समाज

लागुऔषध–अपराधको भासमा मधेस प्रदेश

असोज २८ गते विहान सिरहाको सुखीपुर नगरपालिका–१० स्थित गागन खोलाको डिलमा आधा शरिर गाडिएको अवस्थामा प्रहरीले शव भेट्टायो। सो शव सिरहाकै गोलबजार नगरपालिका १३ डंग्राहा टोल बस्ने श्रीदेव मोचीका छोरा २१ वर्षीय कृष्णकुमार महरा भएको पहिचान गरियो। महराको हत्या गरी शव गाडिएको भन्ने प्रस्ट भएपछि प्रहरी थप अनुसन्धानमा जुट्यो।

शव भेटिएको अघिल्लो दिन अर्थात् असोज २७ गते राति गोलबजार–१३ का १९ वर्षीय रोहितकुमार महरा र कृष्णकुमार सँगै घरबाट सुखीपुर नगरपालिका–१० शिवचोकमा दुर्गा मेलाको अवसरमा आयोजित नाचगानको कार्यक्रम हेर्न गएका थिए। उनीहरूका अरू केही साथी पनि कार्यक्रममा सहभागी भए। जमघटपछि सल्लाह गरेर नशा सेवन गरेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनीहरूले कार्यक्रम स्थलदेखि पूर्वतिर खोलानजिकै चौरमा गएर पानीको बोतलको बंकर बनाई गाँजा र नाइट्राभेट ट्याब्लेट सेवन गरेको प्रहरीको भनाइ छ।

नशामा लट्ठिएपछि कृष्णकुमारले नामथर नखुलेकी महिला साथीलाई बोलाउन फोन गरे। तर उनका साथीहरूले पनि बोलाइएका महिलालाई भेट्ने इच्छा देखाउँदा कृष्णकुमारले मानेनन्। त्यही विषयमा विवाद सुरु भयो। विवाद चर्किएपछि चारैतिरबाट घेरा हाली साथीहरूले कृष्णकुमारलाई साथीहरूले नै धारिलो कैचीले घाँटी तथा पेटमा प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। हत्या गरिसकेपछि शवलाई गागन खोलाको पश्चिमपट्टिको डिलमा खाल्टो खनेर कम्मरभन्दा माथिको भाग बालुवाले छोपेर उनीहरू भागेका थिए।  

कृष्णकुमारको हत्यामा संलग्न उनका पाँच साथीलाई पक्राउ गरी प्रहरीले ज्यानसम्बन्धी कसुर ९कर्तव्य ज्यान० मुद्दामा अनुसन्धान अगाडि बढाइसकेको सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले बताए। गोलबजार नगरपालिका–१३ डंग्राहा टोल बस्ने उदयनारायण महराका छोरा २७ वर्षीय सन्तोषकुमार महरा, श्यामकुमार महराका छोरा १९ वर्षीय रोहितकुमार महरा, गर्भा चमारको छोरा २१ वर्षीय धर्मेन्द्र महरा, सियालाल महराको छोरा १९ वर्षीय धिरज कुमार राम र मनसुर महमदको छोरा २० वर्षीय मोहमद जमसेदलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सिरहाबाट म्याद थप गरी  अनुसन्धान भइरहेको एसपी रमेश पण्डितले जानकारी दिए।

