समाज

नगरकोट सडकको दुरावस्थाले भ्रमण वर्ष प्रभावित

फाइल तस्बिर

भक्तपुरको नगरकोट पुग्ने सडक अझसम्म पुनर्निर्माण सम्पन्न हुन सकेको छैन। ठेकेदारले पटकपटक म्याद थप्दै काम सम्पन्न नगरेपछि पछिल्लोपटक असोज १५ सम्मको अन्तिम म्याद थप भएको थियो, तर पनि अझै सडकको अवस्था जस्ताको तस्तै छ।

भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले पछिल्लोपटक दसैंअघि पूरा गर्ने बताए पनि दसैं सकेर तिहार सुरु हुन लाग्दा पनि काम सकिने कुनै छाँटकाँट नभएको बताए। पत्रकारसँगको अन्तरक्रियामा उनले भने, ‘दसैंमा सकाउने भन्दै तिहार आयो तर सकिने कुनै छाँटकाँट छैन।

दबाब बढ्यो कि एकदुई दिन एकदुई टिप ढुंगा–रोडा खसाल्ने अनि फेरि चुपचाप हुने परिपाटी उहिल्यैदेखि रहेको उनले जनाए। उनले भने, ‘यो सडकका कारण चाँगुनारायण नगरपालिकाको सान गिर्न लागेको छ। सडक चाँगुनारायण नगरपालिकामा पर्दछ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका उपमेयर रमेश बुढाथोकीले पटकपटक दबाब दिँदा पनि कुनै पनि सरकारले यस विषयमा चासो देखाउन नसकेको बताए। यसकारण सडक समयमै नसकिनुमा अहिलेसम्मका सबै सरकार दोषी भएको उनको आरोप थियो।

‘पछिल्लोपटक पनि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ज्ञापनपत्र दिन पुग्यौं’, उनले सम्झिए, ‘दबाबपछि प्रधानमन्त्रीज्यूले अर्थमन्त्रीलाई फोन गरेर ठेकेदारसम्म दबाब पुगेपछि एकदुई दिन फेरि एकदुई टिप ढुंगा–रोडा खसालियो, अहिले पनि काम ठप्प छ।

उनले सरकारले ठेक्का तोकिदिए स्थानीय सरकारको बजेटबाटै सडकको बाँकी काम गर्न तयार रहेको समेत पटकपटक भन्दै आएको भनी दोहोर्‍याए। सडक बन्नुको खास कारक के हो खुलाइदिनुस् न भन्ने पत्रकारको अनुरोधमा उनले भने, ‘शैलुङ कन्स्ट्रक्सन हो। त्यसको हाकिम शारदाप्रसाद अधिकारी हो। उनी पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटी हुन्।’ उनको त्यस्तो जवाफपछि सहभागी एकजना पत्रकारले सरकारमा नेपाली कांग्रेस र एमाले छन् अनि सडक नबन्नुमा दाहाललाई दोष दिने भनेर चर्केपछि माहोल तातेको थियो।

कार्यक्रममा चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष धनबहादुर लामाले सडकका कारण नगरकोट भ्रमण वर्ष २०८२ प्रभावित भएको बताए। २०८२ सम्म पनि सडक पुनर्निर्माण कार्य सम्पन्न नभई आउने पर्यटकलाई गलत सन्देश जाने उनले बताए। अहिले पनि कति गाइडले नगरकोट सडक बिग्रेको छ भनेर पर्यटकलाई अन्यत्रै लैजाने गरेको उनले बताए। चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधिहरूको पहिलो बैठकले नै २०८२ मा नगरकोट भ्रमण वर्ष मनाउने घोषणा गरेको थियो।

नगरकोट सडकले चाँगुनारायण नगरपालिका वडा नं ५, ६, ७ र ८ लाई छोएको छ। यो सडकको दुरवस्थाकै कारण विदेशी पर्यटकसहित यस वडाका दशौं हजार वडावासी प्रभावित हुँदै आएका छन्। यही कारण सडक निर्माण ढिलाइले स्थानीय आक्रोशित छन्।

भक्तपुरको कमलविनायकको भत्केको पाटीदेखि नगरकोटसम्म पुग्ने १७ किलोमिटर लामो सडक खाल्डाखुल्डीले भरिएको छ। सन् २०१४ जुन ५ मा सम्झौता भई २०१६ सम्ममा सम्पन्न गरिसक्नुपर्ने यो सडक निर्माण अझै अधुरो छ।

भारतको आराभाली इन्फ्रा पावर लिमिटेड र शैलुङ कन्स्ट्रक्सन कम्पनीले ठेक्का लिएको यो योजना १२ वर्षसम्म पनि पूरा हुन सकेको छैन। बताइएअनुसार ३१ करोडको ठेक्कामा २९ करोड भुक्तानी भइसकेको छ, तर सडकको अवस्था भने उस्तै छ।

भक्तपुर–नगरकोट–सिपाघाट सडक योजनाअनुसार पहिलो चरणमा नगरकोटसम्मको सडकको काम भएको हो। सडक निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको ठेकेदार कम्पनीले दाबी गरेको छ, तर सडक भने दुरवस्थामै छ। 

प्रकाशित: १४ कार्तिक २०८१ १०:३५ बुधबार

#nagarkot