समाज

नेपाली सेनाको ‘नेपालटार–उदयपुरगढी पदयात्रा’

पुरानो गढी पुगेको पदयात्रा टोली । तस्विरः महेश्वर

नेपाली सेनाले जिल्लाको पुरानो सदरमुकाम ऐतिहासिक तथा पर्यटकीय स्थल उदयपुरगढीको महत्व दर्साउन ९ किलोमिटर लामो पैदल यात्रा (पदयात्रा) सम्पन्न गरेको छ। उदयपुरगढी गाउँपालिका ५ स्थित ऐतिहासिक स्थलको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले सदरमुकाम गाईघाटस्थित नेपाली सेनाको पशुपतिप्रसाद गणले पदयात्रा आयोजना गरेको हो।

गाईघाटदेखि २९ किलोमिटर पश्चिम नेपालटार सम्म सवारी साधनमार्फत पुगेको पदयात्रा टोली उदयपुर गढीकै ६ नंं वडा नेपालटार देखि उदयपुरगढीसम्मको ९ किलोमिटर दूरी पैदल यात्रा गरेको हो। नेपालटार देखि उदयपुर गढीसम्म जोडिने उकालो पहाडी भेगको ८ किलोमिटर पार गरेपछि गाउँपालिका केन्द्र पुगिन्छ।

गाउँपालिका कन्दैदेखि १ किलोमिटर पश्चिममा उदयपुरगढीको पुरानो गढी रहेको छ । त्यहाँको पुरानो गढीलाई गाउँपालिकाले पुनरसंंरचना गर्ने काम लगभग अन्तिम चरणमा पु¥याएको छ। गाउँपालिकाले सङ्घीय पर्यटन मन्त्रालय र प्रदेश सरकारसँगको साझेदारीमा गढी क्षेत्रको पुनर्संरचना गर्ने काम गरिरहेको हो।

गणपति प्रमुख सेनानी शिवप्रसाद वाग्लेका अनुसार देशका विभिन्न ऐतिहासिक तथा सामरिक महत्वका स्थलहरूको पदयात्रा गर्ने सेनाको योजना अनुसार पदयात्रा आयोजना गरिएको हो। कर्णेल वाग्लेले एकीकरण पदमार्ग तथा किनलक पदमार्गहरूमा पदयात्रा गर्ने कार्यक्रम नेपाली सेनाको नीति तथा कार्यक्रममै समावेश गरिएको हुन्छ।

सोही योजना अनुसार ऐतिहासिक, पुरातात्विक र सामरिक महत्वको क्षेत्र भएकाले उदयपुरगढी पदयात्रा गरिएको हो । यसले ऐतिहासिक स्थलहरूको संरक्षण र संवर्द्धन गर्न मद्दत पुग्ने उनी बताउँछन्। यो पदयात्राले गढी क्षेत्रको पर्यटन विकास र संवर्द्धनमा टेवा पु¥याउने अपेक्षा गरिएको पनि गणपति वाग्लेले बताए।

पदयात्रा टोलीमा नेपाली सेनाको नं. १८ बाहिनी भुल्केका बाहिनी पति सहायक रथी गौरव गुरुङ, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे,जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ योगी, सशस्त्र प्रहरी प्रमुख एसपी सरोजसिंह बस्नेत, राष्ट्रिय अनुसन्धान कार्यालय प्रमुख उपनिर्देशकलगायत ५ दर्जन बढी सुरक्षाकर्मी र सरोकारवालाहरू सहभागी थिए।

पदयात्रा गर्दै गढी पुगेको टोलीलाई गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर, उपाध्यक्ष जीतबहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईँलगायतले स्वागत गरे।

टोलीलाई स्वागत गर्दै अध्यक्ष मगरले गढी क्षेत्र उदयपुरगढी गाउँपालिकाको मात्र नभएर सिङ्गो जिल्लाकै ऐतिहासिक, सामरिक तथा पर्यटकीय महत्वको साझा थलो भएको भन्दै यसको विकास र संबद्र्धनमा सबैबाट सहयोगको अपेक्षा गरेको बताए।अध्यक्ष मगरले तेह्रौँ–चौधौ शताब्दीतिर उदयचन्द्र नाम गरेका सेन वंशी राजाले शासन गरेकाले जिल्लाको नाम ‘उदयपुर’ रहन गएको इतिहास पनि सुनाए।

गाईघाटमा सार्नुअघि २०२९ सालसम्म जिल्ला सदरमुकाम रहेको हुनाले पनि उदयपुरगढीको इतिहास छुट्टै महत्वको रहेको अध्यक्ष मगरले बताए । त्यसै गरी पृथ्वीनारायण शाहको राज्य एकीकरणको दौरान पूर्वी भेगका किराँती राजा रजौटालाई हराउन चौदण्डी गढीको कोत राख्ने प्रमुख थलो उदयपुर गढीको पुरानो गढीको छुट्टै महत्व रहेको मगरको भनाई छ।

यो ठाउँको इतिहास, सामरिक र पुरातात्विक महत्वको उजागर गर्न तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पुरानो गढी क्षेत्रको पुनर्संरचना गर्ने काम भइरहेको पनि अध्यक्ष मगर बताए। तत्कालीन सेनाले हातहतियार राख्ने बङ्करको भग्नावशेषसहितको पुरानोगढी क्षेत्रको पुनर्संरचना कार्य अहिले गाउँपालिकाले अन्तिम चरणमा पु¥याएको अध्यक्ष मगरले गराए।

उदयपुरगढीमा अहिलेदेखि नै आन्तरिक पर्यटक आउने क्रम बढ्दै गएको छ। ऐतिहासिक, सामरिक र पर्यटन विकास गर्ने लक्ष्यका साथ सङ्घीय सरकारको पर्यटन मन्त्रालय तथा प्रदेश सरकारसँग साझेदारीमा गाउँपालिकाले पुरानो गढी पुनर्संरचना गरिरहेको छ।

गढी क्षेत्र समुद्री सतहदेखि १ हजार १ सय ६० मिटर उचाइमा रहेकाले चिसो मौसम, स्वच्छ वातावरण, मनोरम दृश्य र वरिपरि वरपीपल र वनस्पतिले भरिएको ठाउँबाट टाढा टाढाका सहर बजार देख्न सकिन्छ। त्यसैले पछिल्लो समय उदयपुरगढी पर्यटकको पहिलो रोजाइमा पर्दै गएको छ।

अहिलेसम्म कच्ची सडकले जोडिएको गढी क्षेत्र पुग्ने नेपालटार–उदयपुरगढी खण्ड ८ किलोमिटर सडक कालोपत्रेसहितको स्तरोन्नतिको काम धमाधम भइरहेको छ । चालु आर्थिक वर्षभित्रै सक्ने गरी सडक निर्माणको काम युद्ध स्तरमा भइरहेकाले सो ठाउँमा छिट्टै पर्यटकको घुँईचो लाग्ने अपेक्षा गरिएको गाउँपालिकाका प्रवक्ता सहेक विश्वकर्माले बताए।

प्रकाशित: १६ कार्तिक २०८१ १७:०५ शुक्रबार

#Nepalese army #Udaipur Gadhi #Nepaltar – Udaipurgadhi trek