समाज

वडाध्यक्ष अमेरिकाबाट नर्फिकए पछि वडा कार्यालयमा तालाबन्दी

खोटाङको साकेला गाउँपालिका ४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटुवाल दुईवर्षदेखि वडा नफर्केपछि वडाबासीले कार्यालयमा ताला लगाएका छन्। चुनाव जितेको केही समयपछि नै वैदेशिक रोजगारीका लागि अमेरिका गएका वडाध्यक्ष कट्वाल वडा नफर्केपछि जनताले कार्यालयमा  ताला लगाएका हुन्।

वडाध्यक्ष कट्वाल २०८० माघ १७ गतेदेखि वडामा अनुपस्थित छन्। अमेरिका भासिएका कट्वाल नफर्कदा दैनिकरुपमा गर्नुपर्ने कार्य सम्पादनसँगै विकास निर्माण, प्रशासनिक कारबाही र सेवाग्राहीको काम रोकिएर दुःख पाएको भन्दै सेवाग्राहीले ताला लगाएका हुन्।

वडाबासी नागरिकले सर्वदलीय सर्वपक्षीय बैठक निर्णय गरेरै तालावन्दी गरेको पूर्व वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए। वडा छाडेको ९ महिना बित्दासम्म पनि नफर्केपछि बुधबार पूर्व वडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठित वडाका राजनीतिक दलहरुको सर्वपक्षीय भेला भएको थियो। साउन १ गतेको भेलाले वडाध्यक्षलाई यथासिघ्र वडा फर्कन आग्रह गर्दै केही समय पर्खने निर्णय गरेको थियो।

तर, ३ महिना बढी समय पर्खदासम्म वडाबासीको आग्रहलाई बेवास्ता गर्दै अहिलेसम्म कट्वाल नफर्केपछि बुधबार बसेको सर्वदलीय बैठकले ताला लगाउने निर्णय गरेको हो। वडाध्यक्ष अनुपस्थितिको दीर्घकालीन समाधान नभएसम्म अनिश्चितकालीन तालाबन्दी गर्ने निर्णय गर्दै ताला लगाइएको भट्टराईले बताए।

‘साउन १ गतेको सर्वपक्षीय भेलाले १५ दिनभित्र वडाध्यक्षलाई फर्केर जनताको कामकाज सुचारु गर्न आग्रह गरेको थियो’ संयोजक भट्टराईले भने ‘तर, ३ महिना १ साता बित्न लाग्दासम्म उहाँ फर्कनु भएन। जननिर्वाचित वडाध्यक्षजस्तो जिम्मेबार व्यक्तिले मतदाताको आग्रह लत्याएका कारण बाध्य भएर तालाबन्दी गर्नु परेको हो।’ संयोजक भट्टराईले वडाध्यक्षको खाली सिटमा उपनिर्वाचन गर्नुपर्ने माग वडाबासीले गरेको बताएका छन्।

वडाध्यक्ष नफर्केको विषयमा यसअघि नै निर्वाचन आयोग, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिलाई जानकारी गराउँदै निकास दिन आग्रह गरिएको थियो। तर, त्यसबारे कुनै जवाफी कारबाही नभएको गुनासो पनि वडाबासीले गरेको भट्टराईले बताए। कट्वाल नेकपा (माओबादी केन्द्र)बाट वडाध्यक्ष निर्वाचित भए पनि माओवादीकै नेता कार्यकर्ता पनि उनी नफर्केका कारण तालाबन्दी गर्ने कार्यक्रममा सहभागी भएको भट्टराईले बताए।

सर्वदलीय बैठकदेखि ताला लगाउने कार्यक्रमसम्ममा माओवादी, नेपाली काँग्रेस, नेकपा (एमाले), जनता समाजवादी नेपाल, नेकपा (एकीकृत समाजवादी) सहभागी भएका छन्। ताला लगाउनुअघि उनीहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै वडाध्यक्ष कट्वालले गैरजिम्मेबार काम गरेकोमा विरोध जनाएका छन्।

