समाज

चितवनको वागीश्वरमा तीन दिने सामूहिक गौ पूजन सुरु

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित वागीश्वरमा तीन दिने सङ्गीतमय सामूहिक गौ पूजन सुरु भएको छ।योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा बिहीबार देखि सामूहिक गौ पूजन सुरु भएको हो। लक्ष्मी पूजा तथा गोवर्द्धन पूजाको अवसरमा विगतका वर्षको निरन्तरता स्वरूप वागीश्वरमा गौ पूजन गरिएको कार्यक्रम संयोजक नवराज ढकालले जानकारी दिए।

बागेश्वरीमा २०६३ सालदेखि सामूहिक रुपमा गौ पूजन गर्न थालिएको हो। तीन दिनसम्म चल्ने गौ पूजाको उद्घाटन अन्तर्राष्ट्रिय कथा वाचक पण्डित कुवेर सुवेदी गरेका हुन। 

कार्यक्रमको उद्घाटन गर्दै उनले गाईको महत्वको विषयमाथि प्रकाश परेका थिए। उनले एक दिन मात्र गाईको संरक्षण गरेर नहुँने बताउँदै गाईको सधैँ पूजा गर्नुपर्ने बताए। 

सामूहिक गौ पूजन १७ गतेसम्म हुनेछ। वैदिक गाईको वैदिक तवरबाट पूजा गरिने कार्यक्रम संयोजक ढकालले जानकारी दिए। यहाँ सामूहिक गौ पूजासँगै गोवर्द्धनको पर्वत बनाएर पूजा गरिन्छ। प्रत्येक वर्ष गाई र गोवर्द्धन पूजाको दिन गाई र गोबद्र्धनको पूजा गर्नेको भीड लाग्छ। धर्म, संस्कृतिको रक्षाका लागि सम्पूर्ण वैदिक सनातन धर्मावलम्बी पूजा गर्न आउने गर्दछन्। पवित्र तीर्थस्थल देवघाट धाम प्रवेश मार्गमा रहेको वागीश्वरमा दुई सय भन्दा बढी स्थानीय जातका गाई संरक्षण गरिएको छ। दाताको सहयोगका भरमा गाईको संरक्षण गरिएको ढकालले जानकारी दिए।

योगी नरहरिनाथले २०४३ सालमा माडीबाट कोटी होम लगाउन सात वटा गाई लिएर आएका र त्यो सङ्ख्या बढेर अहिले दुई सय पुगेका हुन्।

गौ पूजनको अवसरमा गाई पालनका लागि सहयोग गर्ने दाताहरूलाई सम्मान गरिएको थियो। यहाँ गाई संरक्षणका लागि एक करोडको अक्षयकोष बनाउने लक्ष्य राखिएको छ। २०७२ सालदेखि स्थापना भएको अक्षयकोषमा हालसम्म ९० लाख रुपैयाँ संकलन भएको बताइएको छ। 

कार्यक्रममा वागीश्वरीका प्रमुख संरक्षक श्रीसथान योगी, कल्याणनाथ माता, निरञ्जन नाथ, वागीश्वरी आश्रमका प्रमुख शैलेन्द्र कुमार पिया, वागीश्वरी गौ संरक्षण केन्द्रका सल्लाहकार टंकनाथ पौडेल लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: १५ कार्तिक २०८१ १७:१३ बिहीबार

#chitwan #Bharatpur Metropolitan Municipality #cow worship #Bagishwar