समाज

विद्यार्थीले उत्पादन गरे सयपत्री

आफैले गरेको बोक्सेस्थित खेतीमा उत्पादित सयपत्री फूलसँग कक्षा १२ का विद्यार्थी । तस्बिरः महेश्वर

उदयपुरको कटारी नगरपालिका ४ स्थित त्रिबेणी माध्यमिक विद्यालयका विद्यार्थीहरूले तिहार लक्षित सयपत्री फूल उत्पादन गरेका छन्।

कृषि अध्ययनरत विद्यार्थीले गत वर्षदेखि गर्न थालेको व्यवसायिक सयपत्री खेतीबाट उत्पादित फूल कटारी बजारबासीका लागि पर्याप्त हुने गरी उत्पादन भएको विद्यालयले जनाएको छ। प्राविधिक धारका कृषि विषय शिक्षक कैलाश रायमाझीका अनुसार गत वर्ष प्रचारप्रसार नहुँदा सोचे जति फूल बिक्री भएको थिएन्।  

कक्षा ११ र १२ मा पढ्दै गरेका छात्रछात्राले लगाएको फूल खेतीका लागि सुरुमा विद्यालयले नै लगानी गरेको थियो। स्कुल नजिकै १ बिगाहा जमिन भाडामा लिएर विद्यालयले छात्रछात्रालाई फूल खेतीको अभ्यास गराउन थालेको शिक्षक रायमाझीले बताए। सो जमिन उत्पादित सयपत्री फूलले पहेलपुर भरिएको छ।

हरेक तिहारमा सयपत्री र मखमली फूलको अभाव हुने गरेको वास्तविकतालाई बुझेरै विद्यालयले सयपत्रीको खेती थालेको हो। फूल अभावमा कटारीका व्यापारीहरूले वर्षेनी भारतीय बजारबाट जैविक थोर, कागज र प्लास्टिकका फूल धेरै ल्याएर बेच्ने गरेका थिए। प्लास्टिकका फूल मानव स्वास्थ्य र वातावरणका लागि पनि हानिकारक हुनुका साथै स्थानीय पैसा विदेशिने कुराप्रति सचेत हुँदै कृषि धार पठनपाठन थाले लगत्तै फूल खेती गर्न थालेको रायमाझीले बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराज दाहालका अनुसार कटारीमा जस्तै सदरमुकाम त्रियुगा नगरपालिका १० गाईघाट बोक्सेमा पनि डेढ बिगाहा जमिन भाडामै लिएर सयपत्रीको खेती लगाइएको छ। कटारीमा उत्पादित फूल कटारीमै बिक्री गर्ने तथा बोक्सेमा उत्पादित गाईघाट बोक्सेकै उपभोक्तालाई लक्षित गरी बिक्री वितरण गर्ने योजना विद्यालयले बनाएको छ।

सयपत्री खेतीका लागि विद्यालयले वर्षेनी १ लाख हाराहारी लगानी गर्दै आएको अध्यक्ष दाहालले बताए। गत वर्ष सुरुआती समय भएकाले उत्पादन राम्रो भए पनि बिक्री सामान्य मात्र भए पनि यो वर्ष भने अघिल्लो वर्षकै प्रचार प्रसारले होला उपभोक्तामा राम्रो आकर्षण बढेको दाहालले बताए। ‘पोहोर पहिलो साल भएर होला खर्च उकास्न पनि हम्मे भयो’ अध्यक्ष दाहालले भने ‘यसपालि भने फूल सोधखोज गर्नेहरू बेलैमा सम्पर्कमा आउन थालेका थिए। अहिले धमाधम विक्री भइरहेको छ, यस्तै हो भने राम्रै नाफा हुन्छ।’ 

विद्यालयले प्रतिकिलो ३ सय रुपैँयामा सयपत्री फूल बिक्री गर्ने गरेको शिक्षक रायमाझीले बताए। फूलबाट भएको आम्दानीमध्ये आधा विद्यालयको लगानी कटाएर बाँकी रकम विद्यार्थीलाई दिने निर्णय स्कुलले गरेको छ। विद्यार्थीले पढाइसँगै विषय ज्ञानका लागि गरेको अभ्यास सिकाइले आमदानी पनि होस् भनेर विक्री रकम भाग लगाउने गरेको विद्यालयले जनाएको छ।