अमेरिका जानुअघि ज्येष्ठ वडा सदस्य भीमबहादुर खड्कालाई कार्यवाहक वडाध्यक्षको जिम्मेबारी दिएका थिए। २०८० माघ १९ गतेको पत्रानुसार उनले खड्कालाई कार्यबाहक वडाध्यक्ष तोक्दा अवधि उल्लेख गरेका छैन। अवधि नतोकिएका कार्यवाहक अध्यक्षले सिफारिस गरेको पत्र मान्य नहुने भन्दै नेपाली नागरिक्ता बनाउन जिल्ला प्रशासन पुग्ष्ने वडाबासीलाई फर्काउने गरेको गुनासो उनीहरुको छ।

अवधि नतोकिएको भन्दै प्रशासनले पटकपटक सेवाग्राहीलाई फर्काईदिएपछि वडाध्यक्ष कट्वालले सदस्य खड्कालाई ०८१ वैशाख २६ गतेदेखि साउन ३० सम्मको अवधि तोकेर पुनः कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएका थिए। सो अवधि सकिएपछि भने खड्काले कार्यबाहकको जिम्मेवारी लिन अस्वीकार गर्दै गाउँपालिका पुगेका थिए।

तर, सेवाग्राहीलाई मार्का पर्ने भन्दै गाउँकार्यपालिका बैठकले खड्कालाई भदौ २० गतेसम्म कार्यवाहक वडाध्यक्ष हुन सिफारिस गर्ने निर्णय गरेको थियो। २०८१ साउन १७ गते बसेको कार्यपालिका बैठकले साउन १८ गतेदेखि ३२ गतेसम्म कार्यावधि तोक्दै जिम्मेबारी दिएको गाउँपालिकाले २०८१ भदौ ४ गते बसेको अर्को कार्यपालिका बैठकले भदौ २० गतेसम्म कार्यबाहक वडाध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको थियो।

सो म्याद पनि सकिएपछि पुनः २०८१ भदौ २३ गतेको कार्यपालिका बैठकले सोही दिनदेखि लागू हुनेगरी खड्कालाई १ महिना कार्यवाहक वडाध्यक्ष भएर काम गर्ने गरी म्याद थपेको थियो। सो म्याद पनि सकिएको र खड्काले पनि कार्यवाहकको जिम्मेबारी लिन आनाकानी गर्न थालेपछि वडाबासीको सेवा प्रवाह रोकिने भन्दै संयोजक भट्टराई नेतृत्वको समितिको बैठक बसी वडा कार्यालयमा ताला लगाउने काम भएको हो।

०७९ वैशाख २० गतेको चुनावमा वडाध्यक्ष विजयी भएलगत्तै कट्वाल अमेरिका छिरेर अढाई महिना बिताएका थिए। त्यसबेला उनले ४ जनै वडा सदस्यलाई पालैपालो १५÷१५ दिन कार्यबाहक वडाध्यक्षको जिम्मेवारी दिएका थिए। साउन पहिलो साता वडा फर्कन मतदाताले अनुरोध गरेपछि दसैँमा आउने अपेक्षा गरिएकोमा नफर्केपछि उनी आउने संभावना लगभग सकिएको स्थानीयहरु बताउँछन्। उनी निकट आफन्तहरुका अनुसार कट्वाल अमेरिकामै स्थायी बसोबास गर्नेगरी पिआर (स्थायी आवास) व्यवस्थापनको प्रक्रियामा रहेका छन्।

सर्वदलीय भेलाले वडामा ताला लगापछि सो समूह गाउँपालिका पुगेर त्यसको जानकारी दिदै प्रेस विज्ञप्ती प्रकाशन गरी आधिकारिक जानकारी गराएको छ। वडाबाट सोझै गाउँपालिका पुगेको टोलीले निमित्त प्रमुख प्रशासकीय अधिकृत शर्मिला राईलाई विज्ञप्ती बुझाउँदै ताला लगाएको आधिकारिक जानकारी दिएको जानकारी गराएको थियो।

प्रकाशित: ८ कार्तिक २०८१ ०९:२६ बिहीबार

#साकेला गाउँपालिका