यसैगरी भदौ १७ गते बरियारपट्टी गाउँपालिका–३ दसगजानजिक भारतीय प्रहरीले एक युवकको शव देखेर नेपाल प्रहरीलाई खबर गर्‍यो। प्रहरी घटनास्थल पुगेर शव बरामद गरी पहिचान खुलाउनतर्फ जुट्यो। बुझ्दै जाँदा उक्त शव सुखीपुर नगरपालिका–२ का २५ वर्षीय भुला यादवको रहेको खुलेको छ। भुला रामउद्गार यादवका माइला छोरा हुन्। रामउद्गार अपांगता भएका व्यक्ति हुन्। उनका जेठो छोरा जिवछ विरामी रहेको वडा अध्यक्ष सुभाष यादवले बताए। रामउद्गारकी पत्नी पनि क्यान्सरका कारण बितिसकेकी छन्। जिवछकी पत्नी पनि क्यान्सर पीडित रहेको वडाध्यक्ष सुभाष यादवले बताए। घरमा कमाउने भुला मात्र थिए। उनी कामका लागि मलेसिया गएका थिए। नौ महिनाअघि कामअनुसार दाम नपाएको भन्दै घर फर्केका थिए। त्यसपछि उनी लागुऔषधको लतमा फसेको छिमेकीहरू बताउँछन्।

वडाध्यक्ष यादवका अनुसार मलेसियाबाट फर्केपछि गत फागुनमा विवाह गरेका भुला लागुऔषधको लतमा फस्दै गए। पारि गएर लागुऔषध सेवन गर्ने उनको दैनिकि नै बनेको थियो। सधैं खाएर घर फर्किने उनी त्यस दिन फर्केनन्। वडाध्यक्ष यादव भन्छन्, ‘त्यो दिन पारिलो घामसँगै असह्य गर्मी थियो। उनले नियमितभन्दा बढी डोज सेवन गरेको हुनुपर्छ। ओभरडोजका कारण दसगजामै ढलेपछि उनीसँगै पारि गएका साथीहरूले उनलाई छाडे। त्यही ठाउँमा छटपटिएर उनको मृत्यु भएको स्थानीयको भनाइ छ।’ भुलाको मृत्युले उनको परिवारको खम्बा ढलेको छ। 

आर्थिक रूपमा कमजोर यस परिवारको जीवनयापन कठिन बनेको छ। वडाध्यक्ष यादव भन्छन्, ‘उनको परिवारमा अहिले हातमुख जोर्न पनि समस्या छ।’ वडाध्यक्ष यादवका अनुसार भुलाजस्तै अहिले देहातका युवाहरूमा लागूऔषधको डरलाग्दो लतले घर बनाउँदैछ। अभिभावक (बुवा) जति रोजगारका लागि विदेशमा छन्। आमा घरधन्दामै व्यस्त हुन्छन्। छोराहरू लागुऔषधको तलतल मेट्न पारि हानिन्छन्। मधेसको दूर देहातका अधिकांश घरको कथाव्याथा यस्तै छ।

वडाध्यक्ष यादव भन्छन्, ‘कोसी प्रदेशको गाईघाट र कटारीका युवाहरूले सीमावर्ती गाउँलाई डेरा बनाएका छन्। पारि लागुऔषध सेवन गर्न जान त्यहाँका युवाहरूलाई साथी र गाउँलाई डेरा बनाउने गरिन्छ। पारि पुगेर धित मर्ने गरी सेवन गर्छन् र बोकेर पनि आउँछन्। पहिला त यताका युवाहरूमा लागुऔषधको यति सारो थिएन तर अहिले त बिगबिगी छ।  

गत शनिबार ९कात्तिक ३० मात्र इलाका प्रहरी कार्यालय, महेशवारी, सिरहाले पारिबाट लागुऔषध बोकेर फर्केका दुई जनालाई पक्राउ ग¥यो। प्रहरी छल्न सखुवानान्कारकट्टी गाउँपालिका–५ भित्री सडकबाट आइरहेका कोसी प्रदेशको त्रियुगा नगरपालिका–१३ साकेला टोल बस्ने २१ वर्षीय सन्देश राई र २२ वर्षीय सुगम राईलाई प्रहरीले पक्राउ ग¥यो। उनीहरूको शरीर तलास गर्दा लागुऔषध डाइजेपाम ६९ एम्पुल, बुप्रेनोरफिन ७६ एम्पुल, प्रोमेथाजाइन ७४ एम्पुल गरी २१९ एम्पुल लागुऔषध बरामद गरेको सिरहा प्रहरी प्रमुख ९एसपी० रमेश पण्डितले बताए।

