समाज

'सबैको बाँच्न पाउने अधिकार समान हो'

सडक कुकुरहरूको व्यवस्थापन तथा रेखदेखमा सक्रिय स्नेहाज केयर सेल्टरले विशेष कार्यक्रम गरी बिहीबार कुकुर तिहार मनाएको छ।

ललितपुरको भैंसेपाटीमा आफ्नो सेल्टरमा रहेका २ सय बढी कुकुरहरूको विशेष पूजा गरी कार्यक्रममा मीठामीठा खानेकुरा खुवाइएको थियो।

कार्यक्रमकी प्रमुख अतिथि महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले स्नेहाज केयर सेल्टरले गरेको कामको प्रशंसा गर्दै सडक पशुहरूलाई पनि माया गर्न आग्रह गरिन्। घरपालुवा जनावारमा कुकुर सबैभन्दा बफादार रहेको चर्चा गर्दै उनले जन्मपछि बाँच्न पाउने मानिसको अधिकारजस्तै कुकुरको पनि रहेकाले योप्रति सबैको ध्यान जान आवश्यक रहेको बताइन्।

महिला उद्यमी महासंघका अध्यक्ष ज्ञवालीले स्नेहाले सामाजिक हिरोले गर्ने काम गरेको बताइन्। ‘स्नेहाले एउटा सामाजिक हिरोले गर्ने काम गरेकी छिन्। अनेक अप्ठयाराहरू हुँदा हुँदै पनि पशुपन्छी तथा कुकुरका हितका लागि उहाँले उल्लेखीय काम गरेर मानवताको चिनारी दिनुभएको छ।’ 

अहिलेका मान्छेहरू भागदौडमा छन्। पशुपन्छीका लागि समय दिनै भियाउँदैन। यस्तो अवस्थामा स्नेहाबाट पाठ सिक्दै हामीले पशुपन्छीको बाँच्न अधिकारप्रति सुसूचित गराउँदै जानुपर्ने भएको छ।’

अतिथि ज्ञवालीले हाम्रो कुकुरसित परापूर्वकालदेखि अभिन्न सम्बन्ध रहेको बताइन्। ‘हाम्रो पशुपन्छी तथा कुकुरसित परापूर्वकालदेखिको सम्बन्ध छ। कुकुर बिहानै कराउँदा अनिष्टको संकेत मिल्थ्यो। मान्छेको कुरा बुझ्ने कुकुर हाम्रो सुरक्षा हो, असल र भरपर्दो साथी हो।’

कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक तथा विशेष अतिथि उमेश दाहालले पशुपन्छीको हकहितमा राम्रो नियमकानुन आउँदै गरेको बताए। उनले भने, ‘पशुपन्छीको हितमा राम्रो नियमकानुन आउँदै छ। पशुपन्छीको हकहितका लागि हामी सबै लाग्नुपर्छ।पशुपन्छीसित हाम्रो सामीप्य हुनुपर्छ। उनीहरूको स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकारको कसैले पनि हनन गर्नु हुँदैन।’

स्नेहा केयरमा स्नेहा श्रेष्ठले बाटोमा बेपत्ता परेका र घाइते भएका कुकुरहरूलाई औषधि उपचार गरेर नियमित हेरचाह गर्दै आएका छिन्। उनको सेल्टरमा २ सय बढी कुकुरहरू तथा पशुपन्छी राखिएका छन्।

उनले सुरुसुरुमा धेरै पीडा झेलेकी बताइन्। ‘सुरुसुरुमा धेरैले काम नपाएर अलमलिएको भन्दै घृणा गरे। राम्राे काम गरेकाे बुझाउन समय लाग्ने रहेछ। अहिले धेरैले राम्रो भन्दै सहयोग गर्न थालेका छन्। म सबैलाई पशुपन्छीलाई राम्रो दृष्टिले हेर्न पनि अनुरोध गर्दछु।’

उनले पशुपन्छी तथा कुकुरहरूको सेवामा लागेर आत्मसन्तुष्टि मिलेको बताइन्। ‘पशुपन्छीको पनि बाँच्ने अधिकार हुन्छ। यो पृथ्वी सबैको साझा घर हो। कसैले कसैलाई होचोअर्घेल्याइँ गर्नु हुँदैन। मैले पशुपन्छी तथा कुकुरको हेरचाह गरेर पाएको खुसी म कुनै कुरासँग तुलना गर्दिनँ।’

कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक उमेश दाहाल, डब्लूएचओका सुदन ज्ञवाली लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

कुकुरको गुन सम्झेर यतिबेला देशैभर धुमधामले कुकुरको पूजा गरिंदै छ। कुकुर मान्छेका लागि आत्मीय साथी हुन्। वनजंगलमा गोठाला गर्नलाई होस् या घरको सुरक्षाका लागि कुकुर धेरैका लागि भरपर्दो साथी भएका छन्।

सन् २०१५ मा खुलेको स्नेहाज केयर सेल्टरमा अहिले २ सय बढी कुकुर, केही भैंसी र सुँगुर छन्। घाइते, बिरामी र बेवारिसे कुकुरलाई सेल्टरले नियमित रूपमा व्यवस्थापन तथा रेखदेख गर्दै अघि बढ्दै जाने संस्थाकी अध्यक्ष श्रेष्ठले बताइन्।

प्रकाशित: १५ कार्तिक २०८१ १५:५८ बिहीबार

# Sadak Kukur # Management and supervision # Snehaj Care Shelter