समाज

राजविराज महोत्सव सुरु

सांस्कृति, पर्यटन, कृषि तथा व्यापार प्रवद्र्घन गर्नका लागि राजविराज महोत्सव, २०८१ बिहिबारदेखि सुरु भएको छ।

सप्तरीको राजविराजस्थित राजरङ्गशाला (खेलमैदान) मा सुरु भएको उक्त महोत्सवको राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत प्रविणले उदघाटन गरे। सो अवसरमा उनले महोत्सवले सांस्कृतिक, पर्यटन, कृषि, व्यापार प्रवद्र्घन र आर्थिक समृद्घिका लागि टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। महोत्सवमा उदेश्यअनुसारका कार्यक्रम गर्न आयोजकलाई सुझाव दिँदै उनले सप्तरीको राजविराज नगरक्षेत्रको विकास गर्न आफू सबै पक्षसँग समन्वय गरी अगाडि बढिने बताए।

ड्रिम नेपाल युवा सङ्घ सप्तरीको आयोजना तथा राजविराज नगरपालिकाको सहकार्यमा सुरु भएको उक्त महोत्सवमा स्थानीयस्तरका विभिन्न कृषि उत्पादन, घरेलु उद्योगबाट उत्पादित बस्तु, हस्तकलालगायतका सरसामान बिक्री हुनेगरी ४० वटा कक्ष राखिएका छन्।

महोत्सवमा बालबालिकाका लागि बालउद्यान र युवाको मनोरञ्जनका लागि विभिन्न खेल र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था ड्रिम नेपाल युवासङ्घ सप्तरीका अध्यक्ष कमलकिशोर साहले बताए।

महोत्सवमा मैथिली चित्रकला प्रदर्शनी पनि आकर्षणको केन्द्र रहेको छ। पाँच वर्ष मुनिका बालबालिका तथा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था छ। राजविराज महोत्सव यही कात्तिक २५ गतेसम्म चल्ने छ ।  

प्रकाशित: १५ कार्तिक २०८१ २२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App