डरलाग्दो तथ्यांक

प्रहरीका अनुसार मधेस प्रदेशमा दैनिक औसत दुई जना लागुऔषधसहित पक्राउ पर्ने गरेका छन्। प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुुसार आर्थिक वर्ष २०७७/७८ मा लागुऔषधसहित ९९९ जना व्यक्ति पक्राउ परेका थिए। आर्थिक वर्ष २०७८/७९ मा यो संख्या बढेर एक हजार २८५ पुग्यो। आर्थिक वर्ष २०७९÷८० मा भने बढेर एक हजार ३०४ व्यक्ति लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ। २०८०/८१ मा भने १ हजार १०८ व्यक्ति लागुऔषधसहित पक्राउ परेका छन्। २०८१/८२ को असोज १३ गतेसम्म भने २११ जना लागुऔषधसहित पक्राउ परेको प्रहरीको तथ्यांक छ। पक्राउ परेकाहरू प्रायः ३० वर्षमुनिका छन्। उनीहरूबाट गाँजा, चरेस, ब्राउन सुगर, अफिम, हिरोइनका साथै अरू लागुऔषध बरामद भएको छ। चालु आर्थिक वर्षको असोज १३ गतेसम्म अढाइ महिनामै प्रहरीले आठवटा जिल्लाबाट दुई हजार २२५ किलो गाँजा, १०१ किलो ३१२ ग्राम चरेस, एक हजार ३७४ मिलिग्राम हेरोइन, १५ ग्राम ब्राउन सुगर, १ लाख ४२ हजार ६५१ ट्याबलेट, एक हजार १०३ बोतल र ९ हजार ७१८ इन्जेक्सन बरामद गरेको प्रहरीको तथ्यांकमा छ। खुला सीमाका करण भारतबाट शरीरका विभिन्न भागमा लुकाएर, मोटरसाइकलको ट्यांकी तथा खाद्यान्नको बोरामा लुकाएर समेत लागुऔषध ल्याउने गरिएको प्रहरी अधिकारीहरू बताउँछन्।

लागुऔषधको लत

चिकित्सकको प्रेस्क्रिप्सनबिना बिक्री गर्न नपाइने मनोद्दीपक औषधिहरू बढी मुनाफाको लोभमा सीमापारिका औषधि बिक्रेताले गर्दा वारि दुव्र्यसनीको बिगबिगी बढ्दै गएको सीमावर्ती नगरीमा भेटिएका अजय साहले बताए। ‘सीमावर्ती क्षेत्रमा भने नेपाली प्रयोगकर्ताले भारतीय बजारबाट सजिलै यस्ता औषधि किनेर ल्याउने गर्छन्,’ उनले भने, ‘प्रहरीको आँखा छलेर सेवनकर्ताहरू दिनहुँजसो वारिपारि गर्छन्। कारोबारी सीमामा तैनाथ सुरक्षाकर्मीलाई मिलाएरै लागुऔषधको खेप लगाउँछन्, ओपन सेक्रेट यस्तै छ।’

खराब संगत, पारिवारिक किचलो र डिप्रेसन, अभिभावकको निगरानी नहुनुको फाइदा उठाउँदै कुलतमा फस्ने युवा÷किशोरको संख्या बढिरहेको सीमावर्ती बरियारपट्टीका ७५ वर्षीय बिल्टु यादव बताउँछन्। ‘छोराछोरी लागुऔषधको कुलतमा लागेको जान्दाजान्दै बेइज्जत हुने डरले कतिपय अभिभावक चुप बस्छन्,’ उनले भने, ‘पछि उसको चालचलन थेग्न नसक्ने अवस्था आएपछि प्रहरीलाई केही दिन थुनिदिन भन्दै गुहार लगाउँछन्। यतिले पनि नसुध्रे सुधार केन्द्र पु¥याउँछन्।’

