समाज

१४ किलो चाँदीको मूर्ति र गहनासहित २ जना प्रहरी नियन्त्रणमा

बारा प्रहरीले ठूलो परिमाणमा चाँदीका मूर्ति र  गहनासहित दुई जनालाई शुक्रबार नियन्त्रणमा लिएको छ।

दुई वटा मोटरसाइकलमा लुकाएर वीरगन्जबाट हेटौडा तर्फ लैजाँदै गरेको अवस्थामा मानिस सहित चाँदीलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा प्रसौनी गाउँपालिका ६ प्रस्टोकाका  सन्तोष साह सोनार र  जीतपुरसिमरा उपमहानगरपालिका व ८ गमरगावाका  सुरेश महतो रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

पक्राउ परेकाहरूबाट १४ किलो चाँदीको मूर्ति र तयारी गहनाहरू बरामद गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताएका छन्।

रामत गरिएको चाँदी  २५ लाख रुपैयाँ मूल्य बराबरको रहेको र कुन व्यक्तिले रहेको त्यसलाई पत्ता लगाउनको लागि थप अनुसन्धानको सुरु गरिएको सापकोटाले बताए।

सोनार सवार ना ५२ प २५८४ नम्बरको मोटरसाइकलको तेल ट्याङ्क भित्र फल्सबटम बनाएर राखिएको ९ किलो र महतो सवार ना ५५ प ३९३२ नम्बरको मोटरसाइकलको ट्याङ्की भित्रै फल्सबटम बनाएर राखिएको ५ किलोग्राम बराबरको कूल १४ किलोग्राम तौलको चाँदीका मूर्ति र अन्य तयारी गहना बरामद गरिएको सापकोटाले बताए।

वीरगन्जबाट हेटौँडातर्फ दुईवटा छुट्टाछुट्टै मोटरसाइकलमा जाँदै गरेका उनीहरूलाई  अमलेखगन्जमा इलाका प्रहरी कार्यालय अमलेखगन्जको टोलीले चेकजाँचको क्रममा नियन्त्रणमा लिएको सापकोटाले बताए।

भारतबाट ठुलो परिमाणमा चाँदीको समानहरू भित्रिएको सूचना पाएको र त्यसलाई नियन्त्रणमा लिइएको उनले बताए।

चाँदीसहित नियन्त्रणमा लिएका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए।

चाँदीको मूर्ति र गहनासहित नियन्त्रणमा लिएका दुबै जनालाई इलाका प्रहरी कार्यालय अमलेखगन्जले सार्वजनिक गर्दै।

प्रकाशित: ९ कार्तिक २०८१ १६:३९ शुक्रबार