समाज

रेडियो नेपाल सधैं सांगीतिक सम्पदाको अग्रपंक्तिमा: कार्यकारी निर्देशक लामा

रेडियो नेपालमा पर्व विशेष धुनहरु उत्पादन सुरु

क्याप्शन

रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले नेपाली गीत-संगीतको श्रीवृद्धिमा रेडियो नेपाल सधैं अग्रपङ्तिमा रहेको बताएका छन्।

तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा सिंहदरबारमा आयोजित पर्व विशेष धुनहरूको प्रस्तुतिमा उनले रेडियो नेपालले सबै समुदायको अपनत्व सुनिश्चित गर्दै सांगीतिक विविधतालाई प्रोत्साहन गर्ने लक्ष्य राखेको जानकारी दिए।

कार्यक्रममा लामाले नेपाली समुदायका विभिन्न पर्वका धुन निर्माण गर्दै सांगीतिक सम्पदा जगेर्ना गर्न रेडियो नेपाल प्रतिबद्ध रहेको र पुराना गीत-संगीतलाई डिजिटल प्लेटफर्ममा उपलब्ध गराउने योजना रहेको सुनाए।

उनले संस्थामा समूहकार्यले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै सरकारको सय दिनको उपलब्धिमा रेडियो नेपालले समूह कार्यकै कारण सफल नतिजा हासिल गरेको उल्लेख गरे।

लोकतान्त्रिक गणतन्त्रको समावेशी विशेषतालाई उजागर गर्दै उनले रेडियो नेपालले २५ वटा भाषामा समाचार प्रसारण गरी सबै जातजाति, भाषा र समुदायको प्रतिनिधित्व सुनिश्चित गरिरहेको जानकारी दिए।

मौलिक संगीत सर्जकहरूप्रति सम्मान व्यक्त गर्दै कार्यकारी निर्देशक लामाले पर्व विशेष संगीत धुनहरूको प्रस्तुतिका लागि समर्पित सम्पूर्ण व्यक्तिलाई धन्यवाद ज्ञापन गरे।

कार्यक्रममा नायव कार्यकारी निर्देशक चन्द्रभूषणलाल दासले भविष्यमा पनि विभिन्न पर्वका अवसरमा सांगीतिक प्रस्तुति गरिने प्रतिबद्धता जनाए। पर्व विशेष धुनहरूमा मंगल धुन, देउसी, नेपाल संवत्, छठ र भैलो धुन प्रस्तुत गरिएको थियो।

धुन प्रस्तुतीमा मनराजा नकर्मी, बद्रि विशाल तण्डुकार, डा. निरञ्जन भण्डारी, न्हुछे मर्हजन, सुनिल बर्देवा, नवराज गुरुङ, दीपक सुनाम, हरिशंकर चौधरी, खड्ग गर्बुजा र रुबिन गन्दर्भ लगायतका कलाकारहरूको सहभागिता रहेको थियो।

कोरसमा निर्मला घिसिङ, सुखकला राई, हरिशंकर चौधरी, प्रज्वल खड्का र सितु मानन्धरको प्रस्तुति रहेको थियो। रेडियो नेपालका अनलाइन पोर्टल र युट्युब च्यानलबाट कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको थियो, जसमा प्रस्तुत सबै धुनहरू सुन्न सकिने व्यवस्था गरिएको छ।

प्रकाशित: १२ कार्तिक २०८१ २०:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App