समाज

‘खाना पर्यटन’ लाई प्रबर्द्धन गर्दै सेफ सन्तोष र नारायण

अफः द प्रोफेसनल्सः २०२४’ विजेता सेफ नारायण श्रेष्ठ र बिबिसी मास्टरसेफ विजेता सेफ सन्तोष शाहले विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित नेपाली एवं विदेशी पाहुनालाई आफ्नो स्वाद पस्किएका छन्।

नेपाली खाना प्रवद्र्धन लागि मिथिला थाली गैरीधारामा आयोजित भिक्ट्री प्लेट नाम दिइएको कार्यक्रममा नेपालका दुई उत्कृष्ट पाक कलाकारले नेपालको रैथाने स्वादसहित खाना र डिजर्ट बनाएका थिए।  

कार्यक्रममा पुगेका नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले जुम्ली स्याउको चटनीसँग पोलेको तरुल खान पाउँदा कर्णाली सम्झेर आफू नोस्टाल्जिक भएको बताए। त्यस्तै इस्कुस, आलु र याक चिजले भरिएको समोसा कार्यक्रमको प्रमुख आकर्षण थियो।

यसैक्रममा बेलायती राजदूत रब फेनकी श्रीमती जुलिया फेनले नेपाली परिकारको मौलिक स्वाद रप्रस्तुतिले आफूलाई लोभ्याएको बताउँदै सांस्कृतिक सम्पदाको उत्कृष्ट प्रतिनिधित्व गरेको बताइन्। यस्तै प्यासिफिक एसिया ट्राभल असोसिएसनका प्रमुख कार्यकारी अधिकृत सुरेश बुढाले यस प्रकारका कार्यक्रमले नेपाली परिकारलाई अन्तर्राष्ट्रिय मञ्चमा  प्रबर्द्धन गर्दै फुड टुरिजमको माध्यमबाट नेपाललाई विश्वभर चिनाउन मदत पुर्‍याउने बताइन्।

कार्यक्रममा सेफ सन्तोषले मेन मेन्यु पस्किँदा सेफ नारायणले डिजर्ट चखाएका थिए। सुन्तलाको कुराउनी, खुर्सानी, टिमुर, गुदपाक जस्ता नेपाली स्वादलाई सेफ नारायणले आफ्नो पाककलामार्फत उत्कृष्ट बेकरी रेसिपी तयार गरेकोमा आफूलाई अत्यन्त खुसी लागेको हिमालयन जाभाका संस्थापक गगन प्रधानले बताए। उनले सेफ नारायणले बनाएका बेकरी प्रडक्टको खुलेरै प्रशंसा गरे।  

मिथिला थालीमा उपस्थित अधिकांशको रोजाइमा परेको अनदीको चामल अनि लालीगुराँसको रक्सी लक्षित गरी राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अनिल केशरी शाहले  रैथाने पेय पदार्थलाई नीतिगत सम्बोधन गरेर ब्रान्डिङ गर्न राज्य अग्रसर हुनपर्नेमा जोड दिए। सयपत्रीको तेल र फूलसँगै साँधेको भोगटे, नेपाली  रैथाने स्वाद मिसिएका बेकरी परिकारले आफूलाई लोभ्याएको सेफ गोविन्दनरसिंह  केसीले बताए। कार्यक्रममा नेपालको पहिलो फुड रियालिटी सो सेफ नेपालका अन्तिम तीन प्रतियोगीसहित गेट कलेजमा हस्पिटालिटी अध्ययनरत विद्यार्थीसँगै भान्से लक्ष्मणलेसमेत सघाएका थिए।

कार्यक्रमपछि, प्रतिक्रिया दिँदै सेफ सन्तोषले पाहुना सन्तुष्ट भएकोमा आफू हर्षित भएको बताए। सेफ नारायणले नेपालमा आफ्नो पहिलो कार्यक्रममा पाहुना खुसी देख्दा मन प्रसन्न भएको बताए।

प्रकाशित: १२ कार्तिक २०८१ ०७:३९ सोमबार

#Chef #Nepalifood