त्यसका लागि विद्यालयले ‘पढ्दै, सिक्दै, कमाउँदै’को नारा अघि सारेको छ। प्रधानाध्यापक बालकृष्ण कार्कीले कक्षामा पाठ्यपुस्तकको थ्यौरी कक्षा पढ्ने, त्यसपछि खेत गएर खेती बाली लगाउने, गोडमेल गर्ने र उकेर्ने तरिका सिक्ने र अन्तिममा उत्पादित फूल बेचेर कमाई गर्ने तरिका विद्यार्थीका लागि निकै लाभदायक हुने बताए। उनका अनुसार यो तरिकाले मेहनत गरे परिणाम पाइन्छ भन्ने प्रमाणित पनि हुने तथा पाठ्यपुस्तक र सामान्य खाजा खर्च जुट्ने हुँदा विद्यार्थी पनि खुसी हुने प्रअ कार्कीको भनाई छ।

फूल खेतीले विद्यार्थीलाई किताब पढ्नेसँगै कृषि प्राविधिक विषयमा अभ्यास गर्न धेरै सहज भएको विद्यार्थीलाई वस्तुगत र व्यवसायिक ज्ञान तथा सिप सिक्न फुल खेती गर्न लगाइएको उनको भनाई छ। गत वर्षदेखि विद्यालयले कृषितर्फको बाली विज्ञान विषयमा कक्षा  ११ र १२ का विद्यार्थीले व्यवसायिक रुपमा फुल खेती गर्दै आएका छन्। त्यसले एकातिर उनीहरूको पठनपाठनलाई प्रभावकारी र वस्तुगत ज्ञान सिपमा दक्ष बनाएको छ भने अर्कातिर विद्यार्थी जीवनमै आयआर्जनमा पनि सहयोग पुगेको अध्यक्ष दाहालले बताए।

बाली विज्ञानका कक्षा १२ का क्रिसम कार्कीलाई फूल खेती गर्दा र पढ्नभन्दा बढी मजा आउँछ। कक्षामा किताबी ज्ञान लिएर खेतमा काम गर्न जाँदा झन् बढी आनन्द लाग्ने बताउने क्रिसम फूल बेचेर पैसा समात्दा झन् मजा आउने बताउँछन्। उनलाई जस्तै अर्का विद्यार्थी राजु थापालाई पनि फूल खेतीले आफूलाई विद्या सिक्नेसँगै पैसा कमाउने वातावरण बनेको छ कृषि पढाई।

युनिश राई, रोजन सुबेदी र राजु ठाकुर पनि फूल खेती गर्न रमाइलो लाग्ने बताउँछन्। विद्यार्थीहरू शिक्षकसँगै खेतबारी पुगेर प्रयोगात्मक अभ्यास गर्दा पुस्तकमा पढेको भन्दा बढी आनन्द लाग्ने बताउँछन्। ‘स्कुलमा सरले किताबी ज्ञान पढाउनुहुन्छ, अनि प्रयोगात्मक अभ्यास गर्न बारीमा जान्छौँ’ उनीहरु भन्छन् ‘खेतबारीमा फलफूल र तरकारी बालीमा रमाउन पाउँदा किताब बढेको भन्दा बढी मजा आउँछ।’

भर्खरै कक्षा १२ उत्तीर्ण गरेका युनिश राईले अहिले आउँदो तिहारका लागि फूल बेच्न व्यस्त रहेको बताए। उनका अनुसार तिहार साता १० दिन बाँकी हुँदैदेखि फूल किन्नेहरू आउन थालेका छन्। 

‘तिहार परै भएकाले किन्ने कम, अर्डन चाहिँ बढी आइरहेको छ’ बोक्सेस्थित फूलबारीमै रहेका राईले भने ‘अहिलेसम्म ७ सय किलो हाराहारी अर्डर आएको छ। तर, अर्डन आउने क्रम जारी रहेको र तिहार पनि परै भएकाले थप अर्डर आउला।’ बोक्सेमा १२ कठ्ठामा लगाइएको कर्मा ५५५ र टेनिस बल गरी २ प्रजातिका सयपत्रीबाट लगभग २ हजार किलो फूल उत्पादन भएको छ।

राईले आफुसँगैका ८ जना विद्यार्थी मिलेर बोक्सेमा अमृत कृषि फार्म दर्ता गरी फूलको व्यवसायिक खेती गर्दै आएको जानकारी दिए। तर, आफुहरु कक्षा १२ उत्तीर्ण भइसकेकाले अव अहिलेका विद्यार्थीले फार्मलाई निरन्तरता दिने बताए। उच्च शिक्षा अध्ययन गर्ने विश्वविद्यालय उदयपुरमा नभएकाले आफूहरूले फार्म छाडेर पढ्न जानुपर्ने बाध्यता रहेको विद्यार्थीहरूले सुनाए। 

प्रकाशित: १३ कार्तिक २०८१ १२:५५ मंगलबार

#tihar