समाज

फर्निचर पसलमा आगलागी हुँदा १५ लाखको क्षति

फइल तस्बिर

मोरङको बेलबारी नगरपालिका–७ को गणेश काष्ठ उद्योग (फर्निचर)मा आगलागी हुँदा १५ लाख मूल्य बराबरको क्षति भएको छ।

बेलबारी–७ नहर चोकमा गणेश भन्ने भदीलाल चौधरीले सञ्चालन गर्दै आएको फर्निचरमा मंगलबार राति १०बजेतिर आगलागी हुँदा काठबाट बनेका दराज, पलङसहित फर्निचरका सामान राखिएको घर जलेर ध्वस्त भएको मोरङ प्रहरीले जनाएको छ।

आगलागीमा १५ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ। स्थानीय र दमकलको सहयोगमा प्रहरीले करिब एक घण्टापछि आगो नियन्त्रणमा लिएको थियो।

आगलागीको कारण भने खुल्न सकेको छैन।

विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान रहे पनि घटनाको थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ।  

प्रकाशित: १४ कार्तिक २०८१ १०:४७ बुधबार

#Morang