समाज

शैलजा आचार्य हृदयरोग केन्द्रको स्तरोन्नति गरिँदै

 स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्माण भएर पनि पूर्वाधार अभावमा सेवा दिन नसकिरहेको विराटनगरस्थित शैलजा आचार्य हृदयरोग उपचार केन्द्रलाई स्तरोन्नति गर्नका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

मन्त्री पौडेल र कोसी प्रदेशका स्वास्थ्यमन्त्री भूपेन्द्र राईसहितको बैठकले स्तरोन्नति गरी पूर्ण क्षमतामा सञ्चालन गर्न संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्न लेखी पठाउने गरी निर्णय गरेको छ।  

अब कोसी प्रदेश सरकारबाट हस्तान्तरण भएपछि केन्द्रलाई मुटुसम्बन्धी उपचारका लागि आवश्यक उपकरण र थप पूर्वाधारको विकास गरेर सञ्चालनमा ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक समन्वय गरेर काम थाल्ने बैठकमा मन्त्री पौडेलले बताए।  

‘विशिष्टीकृत रोगको उपचार हाम्रो दायित्व हो,’ मन्त्री पौडेलले भने, ‘सातै प्रदेशमा मुटु रोगको उपचारका लागि हामीले कार्यक्रम थालिसकेका छौं।’ कोसी प्रदेशमा स्थापित केन्द्रलाई सबल बनाएपछि प्रदेशलाई हस्तान्तरण गरिनेछ।

गत महिना विराटनगरमा केन्द्रको निरीक्षण गरेका मन्त्री पौडेलले प्रदेशमातहत विकासमा मन्त्रालयलाई जटिलता रहेको भन्दै संघमातहत जिम्मेवारी प्राप्त भएमा स्तरोन्नतिका लागि उपकरणसहित पूर्वाधार तयार पार्ने घोषणा गरेका थिए। कोसी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले संघ सरकारलाई स्तरोन्नतिका लागि आग्रहसहित निश्चित अवधि हस्तान्तरणका लागि आवश्यक प्रक्रिया पूरा गर्ने प्रतिबद्धता जनाए।

प्रदेशबाट निर्णय भएर आएलगत्तै मन्त्रालयले स्तरोन्नतिको काम थाल्ने मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए।  

प्रकाशित: १४ कार्तिक २०८१ ०९:२० बुधबार

#hospital