समाज

दीपावली र छठ पर्वका लागि घर लिपपोत गरिँदै

दीपावली र छठ पर्वअघि मधेसमा घर रङरोगन गर्ने परम्परा रहेको छ। अहिले यहाँका बस्तीका सर्वसाधारणा घरमा रङरोगन गर्ने काममा व्यस्त छन् । घर वरिपरि सरसफाइ गरेर लिपपोत गरेका घरमा लक्ष्मी प्रवेश गर्ने विश्वासले यो बेला घर  रङरोगन गन चलन बसेको गृहिणी बताउँछन्।  

“यो (दीपावली) पवनी (पर्व) सबैतिर उज्यालो छर्ने मानिन्छ, त्यसैले पवनीमा घर सिँगार्ने गरेका छौं”, बर्दिबास–२ बारनचौडीकी सङ्गीता सहनी मलाह भन्छन्, “अहिले गरेको लिपपोत र रङरोगन घर सजाउनुमात्र नभई रमाइलो पनि हो।” पर्वअघि छरछिमेकका सबै घर वरपरको सरसफाइ र रङरोगनमा लाग्दा कुनै खास उत्सवको झल्को दिने गरेको सङ्गीतासहितका मैथिल गृहिणीको भनाइ छ।  

घर लिपपोत र रङरोगन गरिँदा टोलभरिका महिलाबीच आपसी सल्लाह हुन्छ।  ग्रामीण महिला पालैपालो एकअर्काको घर लिपपोतमा सरिक हुन्छन्। यी चाडवाडका बेला कसको घर राम्रो लिपपोत र रङरोगन भयो भन्ने गृहिणीबीचको छलफल र सँगसँगै काम गर्दाको मन फुकाएर गरिने हाँसख्याल ठट्टा रमाइलो क्षणका रुपमा ग्रामीण महिला सम्झन्छन्।  

केही दशक पहिलेसम्म दशैँ, दीपावली र छठपर्वअघि घर लिपपोतका लागि विभिन्न रङका माटो लिन टाढाटाढा जाने गरेको बर्दिबास–९ पशुपतिनगरकी ५० वर्षीया शैल महतोको सम्झना अझै ताजै छ।  तर पछिल्ला केही वर्षयता नदी किनार क्षेत्र लगातार उत्खनन गरिँदा सेतो र पहेँलो माटोका भित्ता भत्केर बगेपछि अब घर लिपपोत र रङरोगनमा बजारु रङको भर पर्नुपरेको महतोको भनाइ छ। महतोजस्तै भङ्गाहा–४ रामनगरकी सुशीला सदा पनि अब नदी डिलमा पहेँलो, कमेरे र कालो माटो पाइन छाडेको बताउछन्।

दशैँअघि घर लिपपोत गर्न नभ्याएका गृहिणीले अहिले दीपावलीअघि गर्दैछन्। महोत्तरीका १५ वटै स्थानीयतहका बस्तीमा  अहिले घर सिँगारिने क्रम देखिँदो छ। घर सिँगार्न, लिपपोत गर्ने काममा पुरुष पनि ठाउँठाउँमा देखिन्छन्।तर धेरैजसो यो काम महिलाको मानिने पुरानो मानसिकताले अधिकांश घर लिपपोत र रङरोगन महिलाले नै गर्ने गरेका छन्।

घर लिपपोत र शृङ्गारको काम जताततै चलेपछि अहिले चुन (सेतो रङका लागि) र विभिन्न रङका पोकाको खरिदबिक्री निकै बढेको छ । दशैँदेखि दीपावलीसम्म घर लिपपोत र शृङ्गारको काम सकिएपछि बस्तीबस्ती उजेलिने (उज्यालो देखिने, चहकिने) गरेका छन्। दीपावलीअघि लिपपोत र रङरोगन गरिएको घर छठमा सामान्य सरसफाइ गर्दा हुने मानिन्छ।  

प्रकाशित: १० कार्तिक २०८१ १२:०५ शनिबार

#Deepawali