुन्छ ।

व्रतालु सुनिता साहका अनुसार व्रतमा शुद्धाशुद्धिको धेरै विचार गर्नुपर्ने भएकाले कहीँकतै अशुद्ध नहोस् भन्नेमा निकै सजग हुनुपर्छ। ‘परिवारका सदस्य एकै ठाउँमा बसेर चोखो खाना खाएर निराहार व्रत बसेर खुसीसाथ मनाउँछौं,’ सुनिताले भनिन्, ‘मेरो परिवारका केही सदस्य विदेशमा बस्नुहुन्छ। तर पूजाका लागि घर आउनुभएको छ। मलाई त छठ पर्व पारिवारिक मिलनको पर्व लाग्छ,’ उनले थपिन्, ‘पूजालाई आवश्यक पर्ने मुख्य प्रसाद ठेकुवा, पुरी, कसार, भुसुवा मेरा पति र ससुराले पनि पकाउन सहयोग गर्नुहुन्छ। उहाँहरू पनि शुद्धतामा निकै सजग हुनुहुन्छ। व्रतालु मात्र नभएर सबै सदस्यहरू चोखो हुन्छौं। छठ मात्र यस्तो पर्व हो पहाडी, मधेसी, हिन्दु, मुस्लिम सबैले व्रत बसी मनाउँछन् ।’ पौराणिक मान्यता अनुसार षष्ठी माताले सन्तानको रक्षा गर्नुका साथै उनीहरूलाई स्वास्थ्य र दीघार्यु बनाउँछिन्। यस अवसरमा सूर्यदेवका श्रीमतीहरू उषा र प्रत्युषालाई पनि अर्घ्य दिएर प्रसन्न बनाइन्छ ।

सृष्टिको सुरुवातदेखि नै सूर्यको उपासना गरिँदै आएको पाइन्छ। अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसंग उल्लेख छ। चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको महाभारतमा उल्लेख छ। यो व्रत गरे कुष्ठरोग, चर्म रोगलगायत विभिन्न रोगव्याधि निको हुने धार्मिक मान्यता छ ।

प्रकाशित: २१ कार्तिक २०८१ ०९:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App