समाज

छठ पर्व विधिवत रुपमा सुरु, आज नहाय खाए

तराई मधेशको सबैभन्दा ठूलो आस्थाको पर्व छठ आजदेखि विधिवत रुपमा सुरु भएको छ।

चार दिनसम्म मनाइने छठको पहिलो दिन आज जीउ शुद्ध गर्न नुहाउने दिन, जसलाई ‘नहाय–खाए’ भनिन्छ।

आज जनकपुरसहित तराई मधेशमा छठ पर्व मनाउने व्रतालुहरूले नुहाएर खाने गर्छन्, जसलाई चोखो खाने दिन भनिन्छ। आजको दिनलाई छठ पर्वको सुरुवातको दिनको रुपमा लिइन्छ। आज छठको व्रत गर्नेहरूले नुहाएर कोदो, मसुरीको दाल, प्याज लसुन लगायतका खाद्यान्न छठ सम्पन्न नभएसम्म छुँदैनन्।

त्यस्तै छठको दोस्रो दिन खरना मनाइन्छ। छठ पर्वको खरना अर्थात् बुधबार दिनभर व्रतालुहरू उपवास रही रातीमा गुड राखेर ‘खीर’ बनाएर देउतालाई चढाउँछन् र प्रसादको रुपमा खिर खाने गर्छन्। यस दिन केरा, मुला, चिनीको लड्डु पनि प्रसादको रुपमा चढाउने गरिन्छ र परिवारका सबै सदस्यहरूले ग्रहण गर्ने परम्परा रहेको छ।

त्यस्तै छठको मुख्य दिन बिहीबार साँझ अस्ताउँदै सूर्यलाई अर्घ दिइन्छ भने त्यसको भोलि पल्ट शुक्रबार बिहान उदाउँदै सूर्यलाई अर्घ दिएर छठ पर्वको विधिवत रुपमा समापन गरिन्छ।

बिहानको अर्घ दिइसके पछि व्रतालुहरूले प्रसाद ग्रहण गरी आफ्नो उपवास तोड्छन् जसलाई ‘पारन’ भनिन्छ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ। त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारका मिठाई तथा फलफूल आदि सूर्यलाई अघ्र्यको रुपमा चढाउने गरिन्छ।

अघ्र्य दिन ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन्। छठ पर्वमा सूर्यलाई अघ्र्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ।

छठ पर्वका लागि तलाउ, पोखरी, नदी र खोला किनारहरु सफा गरेर सजाउन थालिएको छ। खासगरी जनकपुरको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुषसागर, अंगराजसर, दशरथ तलाउ लगायतको पोखरीहरूलाई सजाएर झकिझकाउ बनाइएको छ।

त्यस्तै महोत्तरी, सिरहा, सप्तरी, पर्सा, रौतहट र सर्लाही लगायतका जिल्लामा पनि विभिन्न पोखरी, तालतलाउ र नदी किनारमा छठ घाट बनाउने र सजाउने काम तीव्र गतिमा भइरहेको छ।

अहिले गाउँघर, सहर बजार, गल्लीमा गुञ्जिरहेको छठपर्वका सुमधुर गीत र भजनले मिथिलाञ्चल लगायत तराई मधेश नै छठमय बनेको छ।

छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिइन्छ। पहिले तराईका बासिन्दाले मात्रै मनाउने छठ पर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन्।

प्रकाशित: २० कार्तिक २०८१ ०६:४२ मंगलबार

#Chhath