समाज

सङ्कटमा कुमाल समुदायको पुर्ख्यौली पेसा

आधुनिकताको विकास र विद्युतीय उपरणको प्रयोगका कारण कुमाल समुदायको पुर्ख्यौली पेसा सङ्कटमा पर्न थालेको छ। कुमाल समुदायको पुर्ख्यौली पेसाका रूपमा रहेको माटोका भाँडा बनाउने काम पछिल्लो समय विद्युतीय उपकरणको प्रयोग बढ्दै गएपछि सङ्कटमा पर्न थालेको हो।

चाडपर्वका बेला कुमाल समुदायले माटो मुछेर बनाउने विभिन्न भाँडावर्तनको प्रयोग घट्दै गएपछि पेसा नै सङ्कटमा पर्न थालेको सुनसरी सदरमुकाम इनरुवा–२ का २५ वर्षीय विनोद पण्डितले बताए।

चाडपर्वका बेलामा कुमाल समुदायका व्यक्तिको एउटै उद्देश्य सबैलाई माटोका भाँडा सहज रूपमा पुर्याउने भए पनि विद्युतीय सामग्रीको प्रयोगका कारणले बिक्रीवितरणमा विगत वर्षभन्दा कमी आएको उनको भनाइ छ।

सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायत स्थानमा रहेका कुम्भकार (कुमाल) समुदाय चाडपर्वलाई सहज बनाउने उद्देश्यले माटोका भाँडा बनाउने काममा व्यस्त हुने गरेको छ। माटोका भाँडा बनाएजति बिक्री नहुने गरेको स्थानीय दरपी पण्डितको भनाइ छ।

कुम्भकार समुदायले दीपावली तथा छठपर्वलाई लक्षित गरी माटोका घैला, दियो, धुपदानी, कलशसहितका भाँडाकुँडा बनाउने गरेका छन्। आधुनिकताको विकाससँगै अहिले बजारमा विद्युतीय दियो, झिलीमिली बत्तीलगायत उपकरण आउन थालेपछि चिन्ता थपिएको पण्डितको भनाइ छ।

भाँडा बनाउन काँचो माटो प्रयोग हुने गरेकाले दुई हप्ता अगाडिदेखि नै माटोको जाहो गर्ने गरिएको छ। माटोबाट निर्माण गरेको सामग्री सोचेअनुसारको बिक्री नहुनु र आम्दानीसमेत नहुने गरेकाले वैकल्पिक पेसा रोज्न थालेको पण्डित बताउँछन्।

‘विगतका वर्षमा माटोका भाँडाबाट राम्रै आम्दनी हुने गरेको भए पनि अहिले बिक्रीमा कमी आएको र प्रयोगमा समेत कमी आएको छ’, उनले भने। नजिकमा माटो नपाइने र टाढाबाट प्रतिट्र्याक्टर माटो रु १० हजारदेखि रु २० हजारसम्ममा खरिद गरी बनाएको भाँडासमेत बिक्री नहुँदा समस्या हुने गरेको पण्डितको भनाइ छ।

कुमाल समुदायले विगतमा माटोका भाँडा बिक्री गरी परिवारको खर्च चलाउनुका साथै छोराछोरीलाई राम्रो शिक्षा दिँदै आएका थिए। अहिले घर खर्चसमेत चलाउन समस्या हुन थालेको पण्डितले बताए। वृद्धवृद्धाले पुख्र्यौली पेसा संरक्षणका लागि अहिले पनि माटोका भाँडा बनाएर गाउँघरदेखि सहरसम्म बिक्री गर्दै आएका छन्। तर युवा पुस्ताले भने वैकल्पिक बाटो रोज्न थालेका छन्।

विगतमा पर्वका बेला एक परिवारले रु पाँच लाखसम्मका माटोको दियो बनाएर बिक्री गर्ने गरेका थिए। अहिले एक लाख दियो बिक्री गर्न पनि एक हप्ता लाग्ने गरेको स्थानीय बेचनी पण्डितले बताइन्। अहिले वर्षभरिमा एक परिवारले माटोको भाँडाबाट रु एक लाखसम्म आम्दनी गर्ने गरेको उनले बताइन्।

अधिकांश व्यक्तिको रोजीरोटी माटोसँग सम्बन्धित भाँडाकँुडा बनाउने रहेकाले सो कार्य गर्ने गरेका छन्। मेहनत गरेअनुसारको प्रतिफल नपाउँदा निराससमेत हुने गरेको कुम्भकार समुदायका ज्ञानदेव पण्डितले बताए। सङ्घीय, प्रदेश र स्थानीय सरकार भए पनि आफूहरूको पुख्र्यौली पेसा संरक्षणका लागि कसैले ध्यान नदिएको उनको भनाइ छ। रासस

प्रकाशित: ११ कार्तिक २०८१ ०७:५८ आइतबार

#kumal community