अहिले गाउँघरमा युवा तथा किशोरहरू आफन्तको सम्पर्कभन्दा टाढा बस्न रुचाउँछन्। ‘एक्लै झोक्रिएर बस्ने। झर्किएर बोल्ने। यी सबै कुलतमा फसेका युवाहरूका लक्षण हुन्,’ बिल्टु भन्छन्, ‘अहिले गाउँघर लागुऔषधको दलदलमा भासिँदै गएको छ। यस्ता व्यक्तिलाई यसबाट छुटकारा दिलाउन कानुनी कारबाही मात्रले सम्भव नरहेको उनको भनाइ छ। सबैभन्दा पहिले उनीहरूको समस्या पहिचान गर्नु जरुरी छ। यसको कानुनीसँगै मनोपरामर्शात्मक उपचार पनि अवश्यक रहेको उनी बताउँछन्। अहिले कक्षा १० का किशोरहरू पनि लागुऔषधको लतमा फसेको पाइएको छ। सानै उमेरका किशोरहरू लागुऔषधको दुव्र्यसनमा फस्नुका पछाडि उनीहरूको संगत मात्रै मुख्य कारण देखिन्न, कतिपय अवस्थामा अभिभावकको कमजोरीले पनि उनीहरू लहैलहैमा दुव्र्यसनको दलदलमा फसिरहेको देखिन्छ।  

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआइजी लालमणि आचार्यले पछिल्ला वर्षमा मधेसमा लागुऔषध ओसारपसार र सेवन बढ्दै गएको बताए। ‘सामाजिक रूपमा सबैको साथ र सहयोगले मात्र कुलतमा लागेकाहरूलाई सही बाटोमा ल्याउन सकिन्छ,’ उनले भने, ‘यसका लागि स्वयं अभिभावक र समाज पनि सचेत र चनाखो बन्नु जरुरी छ।’ मधेस प्रदेश प्रहरी कार्यालयले ‘एन्टी ड्रग क्याम्पेन’ नै चलाएको छ। अहिले पर्सा, सर्लाही, सप्तरीलगायत जिल्लामा अप्रेसन नै सञ्चालन गरिएको छ। पर्सामा त काउन्टर पार्टसँगको (पारिका सुरक्षाकर्मी) सहकार्यमा लागुऔषधविरुद्ध अभियान नै सञ्चालनमा रहेको डिआइजी आचार्यले बताए। ‘गाँजा र मनोउद्दिपक पदार्थ नियन्त्रणका लागि मधेस प्रदेशको आठै जिल्लामा जनशक्ति थपेर अप्रेसन तीव्र पार्ने योजना छ,’ उनले नागरिकसँग भने, ‘लागुऔषध नियन्त्रणमा प्रहरी एक्लैले भन्दा पनि सामूहिक सहयोग आवश्यक छ। समुदाय, समाजको सहयोग लिएर लागुऔषधको प्रयोग र कारोबारलाई निमिट्यान्न पार्ने गरी अभियान चलाउँछौं।’

लागुऔषध नियन्त्रणका लागि विद्यालयहरूमा लागुऔषधविरुद्ध सचेतना कक्षासमेत सञ्चालन गरिएको डिआइजी आचार्यले बताए। ‘प्रहरीले मात्रै लागुऔषध नियन्त्रण गर्न सक्छ भन्ने भाष्यलाई सामूहिक प्रयासबाट मात्र नियन्त्रण सम्भव छ भन्ने बनाउन आवश्यक छ,’ डिआइजी आचार्य भन्छन्, ‘सरकार, समाज र घर परिवार सबै मिलेर मात्र लागुऔषध नियन्त्रण सम्भव छ। हामी यसै अभियानमा लागिपरेका छौं।’

