सर्लाहीको बरहथवा बजारमा शुक्रबार राति भएको भीषण आगलागीबाट करोडौं मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ। स्थानीय किसुन दासको घरमा सञ्चालित एक पसबाट सुरु भएको आगोले सोही घरमा भएका अन्य पसल समेत जलेका छन्।
आगलागीबाट नरेश साहले सञ्चालन गरेको राजवीर होलसेल किराना पसल, विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने टेलरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।
बरहथवाका डिएसपी गौतम थापाका अनुसार आगलागीबाट करिब पौने तीन करोड रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको छ।नरेश साहको किराना पसलमा चाडपर्वका लागि धेरै सामग्री गोदाम गरेर राखिएकाले आगलागीबाट सोही पसलमा सबै भन्दा बढी क्षति पुगेको छ। पसलमा सल्किएको आगो नियन्त्रण गर्न २ घण्टा बढी समय लागेको थियो।
राति ११ः३० बजेतिर सुरु भएको आगलागी शनिबार बिहान २ बजेतिर मात्रै नियन्त्रणमा आएको डिएसपी थापाले बताए। स्थानीय वासिन्दा, सुरक्षाकर्मी र हरिवन नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगो समयमै नियन्त्रणमा लिन सकिएकाले थप पसल तथा घरहमा क्षति हुन नपाएको स्थानीयले बताएका छन्।
प्रकाशित: १७ कार्तिक २०८१ ०९:५० शनिबार