समाज

ज्योति फर्कियो, अब कसैले हेला नगर्लान्!

पलाताँ गाउँपालिका-९ थिर्पका ७० वर्षीया प्रदीप कामी आँखा देख्न छाडेको तीन वर्षपछि पुनः ज्योति पाएपछि खुसी भएका छन्। छिमेकीको सहारामा सदरमुकाम मान्म पुगेका उनी मोतीबिन्दुको शल्यक्रियापछि आँखा देख्न सक्ने भएका हुन्। ‘आँखा नदेख्दा संसारै अँध्यारो थियो,’ उनले खुसी हुँदै भने्, ‘फेरि देख्न सक्ने भएँ, नयाँ जीवन पाएजस्तो लागेको छ। पहिला भगवान्ले आँखा दिए, अहिले डाक्टरले आँखाको ज्योति दिएका छन् ।’ उनी आँखा देख्ने भएपछि शनिबार लौरो टेक्दै घर फर्किएका छन् ।

शुभकालिका गाउँपालिका-१ छातीकी ७९ वर्षीया रुन्ची सुनराले पनि आँखा देख्न छाडेको दुई वर्षपछि पुनः देख्न थालेकी छिन्। ‘आँखाको ज्योतिभन्दा ठुलो केही रहेनछ,’ उनले भनिन्, ‘ज्योति फर्काइदिने डाक्टरलाई भगवान्ले रक्षा गरून्।’

तिलागुफा नगरपालिका-६ का ५७ वर्षीय निर्मल शाही पनि मान्म शिविरमा गएर उपचार गराएपछि आँखा देख्ने भएका छन्। चार वर्षअघि गुमेको एउटा आँखाको ज्योति अहिले डाक्टरले फर्काइदिएको उनले सुनाए।आँखा देखेपछि खुसी हुँदै उनले शल्यक्रिया गर्ने डाक्टरलाई आशीष दिए, ‘तम्मो (तपाईंको) सधैं भलो होस्।’  

आँखा शिविरमा उपचारका लागि आएका ज्येष्ठ नागरिकहरू मोतीबिन्दुको शल्यक्रियापछि देख्न सक्ने भएकोमा खुशी साटिरहेका थिए।

‘आँखा नदेख्दा हिँडडुल गर्न समस्या हुन्थ्यो, आफन्त ठम्याउन सकिँदैनथ्यो,’ मोतीबिन्दुको शल्यक्रियापछि ६५ वर्षीया सुपुरा कामीले भनिन्, ‘अब आँखा देख्ने भएका छौं, हिँडडुल गर्न र आफन्त ठम्याउन समस्या नहुने भयो।’

उनले आँखा देख्न छाडेपछि परिवार र आफन्तले पनि हेंला र दुर्व्यवहार गर्दा सारै मन दुखेको बताइन्।‘ आँखामा दृष्टि नहुँदा घरभित्रैकाले पनि राम्रो व्यवहार नगर्दा रहेछन्’, उनले भनिन्, ‘अब त ज्योति फर्कियो, आफ्नो काम आफैं गर्न सक्छु, अब कसैले हेंला नगर्लान्।’

मान्ममा शिविर सञ्चालन हुँदा आँखाको उपचारका लागि खेतपाखो बेचेर अन्य जिल्ला जानुपर्ने बाध्यता हटेको सान्नीत्रिवेणी गाउँपाललिकाका ६० वर्षीय रत्न साकीले बताए।उनले पनि शिविरमा निःशुल्क उपचार पाएका छन्।

नेपाल नेत्र ज्योति संघ कालिकोटको आयोजनमा मान्ममा राप्ती आँखा अस्पताल तुल्सीपुर दाङको प्राविधिक सहयोगमा तीन दिने निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो।मोतीबिन्दु छनोट शिविरमा आएका २ सय १० जनामध्य ७४ जनाको शल्यक्रिया गरिएको आँखा उपचार केन्द्र मान्मका प्रमुख डबल अधिकारीले बताए।

कालिकोटका नागरिकलाई ध्यानमा राखेर मोतीबिन्दुको निःशुल्क शल्यक्रिया आयोजना गरिएको नेत्रज्योति संघ कालिकोटका सभापति खाडानन्द पाण्डेले बताए। उनका अनुसार शिविरबाट धेरैलाई राहत मिलेको छ।डाक्टर हेमचन्द झाले कालिकोट जस्तो विकट जिल्लामा शिविर सञ्चालन गर्दा स्थानीयलाई धेरै सहज भएको बताए। उनले मोतीबिन्दुको शल्यक्रिया गरिएका अधिकांश ज्येष्ठ नागरिक रहेको बताए।

प्रकाशित: ११ कार्तिक २०८१ ०७:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App