कसिलो सञ्जाल

मधेस प्रदेशका आठवटै जिल्लाको सिमानाका सामान्य रूपमा खुला भएको अवस्थामा दैनिक यहाँबाट पारि पुगेर लागुऔषध बोकेर फर्किनेको संख्या बढी छ। लागुऔषधका कारोबारीले सञ्जाल नै स्थापना गरेर मधेस प्रदेशअन्तर्गतका सीमावर्ती जिल्लाबाट निष्फिक्री कारोबार चलाइरहेको पाइएको छ। प्रहरीले विभिन्न समयमा पक्राउ गरेका कारोबारीहरूको बयान तथा अनुसन्धानबाट यो तथ्य खुलेको हो। भारतीय सहरका विभिन्न औषधि पसलबाट भिœयाइने लागुऔषध यहाँबाट विभिन्न ठाउँमा पुग्ने गरेको छ।

भारतसँगको खुला सिमाना, सबैतिर सुरक्षादृष्टि पु¥याउन नसक्ने सुरक्षा निकायको कमजोरी तथा सीमावर्ती भारतीय बजारहरूमा हुने खुलमखुला बेचबिखनलगायत कारणले मधेस प्रदेश लागुऔषध कारोबारीको अखडा बन्दै आएको छ। सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामार्फत पहाडी जिल्ला र राजधानीलगायत धेरै सहरमा लागुऔषध ओसारपसार हुने गरेको प्रहरी स्रोतको भनाइ छ।

मधेस प्रदेशसभामा लागुऔषधको फैलिँदो सञ्जाल र यसले मधेसी समाजमा पारिरहेको प्रभावबारे सांसदहरू पटकपटक उठाउँछन्। भर्खरै सांसद जिवछी यादवले लागुऔषधले मधेसी समाज दलदलमा भासिँदै गएकोप्रति ध्यानाकर्षण गराएकी थिइन्। लागुऔषध प्रयोगकर्ता पहिलेभन्दा धेरै बढेको छ, कारोबारी पनि बढ्दै गएका छन्। यस प्रदेशका गाउँ सहर लागुऔषधको ट्रान्जिटका रूपमा बढी प्रयोग भइरहेको छ। ज्यादै ठुलो र व्यवस्थित सञ्जालमार्फत भइरहेको यस्तो कारोबार दुई–चारजना कारोबारी समातेको भरमा तोड्न कठिन रहेको सामाजिक अभियन्ताहरू बताउँछन्। लागुऔषध सहजै उपलब्ध हुने भारतीय बजार र ती सामग्री पुग्ने नेपाली बजारबीचको मुख्य ट्रान्जिट मधेस प्रदेशका सीमावर्ती सहरहरू हुँदै आएका छन्।

प्रहरीले केही समयको फरकमा लागुुऔषधसहित मानिसहरू समात्न थालेको लामो समय भइसकेको छ। तर कारोबारीहरूको सक्रियता पटक्कै घटेको छैन, झन्झन् बढ्दो छ। यो संगठित गिरोहकै कारण सम्भव भएको प्रहरी अधिकारीहरू बताउँछन्। खुला सिमानाका कारण नियन्त्रण चुनौतीपूर्ण बनेको प्रहरी अधिकारीहरूको कथन छ।

सहज बाटो, सजिलो कारोबार

पछिल्लो समय गाउँगाउँमा सडक र सवारीको पहुँच बढेको छ। गाउँघर सहरजस्तो बजारीकरण भएसँगै लागुऔषधको जालो पनि फैलँदो छ। सीमावर्ती गाउँदेखि काठमाडौं मात्रै होइन, पहाडी जिल्लाका सहरोन्मुख गाउँमा पनि लागुऔषधको प्रयोग बढिरहेको छ। तीन ‘स’ अर्थात् सुलभता, संगत र सिकोका कारण मधेसका युवापुस्ता लागुऔषधको डरलाग्दो भुमरीमा फसिरहेका छन्। लागुऔषध धन्दामा सीमापारिदेखि पहाडी जिल्ला र काठमाडौंसम्मका युवकको गिरोह सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ। 

प्रकाशित: ११ कार्तिक २०८१ ०६:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App